×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीको बातदेखि बाख्रा पालनसम्म, रवि र गगनको रोचक र घोचक किस्सा… (भिडियो ब्रिफिङ) 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सहकारी ठगीको बातदेखि बाख्रा पालनसम्म, रवि र गगनको रोचक र घोचक किस्सा… (भिडियो ब्रिफिङ) 

१ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । स्कुलका ती दिनहरु सम्झनुस् त, साथीहरु सम्झनुस् त, कति सुनौला थिए ती दिनहरु । कति रमाइला थिए ती दिनहरु । आज पनि त्यो ’गोल्डन लाइफ’को सम्झना सबैलाई हुन्छ । तर फेरी एक पटक सम्झनुस् त स्कुल कलेजका ती दिनहरु, जहाँ तपाईंको कक्षा एउटा डाहाडे मान्छे जरुर थियो, जो तपाईंको प्रगति त के तपाईंको कुनै विषयमा २ नम्बर आएको पनि देखिसहँदैनथ्यो । तपाईं असफल हुँदा मुसुक्क हाँस्थ्यो, तपाईं सफल हुँदा मुर्मुरिन्थ्यो । सबैको जीवनमा यस्तो नभए पनि धेरैजसोको जीवनमा यस्तै केही साथी नामका कलंक भेटिन्छन्, जो नामको साथी थियो, तर खासमा कहिल्यै साथी बन्न सकेन । त्यो बेला त्यसले गरेको व्यहोरा सम्झँदा पनि लाग्छ, यो धर्तीलाई बोझ उठाउन कति गाह्रो भएको होला ।

स्कुल कलेज जीवनजस्तो सुन्दर जीवनमा त त्यस्तो हुन्थ्यो भने राजनीतिमा कसैको टक्कर, कसैलाई ठक्कर हुनु अस्वाभाविक हुँदै होइन । त्यसमाथि पार्टी फरक, नीति फरक र एक असफल हुँदा अर्कोको अवसर आउने ठाउँमा त एकले अर्कोलाई लडाउने खेल नौलो हुँदै होइन । र पनि आशा गरिएका दुई पात्र नै एक अर्कासँग लडिरहँदा अहिले हेर्नेलाई त रमिता होला, तर त्यसले परिस्थितिलाई कहाँ पुर्याउँछ भन्ने विषय जटिल र गम्भीर बन्न सक्छ ।

कुरा उही थापा काजी, र लामिछाने दाजुको हो । कुनै बेला सँगै काम गरेका रवि लामिछाने र गगन थापा अहिले वाकयुद्धमा छन् । थापा भनिरहेका छन् – रवि लामिछानेले सहकारी ठगेका प्रमाण छन्, उनीमाथि संसदीय छानविन समिति गठन हुनुपर्छ । लामिछाने भनिरहेका छन्, त्यो प्रमाण थापाले देखाए राजनीति छोड्छु । फेरी प्रतिक्रियामा थापाले भनेका छन् –’छोडिदिए हुन्छ । प्रमाण सुरक्षित छन् ।’

सत्यचाहिँ के हो भने, न गगनले गनगन गरेजस्तो र दाबी गरेजस्तो रविले सहकारी ठगी गरेको पूरापूर प्रमाणित हुने, कागजात गगनसँग छ, न सहकारी ठगी प्रमाणित भए रविले राजनीति नै छोडेछन् । बोल्नमा कोही भन्दा कोही कम नभएर मात्र हो, यी दुवैको बोलीमा कहिले दम हुन्छ, कहिले भ्रम हुन्छ । खासमा मौका अवसर हेरेर, यी दुवैले कहिले जनतामाझ घुमाउरो झुट बोल्छन्, कहिले यिनै नेता जनतामा आशा बाँड्छन् । खैर, जे भए पनि यी दुईको वाक युद्ध अहिले हेर्न लायकको मात्र भएको छैन, अबको राजनीतिक दिशा देखाउने कडीका रुपमा देखिएका छन् ।

गगन र रविले एकअर्कालाई दिएको चुनौतीबारे अव धेरै भनिरहनुपरेन । दुईमध्ये एक हारे पनि, मुसुक्क हाँसेर खुसुक्क मिल्छन् भन्ने कुरामा पनि कुनै शंका रहेन । तर धेरैलाई थाहा नभएको रवि र गगन थापाको बिगतको दोस्ती र अहिलेको दुश्मनीको कारणबारे केही खोतलखातल गर्दैछौँ हामी ।                           

रवि संचारकर्मबाट आएका हुन् भन्ने सबैलाई थाहा छ । टेलिभिजनमा लाज पचेका नकचराहरुलाई टुँडिखेलमा राखेर, उडेर, घुमाएर एक एक किक हान्ने इक्षा गरेका रवि मात्र होइन, गगन थापा पनि पहिला सञ्चारकर्मी नै थिए भन्नेचाहिँ धेरैलाई थाहा नहुन सक्छ । अझ इमेज एफएममा ‘गुड मर्निङ काठमाडौं’ नामको कार्यक्रम रवि र गगन दुवैले उही स्टुडियोमा बसेर चलाएका थिए भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । रविले न्युज २४ मा कार्यक्रम चलाएजस्तै गगनले इमेज एफएममा समाचार पनि पढ्थे ।  

अझ रमाइलो कुरा त रवि र गगन दुवैका सासुरासमेत नेता हुन् । गगनका ससुरा  कांग्रेस नेता अर्जुननरसिंह केसी हुन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव पौडेल रविका ससुरा हुन् । 

पछि रेडियोको जागिर छोडेर गगन राजनीतिमा लागे, रवि अमेरिका लागे । पछि अमेरिकाबाट फर्केर पुनः टेलिभिजनको कर्म हुँदै रवि राजनीतिमा उदाए । गगन यो बेलासम्म निकै अनुभवसहित राजनीतिमा उदाइसकेका थिए । रविभन्दा पहिला गगन मन्त्री भए, तर गगनभन्दा माथि रवि उपप्रधानमन्त्री भए ।  

गगनभन्दा रवि एक वर्षमात्रै जेठा छन् । मिडियामा पिन रवि एक बर्ष गगन भन्दा जेठा नै हुन् । त्यसैले गगन रविलाई दाइ भन्थे । गगन मन्त्री हुँदा पनि रवि टेलिभिजनको पर्दामा गगनलाई खुब सपोर्ट गर्थे । पुरानो साथी मन्त्री भएकाले पनि रविको फरक खालको सहयोग स्वभाविक पनि थियो । तर अहिले समय बदलिएको छ । कि तँ राजनीति छोड, कि म छोड्छु भन्नेसम्मको सार्वजनिक अभिव्यक्तिले यी दुईको लडाइ हेर्न लायकको भएको छ ।     

रवि र गगनको दोस्ती अहिले दुश्मनीमा बदलिएको छ । गगन सबैकुरा छोडेर रविका पछि लागेको जस्तो देखिएको छ । रविविरुद्ध संसदीय छानविन समिति बनाउने अडान नेपाली काँग्रेसको भए पनि रवि भने निरन्तर गगनका विरुद्ध अभिव्यक्ति दिइरहेका छन् । यतिसम्मकि अनौपचारिक समारोहमा रविको पढाई देखि श्रीमतीको संख्यासम्मका कुरा गर्छन् गगनका कार्यकर्ताहरु । रविका कार्यकर्ताले पनि मटन खाँदासमेत गगनको बाख्रा परेछ कि क्या हो भन्दै ठट्टा गर्छन् ।      

कुनैबेलाको परिस्थिति फरक थियो । रविलाई कांग्रेस सांसद बनाउन चाहना थियो गगनको । धेरैलाई थाहा नभएको विषय के पनि हो भने, २०७० सालमै रविलाई गगनले पार्टीमा भित्र्याउने र समानुपातिकतर्फबाट सांसद बनाउन खोजिएको थियो । समानुपातिक सूचीमा पार्टीको तर्फबाट गगनले बनाएको प्रस्तावित १० जनाको सूचीमा रवि लामिछाने एक थिए । त्यो बेला गगन बनाउने र रवि बन्ने लाइनमा थिए । तर अहिले, गगन र रवि दुवैको लक्ष प्रधानमन्त्री हुनेछ । दुई फरक पार्टीमा छन् । रविलाई खुइल्याउन पाए कांग्रेसमा गगनलाई माथि जान सजिलो हुने र गगनलाई खुइल्याउन पाए आफूलाई थप सहज हुने बुझाईका कारण दुवैको लडाइ रोकिएको छैन ।     

राजनीतिमा लागेको १५ वर्षपछि स्वास्थ्यमन्त्री बनेका गगन र पार्टी खोलेको ६ महिनामा उपप्रधानसहित गृहमन्त्री बनेका रवि दुवै प्रचण्डकै मन्त्री हुन्, २०७९ मा गगनको निर्वाचन क्षेत्रमा रास्वपाले उम्मेदवारी फिर्ता लिएर गगनलाई सहयोग पनि गरेको हो । यतिसम्मकि  यही विषयलाई लिएर कतिले गगनलाई घण्टी काँग्रेस भने त कतिले रास्वपालाई दोश्रो काँग्रेस भने । तर पछि जव काँग्रेस छोडेर स्वर्णिम वाग्ले, गगनलाई चुनौती दिँदै तनहुँबाट उठेर जिते, गगनले पनि रास्वपाको विरोध गर्न थाले, अनि त रवि र गगन कुकुर र बिरालोजसरी झगडा गर्न थाले । 

सुरुमा आ आफ्नो काममा दुवै सफल थिए । सबै सम्बन्ध ठिक थियो । पछि रवि ग्यालेक्सी टिभी सञ्चालनमा असफल भए, गगन बाख्रापालनमा असफल भए । राजनीतिमा आएका दुवैजना अहिले एकले अर्कोलाई थप असफल पार्न लडिरहेका छन् ।   

तर गगन र रविको झगडाले देशलाई कुनै फाइदा हुनेवाला भने छैन । रविले सहकारी प्रकरणमा जेल गए नै भने पनि यो देशमा कुनै विकास हुने होइन । गगन प्रधानमन्त्री नै भए भने पनि यो देशले कुनै निकास पाउने होइन । मात्र कुरा यति हो, हेर्नेलाई दुई चार दिनको रमाइलो हो, उनीहरुलाई गर्नुपर्ने स्वार्थको राजनीति त छँदै छ ।

सकेसम्म गगन र रवि मिले राम्रो । मिल्न नसके पनि एकले अर्कोलाई खुइल्याउन नखोजेको राम्रो । राम्रा आँखाले हेरे दुवै राम्रा युवा नेता हुन् । नराम्रो आँखाले हेरे एउटाको तस्वीरमा सहकारीको पैसा देखिन्छ, अर्कोको तस्वीरमा बाख्राको फोटो भेटिन्छ । दुवै मिले देश बन्न सक्छ । दुवै फुटे दुवै इतिहास बन्न सक्छन् । दुवैलाई जनताले एक एक पटक प्रधानमन्त्री भएको हेर्न चाहेका छन् । यी दुवै फुटे फेरी पनि पालो शेरबहादुर, प्रचण्ड, माधव नेपाल र यस्तै यस्तै पात्रहरुको मात्र आइरहन्छ । होइन र ? (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: