×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनको बोल्ड विद्रोहले तातियो राजनीति, मन्त्री नै हेरेको हेर्यै ! (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL

बालेनको बोल्ड विद्रोहले तातियो राजनीति, मन्त्री नै हेरेको हेर्यै ! (भिडियो ब्रिफिङ)

१४ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । आन्दोलन गर्न कांग्रेसले गरेजस्तै संसद् अवरुद्ध र सडक तताउने काम नै गर्नुपर्छ भन्ने होइन । न त आन्दोलन गर्नु भनेको भाडामा सुकुम्बासीहरुलाई उठाएर, नारा घोकाएर चिच्याउन लगाउनुमात्रै हो । आन्दोलन वा विद्रोह रचनात्मक हुनुपर्छ । बल्ल, विद्रोहीले पनि मान राख्छ । काठमाडौँ महानगरका मेयर बालेन शाह यसै पनि विद्रोही स्वभावका छन् । उनलाई काम नगरेको मन पर्दैन । जनता झुलाएको त झनै मन पर्दैन । र त वर्षौँसम्म जनता झुलाउनेहरुलाई उनले रचनात्मक विद्रोह गरेर सबक सिकाएका छन् ।       

आफू चिल्ला गाडीमा हिड्ने तर जनता हिड्ने सडक नबनाएको भन्दै बालेनको निर्देशनमा काठमाडौं महानगरपालिकाले सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेपछि यतिबेला गर्मीको मौसम झन् राफिलो भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत ती दुई कार्यालयको गेट अगाडि एक ट्रक फोहोरसहितको धुलो फालेको भिडिओ सार्वजनिक गरेपछि सो प्रकरण यतिसम्म तातियो कि, सडक विभागमा काम गर्ने कर्मचारीहरु हतार हतार गरेर बिदाकै दिन भए पनि अफिस पुगे र विज्ञप्ति निकाले । यति अग्रसरता सडक बनाउन गरेको भए सडक उहिल्यै बनिसक्थ्यो ।  

यसो त चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नाममा जनताले धुलो र कष्ट ब्यहोर्नुपरेको थियो । तर कसको काम के हो भन्ने नबुझेका जनताले काठमाडौँ महानगरलाई यस विषयमा दोष दिइरहेका थिए । यतिमात्र होइन, सोही रिङरोड बनाउने नाममा काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा सोही कामको देन भइरहेको थियो । विभागले काम समयमा र गर्नुपर्ने जसरी नगर्दा सो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको गुनासो पनि महानगरमा परिरहेको थियो । यसरी अफिस जान ढिलो भयो, धुलो खानुपर्यो, भन्दै आफूले गर्दै नगरेको गल्तीमा काठमाडौँ महानगरले गाली खानुपरेपछि बालेनले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाइदिए । 

सडक विभागको गेट अगाडि एक ट्रक धुलो थुपारेपछि मेयर शाहले लेखेका छन्– ‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौँमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुवाँ खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला पुग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु माया सम्झेर, स्विकार्नु होला ।’

यसो भन्दै मेयर बालेनले मन्त्री महासेठलाई सामाजिक सञ्जालमै प्रेमपत्र लेखेपछि बल्ल महासेठका आँखा खुलेको हो कि भन्ने भान जनताले पनि गरेका छन् । हुन पनि पटकपटक समन्वय गर्दापनि चक्रपथ विस्तार आयोजनाको काम सम्पन्न नभएपछि महानगरले यस्तो कदम चालेको हो ।  

यता सडक डिभिजन कार्यालय काठमाडौँले भने महानगरपालिकाका प्रमुख बालेन शाहले गरेको उक्त कामलाई कानूनी राज्यको उपहास हुने गरी महानगरपालिकाले गरेको बलमिच्याइँ र अराजक व्यवहार भनेको छ । यतिसम्म कि सडक डिभिजन कार्यालयले न्युरोडको विवादलाई मेयर शाहले रिङरोडसँग जोडेर मनपरी गरेको भनेको छ । सडक डिभिजन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार जेठ १२ शनिबार करिब १२ बजे महानगरपालिकाले न्युरोड क्षेत्रमा सडक डिभिजन कार्यालय काठमाडौँको जिम्मामा रहेको सडक काटिरहेको थियो । सडकको स्ट्यान्डर्ड चौडाइ घटाएर बिना अनुमति सडक साँघुरो बनाउने नहुने भन्दै कार्यालयले महानगरको उक्त काम रोकेको थियो । तर, सो विषयलाई विषयान्तर गरी महानगरपालिकाले डिभिजनसँग सरोकार नै नभएको विषयलाई कारण बनाई गेटमा फोहोर थुपारेको बताएको थियो ।

तर, जसले जति विज्ञप्तिबाजी गरेर जे भने पनि कुरा स्पष्ट छ, मेयर शाहले डिभिजन कार्यालयलाई टार्गेट बनाएका थिएनन् । बरु उनले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई उक्त धुलो उपहार पठाएका थिए । सडक डिभिजन कार्यालय पनि भौतिक पूर्वाधार मन्त्रालय मातहतकै हो । अझ मेयर साहले स्टाटसमा मन्त्रीज्यूलाई पायक पर्ने ठाउँमा उपहार पठाउने भनेका थिए । सडककै विषयमा, सडक विभाग भन्दा उपयुक्त उपहार पठाउने अर्को ठाउँ चाहिँ कहाँ होला र ?

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा ? भनेजस्तै एउटा असल मेयरका कारण कति फरक पर्दछ भन्ने प्रश्नको सिधा जवाफ हुन् काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) । चाहे चुनावका लागि उम्मेदवारी दिँदै गर्दा होस्, चाहे चुनाव जितेको अढाई वर्ष बित्दै गर्दा होस्, मेयर शाहको क्रेज घटेको छैन, बरु दिन दुईगुणा, रात चौगुना भइरहेको छ । देशलाई लुटिखाने भाँडो बनाउनेहरुकाविरुद्ध बालेनले बेलाबेलामा हान्ने झटारोले उनको क्रेज झनै बढाएको छ । नयाँ हौँ भन्ने दलहरु पुराना दलको टाङ मुनि छिरेको चर्चा चलिरहेका बेला बालेनको क्रेजले देशभर माहोल बनाईरहेको छ ।  

चर्चा उही बालेनको र धुलोको भएपछि आइतबार पत्रकारले संसद् भवनमा भेटिएका मन्त्री महासेठलाई सोधिहाले, ’बालेनले त धुलो पठाए नि, के भन्नुहुन्छ ?’ विचरा महासेठ के बोलुन ? बोल्ने कुरा भए पो बोल्नु ? र त महासेठले काठमाडौँ महानगरका मेयर बालेन शाहले चालेको कदमप्रति आफ्नो कुनै गुनासो नभएको प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री महासेठले मेयर शाहले उठाएको कलंकी–महाराजगञ्ज सडक विस्तारको विषयलाई सल्लाहका रुपमा ग्रहण गरेको पनि बताएका छन् ।

मेयर शाहले जे गरे, त्यसलाई मुठीभरका मान्छेले अराजक देखेपनि धेरैले यो कामलाई गज्जब भनेका छन् ।बालेनको यो शैलीलाई गज्जब भन्नेहरुले वर्षौंसम्म शक्तिमा बसेर केही गर्न नसक्नेहरुका लागि मेयर शाहले जे गरे ठिक गरे भनेर ताली पिटिरहेका छन् । अझ, विकासका नाममा लुटतन्त्र मच्चाउनेहरुलाई, काम गर्दैछौँ, हुँदैछ भन्ने रटान लगाउने, आफू सुकिलामुलिका भएर चिल्ला गाडीमा हिँड्ने अनि सास्ती जनतालाई भोगाउनेहरुलाई धुलो उपहार दिने मात्र होइन, बाइकमा बसालेर नारायणगढदेखि बुटवलसम्म पुर्याउनुपर्ने हो । अझ रमाइलो कुरा, मेयर शाहले मन्त्रीज्युलाई एक ट्रक धुलो उपहार पठाएर सामाजिक सञ्जालबाटै सम्बोधन गरेपछि सडक डिभिजनका कर्मचारी शनिबार पनि दौडेर, अफिस पुगेर विज्ञप्ति निकाले । यस्तै द्रुत गतिमा बाटोको काम भएको भए सारा जनताले सास्ती भोग्नु पर्ने थिएन । त्यसैले बिदाको दिन भए पनि अफिस पुगेर विज्ञप्ति निकाल्न सडक विभागले हतार गरेजस्तै काम गर्न पनि हतार गर्ने हो भने, न जनताले गाली गर्नेछन्, न त बालेन दाइले धुलो उपहार नै पठाउनेछन् ।

जे होस्, बालेन दाइको फोहोर उपहारले एउटा कुरा भने जरुर सिकाएको छ । प्लेकार्ड, पर्चा र पम्प्लेट लिएर सडकमा नाराबाजी गर्नुभन्दा परिवर्तनका लागि रचनात्मक आन्दोलन गर्नुपर्छ, आन्दोलनको स्वरुप बदल्नुपर्छ । बालेनको यो विरोध पनि परिवर्तित आन्दोलनकै नयाँ स्वरुप हो । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी