×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको सार्वजनिक ऋण २४ खर्ब नाघ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपालको सार्वजनिक ऋण २४ खर्ब नाघ्यो

Artha Sarokar

७ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड रुपैयाँ र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड रुपैयाँ  बराबर रहेको छ ।

चालु आवको सुरुआत अर्थात २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो । चालु आवको ११ महिनामा मात्र एक खर्ब ९९ करोड रुपैयाँ बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९.६८ र बाह्य ऋणको हिस्सा ५०.३२ प्रतिशत छ ।

बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई १० खर्ब ७१ अर्ब ११ करोड रुपैयाँ र द्विपक्षीय ऋणदातालाई एक खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँ बराबर तिर्न बाँकी छ । त्यस्तै, आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी सात खर्ब ६४ अर्ब ९४ करोड रुपैयाँ बराबर छ । हालसम्मको ट्रेजरी बिलको दायित्व चार खर्ब १२ अर्ब ६९ करोड रुपैयाँ, नागरिक बचतपत्रको दायित्व १० अर्ब ७५ करोड रुपैयाँ, वैदेशिक रोजगारी बचतपत्रको दायित्व १७ करोड रुपैयाँ र आईएमएफ बण्डको दायित्व तीन अर्ब ९१ करोड रुपैयाँ बराबर छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल  चार खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये आन्तरिक ऋण दुई खर्ब ४० अर्ब रुपैयाँ र बाह्य ऋण रु दुई खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ उठाउने लक्ष्य थियो । गत वैशाख मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ दुई खर्ब २५ अर्ब रुपैयाँ र बाह्यतर्फ ८२ अर्ब ६७ करोड रुपैयाँ बराबर ऋण उठाइसकेको छ ।

वार्षिक लक्ष्यका आधारमा हालसम्मको कुल ऋण प्राप्ति ६७.९६ प्रतिशत बराबर हो । आन्तरिक तर्फ वार्षिक लक्ष्यको ९३.७५ र बाह्य तर्फ वार्षिक लक्ष्यको ३८.८६ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

चालु आवभित्र उठाइसक्ने लक्ष्य लिइएको ऋणमध्ये वैशाख मसान्तसम्ममा आन्तरिकतर्फ १५ अर्ब रुपैयाँ  र बाह्यतर्फ एक खर्ब ३० अर्ब सात करोड रुपैयाँ  गरी कुल एक खर्ब ४५ अर्ब रुपैयाँ  बराबर उठ्न बाँकी रहेको कार्यालयका प्रमुख दीर्घराज मैनालीले जानकारी दिए ।

चालु आवमा सरकारी ऋणको साँवा तिर्न दुई खर्ब २५ अर्ब १७ करोड रुपैयाँ र ब्याज तिर्न एक खर्ब पाँच अर्ब ३८ करोड रुपैयाँ  बराबर विनियोजन भएको थियो । जसमध्ये चालु आवको १० महिनामा साँवातर्फ रु एक खर्ब ९७ अर्ब ३२ करोड अर्थात् विनियोजित बजेटको ८७.८३ प्रतिशत र बाह्यतर्फ ३१ अर्ब ५२ करोड रुपैयाँ अर्थात् ७०.९ प्रतिशत बराबर भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्म तिरिएको सार्वजनिक ऋणको साँवा ब्याजमध्ये आन्तरिकतर्फको भुक्तानी दुई खर्ब २७ अर्ब २० करोड रुपैयाँ र बाह्य ऋणको साँवा ब्याजमा ४३ अर्ब ९९ करोड रुपैयाँ  बराबर खर्च भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी