×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र ऐन संशोधन, इन्साइडर ट्रेडिङको मुद्दा अब प्रहरीले हेर्ने !

PRIME CA

धितोपत्र ऐन संशोधन, इन्साइडर ट्रेडिङको मुद्दा अब प्रहरीले हेर्ने !

अर्थ सरोकार

३ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सेयर बजारमा हुने ‘इन्साइडर ट्रेडिङ’को अनुसन्धान अब प्रहरीले गर्ने भएको छ । सरकारले धितोपत्र ऐन २०६३ मा संशोधन गरेसँगै ‘इन्साइडर ट्रेडिङ’मा प्रारम्भिक बाहेकको अनुसन्धान प्रहरीले गर्ने भएको हो । धितोपत्र ऐनसहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको विधेयक दुवै संसदले पारित गरेर राष्ट्रपतिबाटसमेत प्रमाणिकरण भइसकेको छ । योसँगै संशोधनसहितको ऐन लागू भएको हो ।

सरकारले संशोधन गरेको ‘धितोपत्र ऐन २०६३’ मा उक्त ऐन बमोजिमको सम्पूर्ण मुद्दाको अनुसन्धान ‘अनुसन्धान अधिकारी’ले गर्ने भन्ने उल्लेख गरिएको छ । यहाँ अनुसन्धान अधिकारी भन्नाले प्रहरीलाई बुझाउँछ ।

यसअघि धितोपत्र ऐन २०६३ बमोजिमको मुद्दा तथा ‘इन्साइडर ट्रेडिङ’को विषयमा धितोपत्र बोर्डकै अधिकारीले अनुसन्धान गर्दै आएका थिए ।

तर, अब भने ‘इन्साइडर ट्रेडिङ’, झुट्टा कारोबार, मूल्यमा उतारचढाव गराउने कारोबार, धितोपत्र बजारलाई प्रभावित गर्ने कारोबार, झुक्याउने कारोबार, जालसाजीयुक्त कारोबार र धितोपत्र ऐन विपरित कारोबारमा प्रहरीले अनुसन्धान गर्नेछ ।

यद्यपि, यस्ता मुद्दाको प्रारम्भिक अनुसन्धान, कसूरसँग सम्बन्धित व्यक्ति वा संस्थासँग सोधपुछ, आवश्यक कागज, विवरण तथा अभिलेख माग गर्ने काम भने बोर्डले नै गर्नेछ । यसरी प्रारम्भिक अनुसन्धान गर्दा प्राप्त कागजात र प्रमाणसहितको मिसिल बोर्डले ३० दिनभित्र प्रहरी प्रधान कार्यालयमा बुझाउनुपर्नेछ । त्यसपछि प्रहरीले गर्ने अनुसन्धान र प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: