काठमाडौँ । नेपालमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या दुई वर्षमा १९ लाख बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असारदेखि २०८१ बैशाखसम्म डेबिट कार्ड प्रयोगकर्ताको संख्या १९ लाखले बढेको हो ।
योसँगै २०७९ असार मसान्तसम्म कुल १ करोड ८ लाख रहेको डेबिट कार्ड प्रयोगकर्ताको संख्या २०८१ बैशाख मसान्तसम्म १ करोड २७ लाख पुगेको छ ।
त्यस्तै, यसअवधिमा डेबिट कार्डमार्फत ९७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । जबकी दुई वर्षअघि (२०७९ असार मसान्तसम्म) डेबिट कार्डमार्फत कुल ८३ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यता डेबिट कार्डसँगै नेपालमा क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको छ । २०७९ असार मसान्तसम्म २ लाख ३८ हजार रहेको क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २०८१ बैशाख मसान्तसम्म आइपुग्दा २ लाख ८६ हजार पुगेको छ । यसअवधिमा क्रेडिट कार्डमार्फत १ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।