×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्तामा उत्साह थपिँदा नेप्से नै घाइते, भित्र हिसाब मिलेन, ब्रोकरलाई पनि रोग लाग्ने पीर ! (भिडियो ब्रिफिङ) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लगानीकर्तामा उत्साह थपिँदा नेप्से नै घाइते, भित्र हिसाब मिलेन, ब्रोकरलाई पनि रोग लाग्ने पीर ! (भिडियो ब्रिफिङ) 

७ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा भनेजस्तै एउटा सानो प्रोत्साहन गर्ने नीतिले बजार तिथिलाई कतिसम्म सहयोग गर्छ, लगानीकर्ताको मानसिकतालाई कतिसम्म मलजल गर्छ र लगानीकर्ताको मनोविज्ञानलाई कसरी सकारात्मक प्रभाव पार्छ भन्ने उदाहरण पुनः यसपालि सेयर बजारमा छचल्किएको छ । नियामक नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिने लाइन लिएपछि सेयर बजारका लगानीकर्ताहरु उत्साहित मात्र भएका छैनन्, परपरसम्म आशाका किरणहरु देख्न थालेका छन् । मौद्रिक नीतिले देखाएको सानो आशाको झिल्कोले आइतबार सेयर बजारमा उत्साहको आगो बलेको छ । परिणाम, दिक्क लाग्दोसँग अल्लारेको बेतुके हिंडाई जसरी ल्याङ्ग-ल्याङ्ग गरिरहेको बजार आइतबार ४५.६९ अंकले बढेको छ । 

नेप्से परिसूचक मात्र होइन कारोबार रकम पनि धेरैपछि ५ अर्ब नाघेको छ । लामो समयदेखि यसरी त डुबिने भो भन्ने ब्रोकरहरु अव यसरी नै बजार अघि बढे टिकिन्छ  कि भन्ने आशामा बसेका छन् । सेयर लगानीकर्ताहरु अव यसरी नै बजार अघि बढ्यो भने यो सिजनमा राम्रो कमाइन्छ भनेर सोच्न थालेका छन् । हुन त बजार हो, घटेपछि बढ्छ, बढेपछि घट्छ, तर भुँडे दाजुलाई सुकेनास लागिसक्यो, मेरो पोर्टफोलियो बढेन भनेर चिन्तित हुनेहरु आज पुनः उत्साहित भएका छन् । यसको अर्थ बजार यसरी नै अव बढेको बढ्यै गर्छ, लौ लगानी गर्ने समय यही हो, अव त ट्रेन नै छुट्यो भन्ने पक्कै होइन, तर आजको बजार बढोत्तरीले यस्तो सन्देश पक्कै दिएको छ कि समस्या नीतिमै छ । नीति बनाउनेले थितिमा काम गरेपछि बजारका बेथिति आफैं हट्छ, बजारले राम्रो रिटर्न दिन्छ ।

तर, जव जव नेप्से बढ्न थाल्छ, हाम्रा नियामक, फ्रन्ट लाइन रेगुलेटर र ब्रोकरहरुमा छुट्टै खालको रोग सुरु हुन्छ । जव नेप्से बढ्न थाल्छ, नेप्सेको थोत्रो वेबसाइट घाइते हुन्छ । नियामकमा काम गर्ने धेरैलाई कहाँ गएर हाम फालौँ, कहाँ गएर के गरौँ भन्ने छटपटी हुन्छ, ब्रोकरलाई पैसा नदिउँ नदिउँ भन्ने पीरले पिरोल्छ । यसपालि पनि यस्तै भयो । जव नेप्से बढ्यो, तव नेप्सेको थोत्रो वेबसाइट डाउन भयो । जब नेप्से बढ्न थाल्यो, थुप्रै ब्रोकरका टिएमएसहरु ह्याङ्ग हुन थाले । जब नेप्से थोरै मात्र बढ्न थाल्यो, तव अव ब्रोकरहरुलाई पैसा समयमा नदिने रोगले यसरी च्याप्छ कि त्यति दुख त मान्छेलाई डेंगु लाग्दा पनि हुँदैन ।

नेप्से आफू कहिल्यै सुध्रिँदैन । सायद उसलाई सुध्रने फुर्सद पनि छैन । अर्को स्टक एक्सचेन्ज ल्याउने पर्यो भन्दा सौता आउने पीरले छटपटिन्छ । लगानीकर्तालाई धुरुधुरु रुवाएर, लगानीकर्ताको खुसी एक मिनेट पनि देख्न नसकेर पटकपटक घाइते हुने गरेको नेप्से यसपटक पनि नमज्जासँग घाइते भयो । लगानीकर्ताले देख्नेगरी साइट नै बिग्रिएको त अझ सतहमा आएको स्थिति भयो, नेप्सेको भित्री हरिबिजोगको बिजोग रमाइलोको कथा झन् पट्यारलाग्दो छ ।

नेप्सेका हाकिम धितोपत्र बोर्ड ताकेर बसेका छन् । कर्मचारीहरुलाई वाइकोका कर्मचारी छदैछन् भन्ने ढुक्क छ । वाईको फाइदा लुट्न नसक्ने ठाउँमा खास वास्ता गर्दैन । यहि बेला धितोपत्र बोर्डमा नेतृत्व छैन । भएको काम चलाउ नेतृत्वलाई स्टेजमा बसेर उन्मत्त हाँसो हाँस्न र अध्यक्ष बन्ने रहरले दिनभर किताबका ठेली पढेर बस्नमै फुर्सद छैन । अनि त लगानीकर्ताले दुख पाउने नै भए । आज पनि पाए ।

धेरैपछि बजार बढ्यो, हराएका हात्तीहरु पोर्टफोलियोमा आयो भन्ने खुसी साट्न नपाउँदै नेप्सेले साइट डाउनको जात्रा देखायो । अनि यस्तो छ त सिस्टम, यस्तो त छ देश भनेर अर्को तनाव दियो लगानीकर्ताहरुलाई । थाहा छैन, त्यो झुर नेप्सेको थोत्रो सिस्टमको रबैया कहिलेसम्म देख्नुपर्ने हो । थाहा छैन, यो मनपरी, यो जथाभावी, यो लापरवाही, कसले रोक्ने हो, कहिले रोक्ने हो, कसले छेक्ने हो, कहिले छेकिने हो ?

खैर, बजारको बढोत्तरी खप्न नसकेर झ्याप भएको नेप्सेको सिस्टमको मात विस्तारै उत्रिएला, आशाको किरण जगाइदिने राष्ट्र बैंकलाई यतिबेला लगानीकर्ताले धन्यवाद भनिरहेका छन् । यो अर्थतन्त्रको बिजोग अवस्थामा यस्तै ससाना कुराहरुले पनि आत्मविश्वास दिन्छ भन्ने तथ्य पुनः एकपटक प्रमाणित भएको छ । नेपाल राष्ट्र बैंकले जति नै हामीले सेयर बजार हेर्ने होइन, हामीले त बैंकिङ मात्र हेर्ने हो भने पनि राष्ट्र बैंकको सानो प्रयासले वा सानो प्रोत्साहनले बजारमा छुट्टै रौनकता थपिन्छ भन्ने उदाहरण आजको बजारले पुनः प्रमाणित गर्यो र सायद आउँदा दिनहरुमा थप गर्नेछ ।

आइतबारको बजार बढोत्तरी, राष्ट्र बैंकको लचिलो नीतिको उपज हो भन्ने कुरामा शंका रहेन । तर अव त नेप्से बढीहाल्यो, घट्दै घट्दैन भन्न चाहिं हतारो हुन्छ । बजार यसरी नै बढेका बेला बाठा लगानीकर्ताहरु बजारबाट बाहिरिएको तथ्य हामीले बिगतमा देखेकै हो । त्यसमाथि नेप्सेको साइट बिग्रनु भनेको भित्र कतै न कतै हिसाब नमिलेको हो भन्ने तथ्य पनि हामीले विगतमा देखेकै हो । त्यसैले यस्ता कुरामा लगानीकर्ता सजगचाहीं बन्नुपर्छ । 

धेरैपछि बजार बढोत्तरीका लागि लगानीकर्तालाई बधाई । राष्ट्र बैंकलाई लचिलो मौद्रिक नीतिका लागि धन्यवाद । आशा गरौँ, विरक्त लाग्दो दैनिकीबाट हामी बजारको सुन्दर यात्राको साक्षी बन्ने दिन छिट्टै आओस् । नेप्सेको सिस्टमले पुनर्जिन्दगी पाओस्, नत्र नेप्सेको घरमा सौता भित्रियोस् । जे होस्, लगानीकर्ताको भलोका लागि होस्, देश जगतको भलोका लागि होस् । जय देश, जय सेयर बजार, जय लगानीकर्ता भन्ने दिन आओस्, देखावटी खिस्स हाँसेर होइन, छाती फुलाएर भन्न सकियोस्, जय नेप्से । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी