×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिवाइसी लघुवित्त डुब्न लाग्यो भन्दै राष्ट्र बैंकमा उजुरी, काका भतिज विरुद्ध एक दर्जन गम्भीर आरोप !

GLOBAL IME BANK
SHREE KESH

सिवाइसी लघुवित्त डुब्न लाग्यो भन्दै राष्ट्र बैंकमा उजुरी, काका भतिज विरुद्ध एक दर्जन गम्भीर आरोप !

१६ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं। सिवाइसी लघुवित्त डुब्न लाग्यो भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ। सिवाइसी लघुवित्तका बहालवाला अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध संचालक डोलेन्द्र शर्माले मनलाग्दी गरेर लघुवित्त डुबाउन लागेको भन्दै संस्थापक शेयरधनिहरुले राष्ट्र बैंकमा उजुरी दिएका हुन्।

उजुरीपत्रमा सिवाइसी लघुवित्तका अध्यक्ष तथा प्रबन्ध संचालकले झुटा बिल पेश गरेर करोडौं अनियमितता गरेको, अनुगमनमा आएका राष्ट्र बैंककै कर्मचारीलाई प्रभावमा पारेर संस्थाका कर्तुत लुकाएको, राजनीतिक लाभ उठाउन नेताकी चेलीलाई महिला सञ्चालक बनाउन ऐन विपरित काम गरेको, सञ्चालक र सीईओबाट राजिनामा दिएर बसेपनि संस्था प्रमुखकै रुपमा काम गरिरहेको, साधारण सेयरधनीको हैसियत भएपनि संस्था प्रमुखले पाउने सेवा सुविधा र अधिकार प्रयोग गरिरहेको, डोलेन्द्र शर्माले अध्यक्ष र निमित्त सीईओलाई प्रयोग गरेर चरम आर्थिक अनियमितता गरेको, डोलेन्द्र शर्मा आफू प्रबन्ध सञ्चालक हुँदा गरेका कर्तुत लुकाउन नियम विपरित निमित्तको भरमा संस्था चलाएको आरोप लगाइएको छ।

पहिलो आरोप : झुटा बिल पेश गरेर करोडौं अनिमियतता गरेको

मर्जर हुनुअगाडि नभएका काम कुराहरूलाई भएको भनेर बिल भरपाई गरिएको भन्दै त्यसमा कारबाहीको माग गरिएको छ। १९ वटा नखोलिएका संस्था खोलेको भनेर खर्च देखाइएको, सञ्चालक र प्रबन्ध सञ्चालक (डोलेन्द्र शर्मा) ले नगरेको भ्रमणलाई भ्रमण गरेको भनेर खर्च देखाइएको उजुरीमा उल्लेख छ। जसले गर्दा २०७९ बैशाखमा ९ करोड फाइदा देखाइएको सिवाइसी लघुवित्त असारमा घाटामा गएको उजुरीपत्रमा उल्लेख छ।

दोस्रो आरोप : अनुगमनमा आएका राष्ट्र बैंककै कर्मचारीलाई प्रभावमा पारेर संस्थाका कर्तुत लुकाएको

नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरीवेक्षण विभागका कर्मचारी निरज अधिकारीको नेतृत्वमा सिवाइसी लघुवित्तको स्थलगत अनुगमनमा हेर्नुपर्ने कुराहरू केही पनि नहेरेको आरोप लगाइएको छ। अधिकारीले अधिक ऋणलाई इभर ग्रीन गरिएको , आफन्त तथा नजिककालाई दिएको तर उठ्न नसकेको कर्जालाई लुकाइएको, प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले महिनाभरि अर्थात ३६५ दिनकै भ्रमण भत्ता लिएको उजुरी नहेरेको आरोप छ।

तेस्रो आरोप: नेताकी चेलीलाई महिला संचालक बनाउन ऐन विपरितको काम 

नेताकी चेलीलाई महिला सञ्चालक बनाउन ऐन विपरीतको काम भएको आरोप लगाइएको छ। विशेष साधारणसभाबाट सञ्चालक चयन गरिएको महिलालाई सपथ नै नखुवाई ३५ दिन अगावै हटाएर नेताकी चेलीलाई महिला सञ्चालक बनाइएको आरोप लगाइएको छ। भारत रहेकी महिलालाई विशेष साधारणसभाबाट सञ्चालक बनाइएपनि उनलाई सपथ नै नखुवाई ३५ दिन अगावै मुना देवी खनाललाई सञ्चालक बनाइएको थियो। यसरी सञ्चालक बनाइनु बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन विपरित हो।

चौथो आरोप : संचालक र सीइओबाट राजिनामा दिएर बसेपनि संस्था प्रमुखकै रुपमा काम गरिरहेको

एउटा साधारण सेयरधनीको हैसियतमा पुगेका डोलेन्द्र शर्माले अहिलेपनि संस्थाको प्रमुख कार्यकारी तथा सञ्चालक अर्थात् हिजोकै प्रबन्ध संचालकको रुपमा काम गरेर घुमाउरो रुपमा सेवा सुविधा लिएको आरोप लगाइएको छ। सामान्य शेयरधनीको हैसियत हुँदा प्रबन्ध संचालकको रुपमा काम गर्न पाउने कानुनी आधारबारे राष्ट्र बैंकलाई प्रश्न सोधिएको छ। पटक पटक प्रश्न गरेपछि सिइओ छाडेर सञ्चालक मात्र बनेका डोलेन्द्र शर्माले सरकारी नियुक्ति खानलाई सञ्चालक पदबाट समेत राजिनामा दिएका थिए। डोलेन्द्र शर्माले माघ २४ गतेदेखि लागू हुनेगरि फागुन २८ गते सञ्चालक पदबाट राजिनामा दिएपनि उनले यसबीच संचालकको हैसियतमा काम गरेका थिए। कलिङ्ग पिरियडमा भएको देखाउन राजिनामा दिएपनि दैनिक कार्यालय जाने, सेवा सुविधा प्रयोग गर्ने र कर्मचारी तथा सञ्चालकलाई निर्देशन दिने काम अहिलेपनि जारी छ।

पाँचौ आरोप: डोलेन्द्र शर्माले अध्यक्ष र निमित्त सीइओलाई प्रयोग गरेर चरम आर्थिक अनियमितता गरेको

डोलेन्द्र शर्मा सामान्य शेयरधनीको हैसियतमा भएपनि सञ्चालक समितिको बैठकमा उपस्थित भएर निर्णय गर्ने गराउने गरेको, व्यवस्थापकीय सम्पूर्ण निर्णयहरू आफै लिने गरेको, शाखा शाखा भ्रमण गरेर त्यहाँका कर्मचारीलाई सरुवा बढुवाको धम्की तथा ‘टार्गेट’ दिने गरेको, प्रमुख कार्यकारी अधिकृतले सुविधा वापत पाउने गाडी, ड्राइभर र आवास सुविधा पनि लिइरहेको, आफू निकट चार कर्मचारीबाट नियम विपरित पेश्की लिएको र डोलेन्द्र शर्माको यस्तो आपराधिक र गैरकानुनी कामलाई संस्थाका अध्यक्ष पद्मनाथ शर्माले साथ दिएको आरोप लगाइएको छ।

छैटौं आरोप : ऐन विपरित निमित्तको भरमा संस्था चलाइएको

तीन महिनाभन्दा बढी निमित्त प्रमुखको रुपमा संस्था चलाउन नपाउने नियम विपरित लामोसमयदेखि संस्था निमित्तको भरमा चलाइएको आरोप लागेको छ। नेपाल राष्ट्र बैंकले प्रबन्ध सञ्चालक हटाएर सिइओ राख्न निर्देशन दिएपनि सिवाइसी लघुवित्तमा अहिलेसम्म सिइओ नियुक्ति हुन् सकेको छैन। तीन महिना भन्दा बढी निमित्तको भरमा संस्था चलाउन नपाइने राष्ट्र बैंकको नियम छ।

सिवाइसी लघुवित्तमा चरम अनियमितता भइरहेकोबारे बिजपाटी लगायत केही मिडियाले पछिल्लो दुई बर्षयता निरन्तर रुपमा लेखिरहेको छ। मिडियाहरूले देखाएका दर्जन आर्थिक तथा पदीय अपराध मध्ये केही विषयमा कारबाही भएपनि संस्थानै डुबाउने प्रकृतिका घटना घटाउने व्यक्तिउपर भने नेपाल राष्ट्र बैंकले अझै सम्मपनि कुनै कारबाही गर्न सकेको छैन।

राष्ट्र बैकका नीति नियम नमानेर राष्ट्र बैकलाई खुल्लम खुल्ला चुनौती दिइरहेका र जनताको पैसालाई जुवामा जितेको सम्पत्तिको रुपमा अनियमित तरिकाले खर्च गरिरहेका नातामा काका भतिज पर्ने सिवाइसी लघुवित्तका अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्मालाई कारबाही गरेर राष्ट्र बैंकले आफ्नो साख जोगाउला त ? यो भने हेर्न बाँकी छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: