×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मनपरी आउने विदेशी आर्थिक सहयोग रोक्छौं’, सार्वजनिक लेखा समितिका सभापति पोखरेलको विचार

PRIME CA
GLOBAL IME BANK

‘मनपरी आउने विदेशी आर्थिक सहयोग रोक्छौं’, सार्वजनिक लेखा समितिका सभापति पोखरेलको विचार

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसँग संसदीय समितिहरूको प्रभावकारिता र निर्देशनहरूको कार्यान्वयन सन्दर्भमा विस्तृत चर्चा गरिएको छ । लेखा समितिमा १० वर्ष अघि सदस्य रहिसकेका पोखरेल अहिले सभापति छन् । एमाले नेता पोखरेलको स्पष्ट दृष्टिकोण र अडानले अलमलमा परेका कतिपय विषयलाई लेखा समितिले ठेगान लगाएको देखिन्छ । संवादमा आधारित यो सामग्रीको सम्पादित अंश:

बाहिरबाट देखेजस्तो होइन रहेछ

सार्वजनिक लेखा समितिमा मैले २०७० सालमा पनि सदस्य भएर काम गरेको थिएँ । तर सभापति भएर काम गर्ने अवसर यो पटक प्राप्त भयो । मैले बाहिरबाट अनुभूति गरेको भन्दा निकै धेरै बोझिलो, निकै धेरै विषयवस्तुको रुपमा र जिम्मेवारीबोध गर्नुपर्ने ठाउँको रुपमा मैले अनुभूति गरेको छु । सार्वजनिक लेखा समितिमा हामी सबै दलको एक तहको साथीहरू नै छौं । हामी सबै आजका मितिसम्म एकताबद्ध रूपमा नतिजा निकाल्ने गरी काम गरिरहेका छौं । किनभने आजको मितिमा मुलुकमा जुन समस्या देखिएको छ, आर्थिक अनुशासन जसरी कमजोर हुँदै गएको छ । त्यसका लागि राज्यका निम्ति केही सहयोग गरौँ भन्ने हिसाबले नै हामी अगाडि बढेका छौं । तर अब यो चाहिँ कस्तो चिज रहेछ भने बुढापाकाले श्लोक भनेजस्तो ‘झन् झन् गाह्रो, झन् कठिन’ भन्ने रहेछ । तर पनि हामी प्रयत्न गरिरहेकै छौं ।

दलभन्दा माथि उठ्ने प्रण

सबभन्दा पहिलो कुरा चाहिँ हामी सार्वजनिक लेखा समितिमा आएपछि एउटा सहमति गर्यौँ कि हामी यहाँसँग जोडिएको विषयमा दलीय प्रतिनिधि भए पनि कानुन र नियमसँग कहीँ पनि नचुक्ने र एकताबद्ध भएर लाग्ने । यो नै समितिको पहिलो सहमति थियो सार्वजनिक लेखा समितिमा हामीले गरेको । त्यसपछि स्वार्थ नबाझिने गरि उपसमितिको निर्माण गर्यौँ । मन्त्रालय नबाझिने गरि नौ वटा उपसमितिको निर्माण गर्यौँ ।

झण्डै ५-६ वर्षदेखि छलफल नभएका प्रतिवेदनहरूको सन्दर्भमा एउटा प्रतिवेदनमा एक हजार पेज र एक लाख उपदफा होला, त्यसमा हामीले महालेखाको प्रतिवेदनलाई आधार बनाएर लामो समयदेखि रहेको बेरुजुको हल कसरी गर्ने विषयमा गयौँ । ६० औं प्रतिवेदनलाई आउँदो असार मसान्तसम्ममा संसद्मा पेस गर्ने तयारी गरेका छौं ।

समितिका २० देखि २२ वटा पूर्ण बैठकहरू बस्यो र उपसमितिका दर्जनौं बसेका छन् । समिति र उपसमितिको बैठक नबसेको एउटा पनि दिन हुँदैन । अहिले हामी चाहिँ व्यापक बेरुजु सम्परीक्षणको अवस्थामा छौं । यो असार मसान्तमा एउटा न एउटा नतिजा दिन्छौं । केही साथीहरूले सार्वजनिक लेखा समितिको बैठक बस्नै छोड्यो भन्छन् । पूर्ण बैठक नियमित गरिरहने हो भने हामी सम्परीक्षणको काम गर्न असमर्थ हुने हुँदा यस्तो भएको हो । बेरुजु छलफलका लागि समय नपुगेका कारण केही समय बैठकहरू थाती राखेकै हो । सबैले एकताबद्ध हुने हो भने नतिजा निकाल्न सकिँदो रहेछ भन्ने कुरालाई समेत हामीले केही हदसम्म प्रमाणित गर्न सकेका छौं ।

एनसेलको कथा

पछिल्लो समय एनसेलको कुरा सार्वजनिक भएको छ । हामीले सरकार र अख्तियारलाई बोलाएर छलफल गर्यौँ । त्यो अहिले कार्यान्वयनमा गएको छ । दोस्रो कुरा टेरामेक्सको निर्णय गर्यौँ । अख्तियारलाई भन्यौ, अख्तियारले गम्भीरतापूर्वक छलफलको विषय बनायो । हामी चाँडै त्यो मुद्दा अगाडि बढाउँछौ भन्नुभएको छ । त्यस्तै, लुम्बिनीको रामग्रामलाई तत्कालीन मन्त्रालयले भनौँ अथवा लुम्बिनी विकास कोषले दियो । त्यो विषयमा हामीले तत्काल प्रश्न गर्यौँ । समितिले निर्देशन दिएको भोलिपल्ट नै पर्यटन मन्त्रालयले त्यो सबै खारेज गरिदियो ।

समाज कल्याणका बेथिति

त्यस्तै, हामीले समाज कल्याण परिषद्का बेथितिबारे हामीले छलफल गर्यौँ । राज्यका सरकारी निकायमा समेत निजी संस्थाको डोनेसनबाट काम गर्ने, कानुनको ड्राफ्ट डोनेसनबाट बनाउने, कानुनको छलफल, सुरक्षा निकायमा काम गर्ने, राज्यको संस्कृतिसँग सम्बन्धित गम्भीर परिस्थिति थियो । हामीले निर्णय गर्यौँ कि अब कुनै पनि सङ्घसंस्थाहरूले राज्यमा लिएर आउने आर्थिक सहयोग पहिलो कुरा राज्यको बजेटरी सिस्टमबाट आउनुपर्दछ । दोस्रो, राज्यको प्राथमिकता क्षेत्रमा खर्च हुनुपर्दछ । तेस्रो, राज्यका संवेदनशील अङ्गहरूमा राज्यका बजेटरीबाहेक अरु कुनै पनि प्रकारको डोनेसस लिन पाइँदैन भनेर निर्णय गर्यौँ । त्यो निर्णय प्रक्रिया गएर राज्यमा ठूलो बदलाव लिन्छ भन्ने आशा गरेका छौं ।

जिम्मेवार ठाउँमा गैरजिम्मेवार कार्य

ऋण उत्पादनशील क्षेत्रमा खर्च गर्नका लागि लिइन्छ, नकि साधारण खर्च गर्नका लागि लिइन्छ । जहाँ वार्षिक साढे तीन सय अर्ब ब्याज तिर्नुपर्ने अवस्थामा मुलुक छ । अब आइन्दा प्रोजेक्ट लोन बाहेक अन्य ऋण लिन पाइँदैन भनेर अर्थ मन्त्रालयलाई भनेका छौं । हाम्रो एउटा गलत परिपाटी के भयो भने हामीले प्रोजेक्ट निर्माण गर्ने तर त्यसको उपलब्धि नखोज्ने । यदि त्यसो हो भने त हामी सकिन्छौ । त्यसैले अहिले निर्माण भएका ठूला योजनाहरूका लागि आउने बजेटमा व्यवसायिक प्रस्ताव ल्याउन आवश्यक छ । मध्यपहाडी लोकमार्गको उपयोग के हो रु बनिसकेपछि त्यसको उपयोग त गर्ने होला नि ।

यस्तै ठूला आयोजनाहरूको उत्पादन लिने वातावरण तयार थुप्रै विषयवस्तुहरुमा हामीले मुलुकको संकट र परिस्थितिलाई बदल्नका लागि महत्वपूर्ण निर्णय गरेका छौं । सार्वजनिक लेखा समितिले गरेका निर्णयहरू सरकारले कति कार्यान्वयन गर्छ त्यतातिर मैले हेरेको छैन ।

हामी अब आर्थिक अनुशासनसँग जोडिएका, वित्तीय जवाफदेहितासँग जोडिएका, जिम्मेवार ठाउँमा बसेर गैरजिम्मेवारपूर्वक भूमिका निर्वाह गरिएको विषयहरु पनि हेर्छौं । त्यस्ता एक हजार केसहरुको हामी एउटा डकुमेन्ट बनाउँछौं । त्यो डकुमेन्ट संसदले अनुमोदन गर्ने छ । म रहुँला नरहुँदा किनभने सधैंका लागि त म होइन । तर कुनै दिन एक जना असल शासक आउला नि । त्यो हामीले तयार पारेको प्रतिवेदन कुनै दिन असल शासकले पायो भने सायद यो मुलुक बदल्न सक्छ । त्यसरी हामी अहिले काम गरिरहेका छौं । हामी निरन्तर अभ्यासमा छौं ।

पद सुहाउँदो व्यक्ति खै ?

त्यो प्रतिवेदनको कार्यान्वयन अहिलेको शासकहरुले नै गर्नुपर्दछ । अनिवार्य गर्नुपर्दछ । कुनै पनि पदमा बसेको मान्छेले पदीय जवाफदेहिता पुरा गर्न सक्दैन भने त्यो पदको मान्छे होइन । हाम्रो लोकतन्त्रको सिद्धान्त त्यही हो । त्यसो हुँदा मलाई लाग्छ अहिलेका शासकहरुले यसलाई सजिलै ग्रहण गर्नुपर्दछ । ढिलो चाँडो गर्ला र नगरे पनि भविष्यमा उम्किन नपाउने परिस्थिति हामीले निर्माण गर्न गर्छौँ । हामी अहिले त्यही अभियानमा लागेका छौं ।

प्रधानमन्त्रीलाई बोलाएर सुझाव दिन्छौं

म आज सार्वजनिक गर्दैछु कि आउँदो आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया त अगाडि बढिसकेको छ । तर प्रधानमन्त्री, अर्थमन्त्री र सरकारका सचिवहरूलाई बोलाएर हामीले केही डकुमेन्ट तयार गरेका छौं, त्यो उहाँहरूलाई बुझाएर दिन्छौं । यो सीमा नाघेन भने सार्वजनिक लेखा समितिले निर्देशन गर्छ । त्यो सीमा र त्यो विधि ननाघौं भन्ने हाम्रो मान्यता छ । पछिल्लो समय त जसले जे गर्दा पनि भएको छ ।

हामी शक्ति सन्तुलनका आधारमा लोकतन्त्रको व्यवस्थापन गर्छौँ । सार्वभौम संसद्ले पास गरेको कानून र बजेटमाथि कसैले पनि प्रश्न उठाउन पाउँदैन तर त्यही संसद्ले ल्याएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अलमलमा छ । संसारको कुनै पनि लोकतन्त्र जनप्रतिनिधिलाई र राजनीतिक दललाई कमजोर बनाएर बलियो हुन्छ भन्ने कसैले परिकल्पना गर्दछ भने यो मुलुकलाई कमजोर बनाउने तत्व त्यही हो । यो मुलुकलाई प्रक्रियाबाट बाहिर निकाल्न चाहने तत्व पनि त्यही हो । मुलुकमा अराजकता सिर्जना गरिदिने तत्व पनि त्यही हो । राजनीति दल र नेताहरूलाई कमजोर देखाएर आफूलाई महिषासुर बनाउने काम कदापि स्वीकार्य हुँदैन ।

विज्ञहरुको सुझाव लिनुपर्छ

मुलुकमा सुशासन कायम गर्नका लागि मिनी पार्लियामेन्टका सदस्यहरूले पनि मेहेनत चाहिँ गर्नुपर्दछ । सैद्धान्तिक हिसाबबाट नभइ अध्ययनबाट गरिएका निर्णयहरू परिपक्व हुन्छन् । समितिहरूमा केही विज्ञहरूको व्यवस्था गरिदिने हो भने कानुनी परामर्शको क्षेत्रहरूको आधार तयार गरिदिने हो भने र समितिले अलि बढी मेहेनत गरिदिने हो भने मलाई लाग्छ समितिले तीन कुराहरूमा टेकेर निर्णय गर्यो भने जुनसुकै अंग कार्यान्वयन गर्न बाध्य हुनेछ ।

तर, समितिहरूले पनि आफ्ना निर्णयहरूको समीक्षा गर्न आवश्यक छ । हामी महालेखाको ६० औं प्रतिवेदनसम्म आइपुग्दा साढे नौ खर्ब बेरुजु देखिन्छ । जुन देशमा १७ खर्बको बजेट बनाउँछौं । ५ वटा प्रतिवेदनको बेरुजु नौ खर्ब आउँछ । यो असुलउपर गर्नुपर्ने देखिन्छ । कयौं व्यापारी, उद्यमी तथा करदाताहरुले जबर्जस्ती राज्यलाई कर नतिरेको देखिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: