Skip to content
LAXMI SUNRISE BANK

गण्डकी जलविद्युत केन्द्रको विद्युत उत्पादन दुई महिनादेखि बन्द, दैनिक आठ लाख घाटा

अर्थ सरोकार

काठमाडौं। पश्चिम नवलपरासीमा रहेको गण्डकी जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।

प्रतापपुर गाउँपालिका-७ गुठी सूर्यपुरास्थित जलविद्युत केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत केन्द्रका प्रमुख पीताम्बर भुसालले बताएका छन् । जलविद्युत केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत उत्पादन रोकिएको उनले बताएका छन् । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनले बताए ।

नेपाल-भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो । त्यसैले विद्युत उत्पादन बन्द रहेको प्रमुख भुसालले बताए । यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उनले जानकारी दिए । हरेक वर्ष भारतीय पक्षले कात्तिक-मङ्सिर र चैत-वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गर्छ ।

पन्ध्र मेगावाट विद्युत उत्पदान क्षमता भएको उक्त जलविद्युत केन्द्र अहिले पाँचदेखि साढे पाँच मेगावाटसम्म विद्युत उत्पादन गरिरहेको छ । तर विद्युत उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि आठ लाखसम्म घाटा रहेको जलविद्युत केन्द्रका प्रमुख भुसालले बताए । तीन वटा टर्वाइन भएको जलविद्युत केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत उत्पादन गरिरहेको छ भने एउटा टर्वाइन बिग्रेर थन्केको छ ।

यसैगरी गण्डक जलविद्युत केन्द्रमा रहेका उपकरणलाई परिर्वतन गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK