×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक लुट्न जाँदा सुबेदीले मारेका सुरक्षा गार्ड आफ्नै ससुरा परेपछि… (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल बैंक लुट्न जाँदा सुबेदीले मारेका सुरक्षा गार्ड आफ्नै ससुरा परेपछि… (भिडियो)

Artha Sarokar

३ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । जागिर छोडेपछि घरमा कमाउने मेलो भएन । हिजो केही हजार, आज लाख हुँदै घरको ऋण २५ लाख पुग्यो । ऋणको ब्याजले एकातर्फ पिरोलिरहेको थियो, अर्कोतिर कमाइको कुनै मेसो थिएन । त्यसपछि ३२ वर्षका चन्द्रबहादुर सुवेदीले बैंक लुट्ने योजना बनाए । सप्तरीमा रहेको नेपाल बैंक लुट्ने योजना बनाएर उनले केही दिन बैंकको रेकी गरे । बैंकबाट कसरी भित्र प्रवेश गर्ने, कहाँको ताला फोड्ने र कसरी रकम लुट्ने योजना बनाए । तर उनको योजना सफल हुन सकेन । पूर्ववत् योजना अनुसारै झ्यालको भेण्टिलेसनबाट छिरेर बैंकको ढोकामा रहेको एउटा ताला तोडे पनि अर्को ताला तोड्न नसकेका सुबेदीले त्यसपछि सुरक्षा गार्डको कोठामा गएर चाबी थुत्न खोजे । यो बीचमा सुरक्षा गार्ड पर्शुराम फुयाँल र उनीबीच घम्साघम्सी भयो । घम्साघम्सीका बीच सुबेदीले फुयाँललाई खुकुरी प्रहार गरी मारिदिए । मान्छे मारेर भागेका उनीलाई पछि मात्र थाहा भयो, जसलाई उनले घम्साघम्सीमा मारेका थिए, उनी त आफ्नै ससुरा पो रहेछन् । मृतक फुयाँलकी छोरीसँग पक्राउ परेका सुवेदीका काकाको छोराले बिहे गरेका थिए । यसरी नाता ज्वाई ससुराको देखियो ।   

सुबेदीले प्रहरीसँगको बयानका क्रममा बैंकमा रहेका सुरक्षा गार्ड आफ्ना ससुरा भनी नचिनेको, बरु पछि मात्र थाहा भएको भनेका छन् । पछि ससुराको मृत्यु भएको भन्ने खबर सुनेपछि पो बल्ल, आफूले जसलाई मारेर भागेको हो, उनी आफ्नै ससुरा रहेछन् भन्ने थाहा भएको दाबी सुबेदीको छ ।       

आफ्नै ससुरा मारेर भागेका सुबेदीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि उनले आफूले मान्छे मारेर सामानचाहिँ घरमै छोडेको बताएपछि प्रहरी उनको घर खानतलासी गर्न गएको थियो । तर खानतलासी गर्न उनको घर पुग्दा उनको घरमा सुबेदीका बुबाले कसैले आफ्ना सम्धीलाई मारिदिएछन्, उनको लास हेरेर आएँ भन्दा पो बल्ल थाहा भयो, मारिने ससुरा रहेछन्, मार्ने ज्वाई रहेछन् । सुबेदीका बाबुले पनि प्रहरी आफ्नो घरमा खानतलासी गर्न आएपछि बल्ल थाहा पाए कि आफ्ना सम्धीलाई मार्ने त आफ्नै छोरा पो रहेछन् ।

आफ्ना बाबुलाई कसैले मारिदिएको खबर सुनेर स्तब्ध बनेकी सुबेदीकी श्रीमती त्यति बेला मुर्छा परिन्, जव उनले आफ्ना श्रीमानले नै नाताभित्रको मान्छे मारेको थाहा पाइन् । कस्तो संयोग, छोराछोरीलाई पाल्न पैसा भएन, ऋण तिर्न सकिएन भनेर जसले बैंक लुट्ने प्रयास गरे, उनैकी श्रीमतीले आफ्ना देउरानीका बाबु आफ्नै श्रीमानबाट मारिएको थाहा पाउनुपर्यो । 

बैंक लुट्न जाँदा ज्वाइले मारेका व्यक्ति ससुरा परेको खबर सार्वजनिक भएपछि यतिबेला पूरापूर गाउँ स्तब्ध छ, शोकाकुल छ । प्रहरीले सुबेदीलाई पक्राउ गरेर हिरासतमा राखेको छ । स्थानीयहरु आफ्नै ससुरालाई मारेकोमा सुबेदी प्रति आक्रोशित छन् । सुबेदीका काकाका छोरा अर्थात भाइको ससुराली पनि गरिब परिवार न थियो । नातीनातीना हुँदा पनि केही हजार रुपैयाँका लागि उनका ससुरा बैंकमा सेक्युरिटी गार्डको काम गर्थे । त्यहि पैसाले घर चलाउँथे । तर आखिर नसोचेको भयो, आफ्नै नातीनातिनालाई पाल्न, खुवाउन, पढाउन ऋण लागेपछि बैंक लुट्ने योजना बनाएर बैंक छिरेका सुबेदीकै हातबाट उनको ज्यान गयो । धेरैलाई यो घटना सपनाजस्तै लागेको छ । तर आखिर निर्मम सत्य यही सावित भयो । ससुराले बैंक लुटिन बाट जोगाउन खोजे । ज्वाईले बैंक लुट्न साँचो नदिएको रिसमा ससुरालाई नै मारिदिए । बिचरा, बिचल्ली हुने भयो सुबेदीकी श्रीमतीको, जसका श्रीमान् अव आफ्नै ससुरा नाता पर्ने फुयाँललाई मारेको अभियोगमा जेल जानेछन् । सुबेदीकी बुहारीको माइतीघरमा बाबु बितेको पीडा त छँदै छ, आफ्नै श्रीमानका दाइले आफ्ना बाबु मारेको तथ्यले माइतीले हेर्ने नजर पनि त्यति राम्रो भएन । बच्चा केटाकेटीका लागि न घर आफ्नो हुने भयो, न मामाघर सोचेजस्तो आफ्नो । मार्ने त जेल गए, गइहाले, भवितव्य नै भए पनि मर्ने मरिहाले । बाँच्नेहरुको बिजोग भयो, अझ कति बिजोग हुने हो थाहा छैन ।                   

मार्ने ज्वाई पहिला सशस्त्र प्रहरीका जवान थिए । पछि उनले जागिर छोडे । मारिने ससुरा  अवकासप्राप्त सैनिक हुन् । केहि समयअघि मात्र घरपरिवार राम्रो छ भनेर उनले आफ्नी छोरी ज्यान मार्ने सुबेदीका भाइलाई सुम्पेका थिए । कठै उनलाई के थाहा, जुन घरमा आफ्नी प्रमाणसमान छोरी दिएको थिएँ, त्यही घरका सदस्यले आफ्नो ज्यान लिन लेखेको छ भनेर । तर, विडम्बना, त्यस्तै भयो । नेपाली सेनाबाट अवकाश पाएपछि फुयाँल कामको सिलसिलामा विदेश गएका थिए । विदेशमा पनि उनी सेक्युरिटी गार्डको काम गर्थे । पछि नेपाल आएकै समयमा आफ्नै ठाउँमा नेपाल बैंक खुलेपछि उनी नेपाल बैंकमा काम गर्न सुरु गरेका थिए । सुबेदीले बयानका क्रममा आफूले जागिर छाडिसकेपछि आफ्ना आफन्तले आफूलाई जागिर नभएको, काम नभएको भनेर हेप्ने गरेको र यही विषयमा थुप्रै पटक आफ्ना आफन्तसँग भनाभन भएकोसमेत बताएका छन् ।  

प्रहरीका अनुसार बैंक लुट्ने योजना अनुसार सुबेदीले केही दिन अघि नै बैंकको रेकी गरेका थिए । बैंक लुट्ने प्रयास गरेको ठिक ५ दिन पहिले उनी श्रीमतीको एटीएम कार्ड लिएर बैंकमा रकम निकाल्न पुगेका थिए । तर उनको उद्देश्य भनेको एटिएमबाट पैसा झिक्ने थिएन । बरु बैंकमा कहाँबाट छिर्ने, बैंक कसरी लुट्ने, बैंकको अवस्था के छ भनेर बुझ्नु थियो ।  

२७ गते राति साढे १२ बजे सुवेदी बैंकभित्र प्रवेश गरे । शौचालयको भेन्टिलेसनबाट उनी बैंक प्रवेश गर्दा सुरक्षा गार्ड अर्थात उनका ससुरा आफ्नो कोठामा निदाईरहेका थिए । बैंकको सिसिटिभी फुटेजमा उनी बैंकभित्र प्रवेश गरेर करिव ३ घण्टा यताउता गरेको देखिन्छ ।  यो बीचमा सुतिरहेका सुरक्षा गार्ड खोक्दा, वा यता उता चल्दा सुवेदी हतारहतार लुक्न खोजेकोसमेत सिसिटिभीमा देखिन्छ ।  

उनले बैंकको एउटा ताला तोड्न सफल भए । तर दोश्रो तहको चाबी तोड्न सकेनन् । पछि चाबी सुरक्षा गार्डसँग रहेको थाहा पाएपछि उनी सुरक्षा गार्डको कोठामा गए र चाबी थुत्न खोजे । चोरले आफ्नो चाबी थुत्न खोजेपछि फुयाँले चोर आयो चोर भनेर चिच्याए । उनी चिच्याउन थालेपछि सुवेदी र उनको मुडभेड हुन्छ । एकले अर्कोलाई लछारपछार गर्न खोज्दै कोठादेखि काउन्टरसम्म उनीहरुको लडाइ हुन्छ ।  लडाईँका क्रममा सुबेदीले फुयाँलमाथि खुकुरी प्रहार गर्छन् । सुरक्षा गार्डको निधन भएपछि सुबेदीले सो लाश गार्डको कोठामा लैजान्छन् । सुरक्षा गार्डको निधन भइसकेपछि पनि उनी बैंक लुट्ने प्रयासमा रोकिंदैनन् । आफूले खोसेको चाबीको झुप्पोबाट बैंकको भल्ट खोल्ने प्रयास गर्छन् । तर यतिबेलासम्म निकै अबेर भइसकेको हुन्छ । एकातर्फ बिहानको ४ बजेर २२ मिनेट गइसकेको हुन्छ, अर्कोतर्फ चाबी हात पारेर प्रयास गर्दा पनि बैंकको भल्टबाट पैसा निकाल्न उनी असफल हुन्छन् । त्यसपछि उनी शौचालयकै भेण्टिलेसनबाट त्यहाँबाट भाग्छन्, घरमा सामान राख्छन् र चितवन भाग्छन् ।     

घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजबाट उनको पहिचानसमेत भइसकेको थियो । घटनाको दुई दिनपछि प्रहरीले सुबेदीलाई  चितवनको राप्ती नगरपालिका १ लोथरबाट पक्राउ गर्न सफल भयो । 

प्रहरीले अदालतबाट म्याद लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । घटनापछि केही दिन बन्द भएको शाखा अहिले खुलेको छ । यद्यपी आफ्नै सुरक्षा गार्ड मारिएको ठाउँमा बसेर काम गर्न कर्मचारीहरुलाई गाह्रो भएको छ । घटनापछि बैंकमा हुने कारोबार र बैंकमा पुग्नेहरुको संख्या पनि घटेको छ । बैंकका कर्मचारी स्तब्ध छन्, सोझो सुरक्षा गार्ड अनाहकमा मारिनुपरेपछि पूरै बैंक स्तब्ध छ ।

जे नहुनु थियो, त्यो भयो । सुबेदीलाई हदैसम्मको सजाय होस् । उसले गरेको अपराधले उसका निर्दोष केटाकेटी र श्रीमतीले थप पीडा झेल्न नपरोस् । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी