×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकका सुरक्षा गार्ड मारिएको प्रकरण : सुरक्षा गार्ड मारेपछि पनि बैंक लुटको प्रयास, मारिने व्यक्ति मार्नेकै ससुरा !

GLOBAL IME BANK

नेपाल बैंकका सुरक्षा गार्ड मारिएको प्रकरण : सुरक्षा गार्ड मारेपछि पनि बैंक लुटको प्रयास, मारिने व्यक्ति मार्नेकै ससुरा !

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । जागिर छोडेपछि घरमा कमाउने मेलो भएन । हिजो केही हजार, आज लाख हुँदै घरको ऋण २५ लाख पुग्यो । ऋणको ब्याजले एकातर्फ पिरोलिरहेको थियो, अर्कोतिर कमाइको कुनै मेसो थिएन । त्यसपछि ३२ वर्षका चन्द्रबहादुर सुवेदीले बैंक लुट्ने योजना बनाए । सप्तरीमा रहेको नेपाल बैंक लुट्ने योजना बनाएर उनले केही दिन बैंकको रेकी गरे । बैंकबाट कसरी भित्र प्रवेश गर्ने, कहाँको ताला फोड्ने र कसरी रकम लुट्ने योजना बनाए ।

तर, उनको योजना सफल हुन सकेन । पूर्ववत् योजना अनुसार नै झ्यालको भेण्टिलेसनबाट छिरेर बैंकको ढोकामा रहेको एउटा ताला तोडे पनि अर्को ताला तोड्न नसकेका सुबेदीले त्यसपछि सुरक्षा गार्डको कोठामा गएर चाबी थुत्न खोजे । यो बीचमा सुरक्षा गार्ड पर्शुराम फुयाँल र उनीबीच घम्साघम्सी भयो । घम्साघम्सीका बीच सुबेदीले फुयाँललाई खुकुरी प्रहार गरी मारिदिए ।

 सुरक्षा गार्ड आफ्नै ससुरा भएको खुलासा !

मान्छे मारेर भागेका उनीलाई पछि मात्र थाहा भयो, जसलाई उनले घम्साघम्सीमा मारेका थिए, उनी त आफ्नै ससुरा पो रहेछन् । मृतक फुयाँलकी छोरीसँग पक्राउ परेका सुवेदीका काकाको छोराले बिहे गरेका थिए । यसरी नाता ज्वाइँ ससुराको देखियो ।   

सुबेदीले प्रहरीसँगको बयानका क्रममा बैंकमा रहेका सुरक्षा गार्ड आफ्ना ससुरा भनी नचिनेको, बरु पछि मात्र थाहा भएको भनेका छन् । पछि ससुराको मृत्यु भएको भन्ने खबर सुनेपछि पो बल्ल, आफुले जसलाई मारेर भागेको हो, उनी आफ्नै ससुरा रहेछन् भन्ने थाहा भएको दाबी सुबेदीको छ ।       

आफ्नै ससुरा मारेर भागेका सुबेदीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि उनले आफूले मान्छे मारेर समान चाहिं घरमै छोडेको बताएपछि प्रहरी उनको घर खानतलासी गर्न गएको थियो । तर खानतलासी गर्न उनको घर पुग्दा उनको घरमा सुबेदीका बुबाले कसैले आफ्ना सम्धीलाई मारिदिएछन्, उनको लास हेरेर आएँ भन्दा पो बल्ल थाहा भयो, मारिने ससुरा रहेछन्, मार्ने ज्वाइँ रहेछन् । सुबेदीका बाबुले पनि प्रहरी आफ्नो घरमा खानतलासी गर्न आएपछि बल्ल थाहा पाए कि आफ्ना सम्धीलाई मार्ने त आफ्नै छोरा पो रहेछन् ।

आफ्ना बाबुलाई कसैले मारिदिएको खबर सुनेर स्तब्ध बनेकी सुबेदीकी श्रीमती त्यति बेला मुर्छा परिन्, जव उनले आफ्ना श्रीमानले नै नाता भित्रको मान्छे मारेको थाहा पाइन् । कस्तो संयोग, छोराछोरीलाई पाल्न पैसा भएन, ऋण तिर्न सकिएन भनेर जसले बैंक लुट्ने प्रयास गरे, उनैकी श्रीमतीले आफ्ना देउरानीका बाबु आफ्नै श्रीमानबाट मारिएको थाहा पाउनुपर्यो । 

स्तब्ध गाउँ, गरिब छ मृतक परिवार पनि

बैंक लुट्न जाँदा ज्वाइँले मारेका व्यक्ति ससुरा परेको खबर सार्वजनिक भएपछि यतिबेला पूरापूर गाउँ स्तब्ध छ, शोकाकुल छ । प्रहरीले सुबेदीलाई पक्राउ गरेर हिरासतमा राखेको छ । स्थानीयहरु आफ्नै ससुरालाई मारेकोमा सुवेदी प्रति आक्रोशित छन् । सुबेदीका काकाका छोरा अर्थात भाइको ससुराली पनि गरिब परिवार न थियो । नातिनातिना हुँदा पनि केही हजार रुपैयाँका लागि उनका ससुरा बैंकमा सेक्युरिटी गार्डको काम गर्थे । त्यही पैसाले घर चलाउँथे । तर आखिर नसोचेको भयो, आफ्नै नातिनातिनालाई पाल्न, खुवाउन, पढाउन ऋण लागेपछि बैंक लुट्ने योजना बनाएर बैंक छिरेका सुबेदीकै हातबाट उनको ज्यान गयो । 

धेरैलाई यो घटना सपना जस्तै लागेको छ । तर आखिर निर्मम सत्य यही सावित भयो । ससुराले बैंक लुटिन बाट जोगाउन खोजे । ज्वाइँले बैंक लुट्न साँचो नदिएको रिसमा ससुरालाई नै मारिदिए । बिचरा, बिचल्ली हुने भयो सुबेदीकी श्रीमतीको, जसका श्रीमान् अव आफ्नै ससुरा नाता पर्ने फुयाँललाई मारेको अभियोगमा जेल जानेछन् । सुबेदीकी बुहारीको माइतीघरमा बाबु बितेको पीडा त छँदै छ, आफ्नै श्रीमानका दाइले आफ्ना बाबु मारेको तथ्यले माइतीले हेर्ने नजर पनि त्यति राम्रो भएन । बच्चा केटाकेटीका लागि न घर आफ्नो हुने भयो, न मामाघर सोचेजस्तो आफ्नो । मार्ने त जेल गए, गइहाले, भवितव्य नै भए पनि मर्ने मरिहाले । बाँच्नेहरुको बिजोग भयो, अझ कति बिजोग हुने हो थाहा छैन ।       

मार्ने पूर्वप्रहरी, मारिने पूर्व सेना !

मार्ने ज्वाइँ पहिला सशस्त्र प्रहरीका जवान थिए । पछि उनले जागिर छोडे । मारिने ससुरा  अवकासप्राप्त सैनिक हुन् । केहि समयअघि मात्र घरपरिवार राम्रो छ भनेर उनले आफ्नी छोरी ज्यान मार्ने सुबेदीका भाइलाई सुम्पेका थिए । कठै उनलाई के थाहा, जुन घरमा आफ्नी प्राणसमान छोरी दिएको थिएँ, त्यही घरका सदस्यले आफ्नो ज्यान लिन लेखेको छ भनेर । तर, विडम्बना, त्यस्तै भयो । नेपाली सेनाबाट अवकाश पाएपछि फुयाँल कामको सिलसिलामा विदेश गएका थिए । विदेशमा पनि उनी सेक्युरिटी गार्डको काम गर्थे । पछि नेपाल आएकै समयमा आफ्नै ठाउँमा नेपाल बैंक खुलेपछि उनी नेपाल बैंकमा काम गर्न सुरु गरेका थिए । सुबेदीले बयानका क्रममा आफूले जागिर छोडिसकेपछि आफ्ना आफन्तले आफूलाई जागिर नभएको, काम नभएको भनेर हेप्ने गरेको र यही विषयमा थुप्रै पटक आफ्ना आफन्तसँग भनाभन भएकोसमेत बताएका छन् ।  

प्रहरीका अनुसार बैंक लुट्ने योजना अनुसार सुबेदीले केही दिन अघि नै बैंकको रेकी गरेका थिए । बैंक लुट्ने प्रयास गरेको ठिक ५ दिन पहिले उनी श्रीमतीको एसटीएम कार्ड लिएर बैंकमा रकम निकाल्न पुगेका थिए । तर उनको उद्देश्य भनेको एटिएमबाट पैसा झिक्ने थिएन । बरु बैंकमा कहाँबाट छिर्ने, बैंक कसरी लुट्ने, बैंकको अवस्था के छ भनेर बुझ्नु थियो ।  

२७ गते राति साढे १२ बजे सुवेदी बैंकभित्र प्रवेश गरे । शौचालयको भेन्टिलेसनबाट उनी बैंक प्रवेश गर्दा सुरक्षा गार्ड अर्थात उनका ससुरा आफ्नो कोठामा निदाईरहेका थिए । बैंकको सिसिटिभी फुटेजमा उनी बैंकभित्र प्रवेश गरेर करिव ३ घण्टा यताउता गरेको देखिन्छ ।  यो बीचमा सुतिरहेका सुरक्षा गार्ड खोक्दा, वा यता उता चल्दा सुवेदी हतारहतार लुक्न खोजेकोसमेत सिसिटिभीमा देखिन्छ ।  

उनले बैंकको एउटा ताला तोड्न सफल भए । तर दोश्रो तहको चाबी तोड्न सकेनन् । पछि चाबी सुरक्षा गार्डसँग रहेको थाहा पाएपछि उनी सुरक्षा गार्डको कोठामा गए र चाबी थुत्न खोजे । चोरले आफ्नो चाबी थुत्न खोजेपछि फुयाँले चोर आयो चोर भनेर चिच्याए । उनी चिच्याउन थालेपछि सुवेदी र उनको मुठभेड हुन्छ । एकले अर्कोलाई लछारपछार गर्न खोज्दै कोठादेखि काउन्टरसम्म उनीहरूको लडाइ हुन्छ ।  लडाईँका क्रममा सुबेदीले फुयाँलमाथि खुकुरी प्रहार गर्छन् । 

मान्छे मारेपछि पनि बैंक लुटको प्रयासलाई निरन्तरता

सुरक्षा गार्डको निधन भएपछि सुबेदीले सो लाश गार्डको कोठामा लैजान्छन् । सुरक्षा गार्डको निधन भइसकेपछि पनि उनी बैंक लुट्ने प्रयासमा रोकिँदैनन् । आफूले खोसेको चाबीको झुप्पोबाट बैंकको भल्ट खोल्ने प्रयास गर्छन् । तर यतिबेलासम्म निकै अबेर भइसकेको हुन्छ । एकातर्फ विहानको ४ बजेर २२ मिनेट गइसकेको हुन्छ, अर्कोतर्फ चाबी हात पारेर प्रयास गर्दा पनि बैंकको भल्टबाट पैसा निकाल्न उनी असफल हुन्छन् । त्यसपछि उनी शौचालयकै भेण्टिलेसनबाट त्यहाँबाट भाग्छन्, घरमा सामान राख्छन् र चितवन भाग्छन् ।     

घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजबाट उनको पहिचानसमेत भइसकेको थियो । घटनाको दुई दिनपछि प्रहरीले सुबेदीलाई  चितवनको राप्ती नगरपालिका १ लोथरबाट पक्राउ गर्न सफल भयो । 

प्रहरीले अदालतबाट म्याद लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । घटनापछि केही दिन बन्द भएको शाखा अहिले खुलेको छ । यद्यपि आफ्नै सुरक्षा गार्ड मारिएको ठाउँमा बसेर काम गर्न कर्मचारीहरूलाई गाह्रो भएको छ । घटनापछि बैंकमा हुने कारोबार र बैंकमा पुग्नेको संख्या पनि घटेको छ । बैंकका कर्मचारी स्तब्ध छन्, सोझो सुरक्षा गार्ड अनाहकमा मारिनु परेपछि पूरै बैंक स्तब्ध छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: