×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नरेन्द्र मोदीभन्दा पनि धनी रहेछन् नेपालका मन्त्री, प्रधानमन्त्रीको शंकास्पद, बिराजभक्तसँग लाखौँको घडी ! (भिडियो) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नरेन्द्र मोदीभन्दा पनि धनी रहेछन् नेपालका मन्त्री, प्रधानमन्त्रीको शंकास्पद, बिराजभक्तसँग लाखौँको घडी ! (भिडियो) 

Artha Sarokar

९ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: ८ मिनेटभन्दा कम

काठमाडौँ । नेपालका मन्त्रीहरुसँग भारतीय प्रधानमन्त्रीसँग भएभन्दा बढी सम्पत्ति रहेछ भन्ने झट्ट सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, तर यो तथ्य सत्य हो । भारतीय प्रधानमन्त्रीले केही समय अगाडि सार्वजनिक गरेको सम्पत्ति विवरण र नेपालका मन्त्रीहरुले आज सार्वजनिक गरेका सम्पत्ति विवरण हेर्दा त नरेन्द्र मोदी भन्दा नेपालका मन्त्रीहरु धनी रहेछन् । हो,  बीबीसी हिन्दीका अनुसार नरेन्द्र मोदीले पछिल्लो समय सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार मोदीसँग ३ करोड २ लाख ६ हजार ८८९  चल सम्पत्ति छ । त्यसमध्ये २ करोड ८५ लाख भारतीय रुपैयाँ भारतीय स्टेट बैंकमा मुद्दती खातामा रहेको विवरणमा उल्लेख छ । तर नरेन्द्र मोदीको कुल सम्पत्तिलाई नेपाली रुपैयाँमा हिसाब गर्दा हुन आउने ४ करोड ८३ लाख ३१ हजार २२ रुपैयाँ भन्दा त नेपाली मन्त्रीहरुको सम्पत्ति नै बढी रहेछ । अझ मोदीको कुल सम्पत्ति भन्दा बढी त नेपाली मन्त्रीहरुको बैंक ब्यालेन्स नै रहेछ ।

नगद मात्र होइन, सुनको मामलामा पनि मोदीभन्दा नेपालका मन्त्रीहरु धनी रहेछन् । बीबीसी हिन्दीले मोदीसँग मूल्य २ लाख ६७ हजार भारतीय रुपैयाँ पर्ने ४ वटा औंठी रहेको बताएको छ । तर नेपाली मन्त्रीहरुसँग त त्यहाँभन्दा बढी बढी सम्पत्ति रहेछ ।  

अव बुझौँ नेपालका कुन मन्त्री र नेपालका प्रधानमन्त्रीसँग कति सम्पत्ति रहेछ भन्ने तथ्यतर्फ ।

अहिले प्रचण्ड क्याबिनेटमा रहेका मन्त्रीहरुमध्ये सबैभन्दा बढी धन श्रम, रोजगार तथा सुरक्षा मन्त्री डिपी अर्यालसँग रहेछ । उनले आफ्नो सम्पत्ति विवरणमा काठमाडौँ, धादिङ, लमजुङ, भक्तपुर लगायत १२ ठाउँमा जग्गा रहेको, र त्यसको मूल्य ५ करोड २८ लाख रुपैयाँ पर्ने विवरण सार्वजनिक गरेका छन् । उनले १५० तोला सुन, १०० तोला चाँदी, १० तोला हिरा, र ५ बैंक र एक सहकारीमा गरी २ करोड १८ लाख रुपैयाँ रहेको विवरण सार्वजनिक गरेका छन् ।  यस अलावा १ करोड २५ लाख ४३ हजार रुपैयाँ पर्ने गाडी र विभिन्न कम्पनीका ६७ हजार कित्ता सेयरसमेत रहेको विवरण उनले सार्वजनिक गरेका छन् । मन्त्री अर्याल समानुपातिकबाट सांसद बनेका व्यापारी हुन् । उनको सम्पत्ति विवरण हेर्दा उनी नेपालका मन्त्रीहरुमध्येकै सबैभन्दा धनीमात्र होइन, प्रधानमन्त्री प्रचण्ड भन्दा पनि धनी छन् । प्रधानमन्त्री प्रचण्डको त कुरै छोडौँ, डिपी अर्याल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा पनि धनी रहेछन् । यसो त रघुवीर महासेठ लगायत अन्य मन्त्रीहरु पनि भारतीय प्रधानमन्त्रीभन्दा धेरै धनी रहेको पाइएको छ ।       

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्पत्ति भने रास्वपाका अन्य मन्त्रीको तुलनामा केही कम रहेछ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार  लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकमा जम्मा ५ हजार रुपैयाँ छ । पैतृक सम्पत्तिबाट पाएको भक्तपुरमा १ रोपनी १ आना जग्गा का अलावा लामिछानेसँग आफ्नो नाममा केही रहेनछ । बरु, उनकी श्रीमती निकिता पौडेलको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको ३ कोर्द ७५ लाख रुपैयाँ पर्ने घर, ८० तोला सुन, १५/२० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर, टाटा नेक्सनको विद्युतीय कार, नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यता रास्वपाबाटै मन्त्री बनेकी सुमना श्रेष्ठ पनि राम्रै धनी रहेछिन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपैयाँ रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार मन्त्री श्रेष्ठको एनआईसी एसिया बैंकको खातामा १ करोड १५ लाख रुपैयाँ, एभरेस्ट बैंकमा ३७ लाख रुपैयाँ  र पोल्याण्डका नागरिकसमेत रहेका उनका श्रीमानको नाममा विदेशी बैंकमा १ लाख ८९ हजार ७०० डलर अर्थात २ करोड ४१ लाख रुपैयाँ नगद र उनीसँग थप क्यास पनि छ ।  शिक्षामन्त्री श्रेष्ठसँग काभ्रेको रियालेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा छ भने ११ तोला सुन, चाँदी, र हिराको सेट पनि छ । सुमना श्रेष्ठले विवाहमा १ सय तोला चाँदी त उपहार मात्र पाएको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । त्यस्तै सुमनाको एक थान स्कुटर, एक थान विद्युतीय गाडी पनि छ ।

यता रास्वपाका अर्का नेता युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको इन्द्रचोकमा दुई आना जग्गामा बनेको घर, काठमाडौँमै  ताहाचलमा चार आना जग्गामा घर, १५ तोला सुन र ५० तोला चाँदी, लुम्बिनी विकास बैंकमा ३५ लाख ३० हजार चार सय सात रुपैयाँ, एभरेष्ट बैंकमा चार सय १८ रुपैयाँ, सिटिजन्स बैंकमा पाँच हजार रुपैयाँ, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा चार लाख ९१ हजार आठ सय ४६ रुपैयाँ, नबिल बैंकमा चार हजार ८३ रुपैयाँ र सिनर्जी कोअपरेटिभ लिमिटेडमा तीन लाख ४१ हजार रुपैयाँ जम्मा रहेको उल्लेख गरेका छन् । यसका अतिरिक्त आफू र श्रीमती सृष्टि सिंहको संयुक्त नाममा सिनर्जी कोअपरेटिभ लिमिटेडमा २५ लाख रुपैयाँ रहेको पनि उनले उल्लेख गरेका छन् । यस अलावा श्रेष्ठले विभिन्न कम्पनीका एक करोड नौ लाख ८० हजार पाँच सय नौ रुपैयाँ बराबरको १५ हजार नौ सय ६ कित्ता शेयर रहेकोसमेत उल्लेख गरेका छन् । यसअलावा उनले  आफूसँग आठ लाख ५० हजार मूल्य बराबरको टोयोटा ल्यान्ड क्रुजर, दुई लाख ४६ हजार मूल्य बराबरको स्कुटर र १९ लाख ७५ हजार मूल्य बराबरको विद्युतीय सवारी रहेको पनि उल्लेख गरेका छन् भने उनले आफूसँग टिसोट, स्वाच, आर्मानीलगायत विभिन्न ब्रान्डका तीन लाख रुपैयाँ मूल्य बराबरको घडीहरु रहेको पनि उल्लेख गरेका छन् । उनले नबिल बैंकबाट ३० लाख रुपैयाँ ऋण लिएकोसमेत सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

यता उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको आफ्नो र आफ्नी श्रीमतीका नाममा गरी जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरमै थप १ रोपनी ७ आना जग्गा, धनुषामा १ बिघा बढी जग्गा, २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी, र विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको पाइएको छ । गोरखाको सिरानचोक गाउँपालिका ८ मा ३१ रोपनी १५ आनाको एक कित्ता १ रोपनी १० आनाको अर्को कित्ता ५ रोपनी ७ आनाको अर्को कित्ता पैतृक सम्पति रहेका श्रेष्ठले सो सम्पत्ति २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग प्रचण्डले उपलब्ध गराएको एउटा गाडीसमेत रहेको उल्लेख छ । उनीसँग कुनै कम्पनीको सेयर भने रहेनछ ।

यता कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको सम्पत्तिका नाममा आफ्नो र श्रीमानको गरी सिमरामा-५० कठ्ठा पुर्ख्यौली जग्गा, सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा, १० तोला सुन, २५ तोला चाँदी,  चाँदी र बैंकमा कुल ४० हजार रुपैयाँ रहेको सार्वजनिक भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले  राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ, र चल सम्पत्तिमा १३ लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा, ६ तोला सुन र ७/८ तोला रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा ३ वटा घर भएको आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको, बझाङमै थप २ रोपनी क्षेत्रफलमा बनेको पैत्रिक घर रहेको र काठमाडौं कीर्तिपुरमा एउटा घर रहेको उल्लेख गरेका छन् । यस अलावा काठमाडौंको चन्द्रागिरीमा ४ आना २ दाम जग्गा , ४ तोला सुन, ६० तोला चाँदी १ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्जमा भएको खातामा उनले तलब भत्ताबाट १ लाख रुपैयाँ रहेका उनको आफ्नो र श्रीमतीको नाममा गरे नेपाल बैंकमा ५ हजार, सनराइज बैंकमा १ हजार र ग्लोबल आईएमई बैंकमा ५० हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् । यस्तै ग्लोबल आईएमई बैंकमा ५ हजार एभरेस्ट बैंकमा ८ हजार रहेको बताएका उनले विभिन्न कम्पनीका ८ लाख रुपैयाँ बराबरको सेयर रहेकोसमेत उल्लेख गरेका छन् । मन्त्री जोशीले आफ्नो सम्पत्ति विवरणमा ४३ लाख रुपैयाँ ऋण रहेकोसमेत उल्लेख गरेका छन् ।

यस्तै अर्थमन्त्री वर्षमान पुनले एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ राखेको,  रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको र त्यसबाहेक पुनसँग एक थान हलुका सवारीसाधन पनि रहेको उल्लेख गरेका छन् ।

यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक गरेको सम्पत्ति विवरणमा कीर्तिपुरमा ६ आना १ पैसा एक दामको साढे दुइ तले घर, ६ तोला सुन र दुई तोला चाँदी, राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार रुपैयाँ, एभरेष्ट बैंकमा २८ हजार रुपैयाँ, र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ रहेको उल्लेख गरेकी छिन् । शर्माले राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख ऋण लिएकोसमेत सम्पत्ति विवरणमा उल्लेख छ । यसअलावा उनीसँग  ३६ लाख बराबरको हुण्डाइ कार रहेको उनले उल्लेख गरेकी छिन् ।

यता वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले आफू र आफ्नो परिवारगरी सम्पत्तिको रुपमा १२ बोरको राइफल बन्दुक, ९ वटा घर, १५ ठाउँमा जग्गा, ५६ तोला सुन र ६५० ग्राम चाँदी, विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद र विभिन्न कम्पनीको १ करोड २५ लाखको सेयर रहेको उल्लेख गैरका छन् ।

यता, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आफूसँग ३५ लाख रुपैयाँ रहेको जानकारी दिएका छन् । बस्नेतले राष्ट्रिय वाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ रहेको,  श्रीमती सत्य पहाडीको नाममा ६ लाख रुपैयाँ बराबरको सेयर र ५ तोला सुन रहेको, र विभिन्न ठाउँमा जग्गा रहेकोसमेत उल्लेख गरेका छन् ।  

सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौँमा दुई वटा घर, श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा दुई वटा घर श्रीमती हिमालीकै नाममा काठमाडौँ महानगरपालिका ६ मै अर्को ६ आना जग्गा, १५० तोला सुन र ३०० तोला चाँदी, १५ लाख बैंक ब्यालेन्स र श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरीले सम्पत्तिका नाममा आफूसँग १ रोपनी २ आना पैतृक जग्गा, २३ तोला सुन पैतृक सम्पत्ति, एभरेस्ट बैंकमा १ लाख रुपैयाँ नगद पोखराको एक रेष्टुरेन्टमा ५० लाखको लगानी र ४० लाख रुपैयाँ ऋण रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको आफ्नै नाममा अलिकति पनि जग्गा नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले एक ठाउँमा ५ कट्ठा र अर्को ठाउँमा १  बिगाहा १५ कट्ठा जमिन रहेको उल्लेख गरेका छन् । त्यस्तै कीर्तिपुरमा २०६.६६ वर्ग मिटर जग्गा, १० तोला र श्रीमतीका नाममा विभिन्न बैंकमा रहेको खातामा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् । उनले १५ हजार कित्ता सेयर रहेकोसमेत सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

यस्तै रक्षामन्त्री हरि उप्रेतीको सर्लाहीमा साढे १५ कट्ठा पुर्ख्यौली जग्गा रहेको विवरण सार्वजनिक भएको छ । विवरणअनुसार श्रीमतीको नाममा साढे १५ कट्ठा, छोराको नाममा २० कट्ठा जग्गा रहेका उनीसँग सुन २५ तोला र लाखको गाडीसमेत छ ।

अव कुरा गरौँ प्रधानमन्त्रीको
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्तिका रुपमा भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर, १ कठ्ठा जमिन, ५ तोला सुन, एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् । तर अचम्मको कुरा त के छ भने प्रचण्डको पैतृक सम्पति नै बढेको देखिएको छ । २०७३ सालमा प्रधानमन्त्री हुँदा उनले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन रहेको उल्लेख थियो भने अहिले प्रधानमन्त्री प्रचण्डले थप १४ कठ्ठा जमिन पनि थप सम्पत्तिका रुपमा देखाएका छन् । तर यसलाई पनि प्रचण्डले पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन् । २०७३ सालमा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाएका प्रचण्डले अहिले ५ तोला सुनलाई पनि पैतृक नै भनेका छन् । उनको सम्पत्ति विवरणमा देखिएको यस्तो अचम्म लाग्दो तथ्यले उनको धेरैजना यस्तो कसरी भयो भनिरहेका छन् ।

हुन त मन्त्रीहरुले आफ्नो नाममा सम्पत्ति कहाँ राख्छन् र भन्ने चर्चा पनि बेला बेला हुने गरेको छ । तर सार्वजनिक भएकै सम्पत्ति हेरेर जनता तीनछक परेका छन् । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी