काठमाडौँ । कुनै बेला ग्यालेक्सी फोके टेलिभिजन नामको टिभी यसरी बजारमा आयो कि, टेलिभिजनबारे अलिअलि जानेका देखि टिभीका सानातिना विज्ञ भइसकेकाहरू नै तीन छक परेका थिए । को बन्छ करोडपति जस्ता चर्चित कार्यक्रमदेखि रवि लामिछानेको सिधा कुरासम्म एउटै टेलिभिजनमा । बजारमा टिभीमा काम गर्ने राम्रा मानिएका मान्छेहरू सबै ग्यालेक्सीतिरै जागिर खान गएपछि अन्य टिभीमा काम गर्ने मान्छे नै पाउन छोडिएको थियो । विज्ञापन एजेन्सीहरू भन्थे -‘अवको १० बर्ष यस्तो टिभी नै बजारमा आउन सक्दैन । ग्यालेक्सी टिभीले देश खान्छ ।’ तर टिभीले देश खाने होइन, टिभीले बैंकको पैसा खायो भनेर अहिले अदालतमा मुद्धा परेको छ ।
खुलेको केही समयभित्रै टिभी यसरी बन्द भयो कि, यस्तो दु:खद् अन्त्य त कुनै संस्थाको पनि नहोस् भन्छन् मिडियाकर्मी । महिनौँसम्म तलब नपाएपछि टिभीमा कार्यरत कर्मचारीहरूको बिजोग मात्र भएन, साहु जीबी राई फरार भएपछि र अर्का सञ्चालक कुमार रम्तेल जेल परेपछि त झन् टिभी बन्द नै भयो । जेनतेन लाइसेन्स जोगाउन गीत मात्र बजाएर बसेको टिभीले लामो समय विद्युत महसुल नतिरेपछि विद्युत प्राधिकरणले बिजुलीको लाइनसमेत काटिदिएको छ । र अहिले, टिभी बन्द छ ।
टिभी बन्द भए पनि ग्यालेक्सी फोकेको नाम यत्र, तत्र, सर्वत्र सुनिन्छ । कारण, सहकारी ठग जीबी राईले सहकारीका बचतकर्ताको करोडौँ रुपियाँ त्यहि टिभीमा खन्याएको तथ्य घामजस्तै छर्लंग देखिन्छ । महिनौँसम्मको तलब नपाएका पत्रकार र कर्मचारीले त झन् टिभीको नाम लिने मात्र होइन, सपनामा पनि टिभीकै स्टुडियो देखिरहेको बताईरहेका छन् । संसद्मा ग्यालेक्सी फोके, सडकमा ग्यालेक्सी फोके, ग्यालेक्सीबाट अन्य मिडियामा थुप्रै गएकाले त्यहाँपनि कुरामा कुरा चल्दा त्यही ग्यालेक्सी फोके । चिया पसलदेखि विज्ञापन एजेन्सीहरुसम्म, पत्रकार महासंघ देखि अन्य टिभीका स्टुडियोहरू सम्म । सबैतिर ग्यालेक्सी फोकेकै चर्चा छ यतिबेला । कुनैबेला ठुलै तामझामसँग आएको ग्यालेक्सीले कसकसको पैसा तिर्न बाँकी छ भन्ने हिसाब, सायद ग्यालेक्सीले नै हेर्दा पनि अव २ दिनमा सकिन्न । कर्मचारीलाई पैसा तिर्न नै बाँकी छ, विद्युत महसुल तिर्न पूरै बाँकी छ ।
ग्यालेक्सीका साहु जीबी राईले हामीलाई ठगे भनेर यतिबेला सहकारी पीडित सडकमा छन् । ग्यालेक्सीले पैसा दिएन भनेर पूर्व कर्मचारीहरू तनावमा छन् । ग्यालेक्सी टिभीका नाममा नेताले सहकारीको पैसा ठगे भनेर काँग्रेस सदनमा चिच्याईरहेको छ । यतिसम्म त सुनिएकै थियो, ग्यालेक्सी टिभीले आफ्नो पैसा खाइदिएको भन्दै यतिबेला हिमालयन बैंक अदालत पुगेको छ ।
हिमालयन बैंक र ग्यालेक्सी फोके टिभी बीचको लफडा के हो ?
ग्यालेक्सी टिभीमा आउने भनिएका गज्जबका कार्यक्रममध्येको एक थियो को बन्छ करोडपति । र यो कार्यक्रमको मुख्य प्रायोजक थियो तत्कालीन सिभिल बैंक । अहिले त्यही सिभिल बैंक हिमालयन बैंक बनेको छ । सिभिल बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङलाई को बन्छ करोडपतिमा खेलाउने सर्तमा अघिल्लो संस्करणसमेत बैंकबाट करोड बढी रुपैयाँ लिएको को बन्छ करोडपति कार्यक्रमले ग्यालेक्सी फोके टिभीमा आउने भनेर समेत तत्कालीन सिभिल अर्थात हाल हिमालयन बैंकसँग मर्जरमा गएको सिभिल बैंकसँग करोड बढी रकमको सम्झौता गरेको थियो । टिभीले सम्झौता मात्र गरेको थिएन, पेस्की भनेर लाखौँ रुपैयाँ सुरुमै लिइसकेको थियो । टिभीमा पैसा गयो, तर कार्यक्रम प्रसारण नै भएन । उल्टै टिभी नै बन्द भयो । त्यसपछि आफूले पेस्कीबापत दिएको रकम फसेको भन्दै हिमालयन बैंक ग्यालेक्सी फोके टिभी सञ्चालक कम्पनी गोरखा मिडियाविरुद्धको अदालत गएको हो ।
हाल हिमालयन बैंकमा मर्ज भएको सिभिल बैंक र ग्यालेक्सी फोके टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडिया प्रालि बीच २०७८ साल माघ २८ गते को बन्छ करोडपति कार्यक्रमको मुख्य प्रायोजक सिभिल बैंक रहने र त्यसबापत बैंकले एक करोड २४ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्ने सम्झौता भएको, ५२ अङ्कमा प्रसारण हुने कार्यक्रमका लागि सुरुमै बैंकले आधा रकम भुक्तानी गर्ने, १२ भाग प्रसारण भएपछि थप २५ प्रतिशत रकम पाउने र ४४ भाग प्रसारण हुने बेलामा सबै रकम भुक्तानी गर्ने सम्झौता भएको, सोही अनुसार बैंकले सुरुमै ६२ लाख १५ हजार रुपैयाँ भुक्तानी दिएको, भुक्तानी पाइसकेपछि वैशाख २०७९ देखि कार्यक्रम शुरु गर्ने भद्र सहमति समेत भएको तर हालसम्म पनि कार्यक्रम प्रसारण नभएकाले सो रकम फिर्ता पाउँ भनी बैंकले टिभीविरुद्ध मुद्दा दायर गरेको हो ।
यसो त सो कार्यक्रममा प्रायोजन गर्न त्यति रकम दिने कुरामा तत्कालीन सञ्चालक समितिमै मतभेदसमेत थियो । तर बैंकका तत्कालीन सिइओ र सिभिल बैंकका तत्कालीन कर्पोरेट कम्युनिकेसनका प्रमुख बिजय कसजुको जोडबलमा बैंक कन्भिन्स भएको थियो र सो सम्झौता भएको थियो । तर, न कार्यक्रम बज्यो, न पैसा फिर्ता भयो । सहकारीका बचतकर्ताको करोडौँ फसेजस्तै बैंकको करोड रुपैयाँभन्दा बढी रकम टिभीमा फस्यो ।
भनेको समयमा भनेको तरिकाले कार्यक्रम उत्पादन नै नभएपछि बैंकले यस अघि नै रकम फिर्ता मागेको थियो । तर बैंकले अहिले सो कार्यक्रम उत्पादन गर्न सकिएन बरु यो रकम विज्ञापन बजाएर सल्टाउन आग्रह गरेको थियो । तर ब्रान्डेड टिभीमा प्रायोजन गर्ने भनेर दिएको रकम भर्खर खुलेको टिभीमा लुज एड अर्थात सामान्य विज्ञापन बजाएर पैसाको हिसाब मिलाउने कुरा बैंकले नमानेको जिकिरसमेत बैंकले अदालतमा बुझाएको फिरादपत्रमा उल्लेख छ ।
क्षतिपूर्तिको समेत दाबी
बैंकले ग्यालेक्सी टिभीसँग पैसामात्र फिर्ता मागेको छैन, बरु, कार्यक्रम प्रसारण गर्न नपाएकाले बैंकको ब्राण्डमा पुगेको धक्का र बजार प्रवर्द्धनमा नोक्सानी हुन गएको क्षतिपूर्ति समेत माग गरेको छ । हुन पनि, सबै पैसा त्यही टिभीका लागि छुट्याएपछि त्यतिबेला पनि बैंकले अन्य ठाउँमा गर्ने बजार प्रवर्द्धनका कामको बजेटमा भारी कटौती गरेको थियो ।
बैंकको पैसा भनेको सेयरधनीको सम्पत्ति हो । त्यसैले जे कामका लागि भनेर रकम लिएको / दिएको हो, सो काम नभएपछि रकम फिर्ता हुनुपर्ने कुरामा शंका छैन । तर टिभीका सञ्चालक नै फरार भएको अवस्थामा कसरी बैंकले पैसा फिर्ता पाउला, वा यस विषयमा अदालतको कस्तो फैसला आउला भन्ने विषय भने चौतर्फी चासोको विषय बनेको छ । एक त सहकारी पीडितको रकम फिर्ता दिनुपर्नेछ, कर्मचारीको तलब दिन पूरै बाँकी छ । त्यसमाथि यस्ता हिसाबकिताबले ग्यालेक्सीको दायित्व थप बढेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्