काठमाडौँ । नयाँ दलप्रतिको आशामाथि केही नयाँ भनिएका तर पुराना सोचका नेताहरुले कुठाराघात गर्दैगर्दा बालेन सर्वप्रिय, सर्वसम्मानित र सर्वआशातीत नेता बनेर काठमाडौँमा उदाउँदैछन् । कला, संस्कृतिको बचाउदेखि काठमाडौँलाई सुन्दर बनाउने कुनै पनि कुरामा, शिक्षा नीतिको परिवर्तनदेखि कानुन परिपालनासम्म बालेनले लिएको अडानलाई जनताले प्रशंसा मात्र गरिरहेका छैनन्, बालेनभित्र देशभक्ति, असल शासन र जनमैत्री निर्णयकर्ताको अनुभूति देखिरहेका छन् । युवा शैलीमा स्ट्रेट फर्वार्ड देखिने भएर पनि होला, उनका कतिपय अभिव्यक्ति धेरैलाई मन पर्दैन, उनी स्वतन्त्र भएर होला, राजनीतिक दलका झोलेहरुलाई उनको स्टाइल मन पर्दैन, उनी युवा भएर होला, बूढाखाडा नेताहरुलाई उनको जोस मन पर्दैन । तर, आम नेपालीको मनमा बालेन शाह सच्चा देशभक्त नेताको रुपमा कहलिरहेका छन् ।
उनी काठमाडौँका मेयर हुन्, तर उनले लेखेका केही शब्दहरुले देश हल्लाउने गरेको छ । उनको अडान राख्ने शैलीले राष्ट्रिय राजनीति हल्लाउने गरेको छ । नझुक्ने उनको बानीले उनलाई थप लोकप्रियताको उचाइँमा पुर्याएको छ । कानुन परिपालनामा ’इफ’ र ’बट’ नहेर्ने उनको सिधा शैलीले उनलाई सबैको प्रिय बनाएको छ । राम्रोलाई खुलेर राम्रो भन्ने र नराम्रोलाई खुलेर आलोचना गर्ने उनको स्टाइल धेरैका लागि बेष्ट पार्ट अफ मेयर बनेको छ ।
हो, उनी क्रान्तिकारी छन् । आफ्ना कर्मचारीमाथि तलमाथि गर्न खोज्दा गृह मन्त्रालयको फोहोर नउठाउने राख्छन् । बाटो नबनेर जनताले सास्ती पाउँदा, धुलो पठाएर नेताको नीद हराम गरिदिन्छन् । देश बिगार्ने नेताका बारेमा खुलेर बोल्छन् । आफ्ना कुरा स्पष्ट राख्छन् । सायद स्वतन्त्रबाट जित्नुको सुन्दरता पनि यही नै हो । र त बेलाबेला चर्चा चलिरहन्छ काठमाडौँका मेयर बालेन शाहको, उनले लेखेको स्ट्याटसको, उनले बोलेको बोलीको । बोली मार्फत फायर गरेको गोलीको । र त वडा अध्यक्षलाई प्रष्टसँग पाठ सिकाएको लाइभ भिडियोदेखि धुलो पठाएर मन्त्रीलाई हायल कायल बनाउने उनको शैली चर्चामा छ, उधुम चर्चामा छ ।
र बालेनले लेखेको अर्को एउटा स्ट्याटसले उनलाई थप चर्चामा ल्याइदिएको छ । मेयर शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा गरेको आलोचनाले यतिबेला सामाजिक सञ्जाल तातेको छ । गिरीबन्धुको टि-स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न मात्र भनेका छैनन् बरु बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको गम्भीर आरोप लगाएर उनले फेसबुकमा लेखेका छन्– ‘समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’
गिरीबन्धु टि स्टेटमा भएको नीतिगत भ्रष्टाचारका बारेमा बालेनले गरेको खोजी र दिएको अभिव्यक्ति यो पहिलो होइन । तर यसपालि उनले लेखेर कडा दनक दिएका छन् । भनेका छन् – ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’
आखिर बालेन किन रुष्ट छन् त ओलीसँग ?
बालेन ओलीसँग रुष्ट हुनुका केही कारण छन् । एक त नेकपा एमालेका कतिपय नेता कार्यकर्ताहरुले बालेनको काममा अड्को थापिरहेका छन् । न्युरोडको फुटपाथ क्षेत्र बढाउन काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा सरकारले गरेको असहयोग सत्तारुढ दल एमालेकै कारण भएको आम बुझाईसँगै बालेनसमेत यो केसमा एमालेसँग रुष्ट छन् । अझ सो विवाद यो हदसम्म पुगेको चाह कि, महानगरपालिकाले सडकको पिच भत्काइसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको डिभिजन सडक कार्यालयले सो सडक पिच गरेर बालेनलाई चुनौति दिएको छ । बालेनको निर्णयका विरुद्धमा राज्य संयन्त्र नै यसरी रातारात लागेको छ कि, मानौं, यसरी लाग्ने हो भने त देश कति छिटो विकास हुन्थ्यो होला । भत्किएका शहरका खाल्डाखुल्डीहरु त परै छाडौं आफ्नै आँगन भत्किएर बिजोग भएको नदेख्ने सडक विभागले यति हतार हतार बालेनको निर्णयविरुद्ध न्युरोडको बाटो पिच गरिदिएको छ कि के भन्ने । यसरी ठाडै चुनौती दिएर काम गरेपछि रुष्ट भएका बालेन अलि कडा रुपमा प्रस्तुत भएका छन् । बालेनको निर्णयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बाधक बनेको बुझाई बालेनको छ । र महासेठ एमालेका नेता हुन् ।
आफ्नो काममा पटक पटक डिस्टर्ब गरेपछि फायर भएका बालेनले केपी ओलीलाई कडा शब्दमा लेखेका छन्– ‘१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।’, बालेनले लेखेका छन्, ‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो ।’ बालेनले न्युरोडको साटो काठमाडौंको रिङरोड र बुटवल–चितवन खण्डको सडक बनाउन शक्ति लगाउन पनि ओलीलाई सुझाव दिएका छन् । र यहि कुराले यतिबेला बालेन र केपी ओली समर्थित दल र तिनका कार्यकर्ताको टकराव बढिरहेको छ ।
यसो त बालेनकाविरुद्धमा केपी ओलीले पनि पटक पटक सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । यसकारण पनि बालेन ओलीसँग चिढिएका छन् । एमालेका हेवी वेट मानिएका केशव स्थापितलाई आच्छु आच्छु बनाएर, कोर एरिया नै नभेटिने गरी चुनावमा हराएर आएका बालेन आफूलाई काम गर्न नदिएको भन्दै एमालेसँग रुष्ट हुँदा यो कुराले थप टकराव निम्त्याउने देखिन्छ । ओली पनि राजनीतिमा चतुर खेलाडी हुन् । बालेन नयाँ पीढीका आशा हुन् । यी दुईले एक अर्कालाई डिस्टर्ब गर्दाको नतिजा दुखद आउने कुरामा कुनै पनि शंका छैन । तर जे भइरहेको छ, त्यसले बालेनको पक्षमा जनमत निर्माणमा थप सहयोग गरेको छ ।
एमालेका अध्यक्ष केपी ओली फेरी पनि प्रधानमन्त्री हुनेछन् भन्ने कुरामा शंका छैन । बालेनलाई देशको प्रधानमन्त्रीको रुपमा देख्न चाहनेको जमात भयङ्कर ठुलो छ भन्ने कुरामा पनि शंका छैन । त्यसैले बालेनलाई जिस्क्याउनुभन्दा बालेनलाई काम गर्न दिनु नै एमालेका लागि हितकारी हुन्छ भन्ने कुरामा एमालेले ध्यान दिन जरुरी छ । चुपचाप काम गरिरहेको एउटा कर्मशील मेयरलाई राजनीतिक आवरणमा गरिने गालीले एमालेलाई नै धक्का लाग्नेछ भन्ने कुरामा कुनै शंका छैन ।
बालेनले अहिले गरिरहेको काम कतैबाट पनि गलत पुष्टी गर्न सक्ने स्थिति छैन । जबकि सडक विभागले जे गरिरहेको छ, त्यो गलत हो भन्ने आधार थुप्रै देखिन सक्छन् । बालेन काठमाडौँलाई सुन्दर बनाउन चाहन्छन् । यही बेला बालेनका विरोधीहरु काठमाडौँमाथि राजनीति गरिरहेका छन् । जित ढिलो होला, तर सत्यकै हुनेछ भन्ने कुरामा कुनै शंका छैन । यही कारण पनि बालेनलाई निर्वाध काम गर्न दिनुमा नै सबैको भलो देखिन्छ । यसको अर्थ बालेन सधैँ सही हुनैपर्छ भन्ने होइन । मान्छे हो, गल्ती जो बाट पनि हुन सक्छ । बालेनले गलत गर्दा खबरदारी गर्ने हो, तर बालेनले सही गर्दा त्यसमा भाँजो हाल्ने काम कदापी सही हुनै सक्दैन ।
बर्षौंपछि काठमाडौँले एक सच्चा मेयर पाएको छ । देशले बालेनजस्तो नेता पाएको छ । देश बालेनमय भएको छ । यस्तो बेला बालेनलाई साथ दिएर देशविकासमा अघि बढे, सहर विकासमा अघि सरे, सबैको भलो हुने देखिन्छ । होइन र ? (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्