Skip to content
LAXMI SUNRISE BANK

‘अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई कारवाही हुन्छ’- गृहमन्त्री लामिछाने

अर्थ सरोकार

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको बताएका छन् । लामिछानेले नेपालको सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासङ्घको अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग छलफलको क्रममा यस्तो बताएका हुन् ।

उनले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारवाही हुने बताए । साथै उनले सहकारी अभियानको माग सम्बन्धमा आवश्यक अध्ययन गरी गृहमन्त्रालयबाट परिपत्र गर्ने आश्वासन समेत दिए ।

उक्त क्रममा सहकारी अभियानको तर्फबाट महासङ्घका अध्यक्ष मल्लले सहकारी संघ संस्थाको ऋण असुली तथा धितो लिलाम प्रकृयामा अराजक समूहले अवरोध पुर्याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको लागि गृहमन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

साथै सहकारी संस्थाको ऋण तिर्नुपर्दैन भनी केही अराजक समूहबाट भ्रम फैलाइएको, ऋण असुलीमा जाने कर्मचारीमाथि गालीगलौज, धम्की प्राप्त भएको, धितो लिलामी प्रकृयामा अवरोध सिर्जनालगायत कार्यले सहकारी संघ संस्थाको चालु आर्थिक वर्षको खातावन्दीमा नकारात्मक असर परेको भन्दै आवश्यक सुरक्षा व्यवस्थाका लागि मन्त्रालयबाट परिपत्र गरी दिन माग राखेकी थिइन् ।

महासङ्घका निवर्तमान अध्यक्ष मीनराज कँडेलले सहकारी संघ संस्थालाई राजस्व तिर्नुपर्दैन जस्ता गम्भीर विषयमा अराजक समूहबाट भ्रम सिर्जना गरेको हुँदा राज्यले तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने कुरामा जोड दिए ।

प्रतिनिधिमण्डलमा महासङ्घका उपाध्यक्ष डिवि बस्नेत, सञ्चालक काशिचन्द्र बराल, महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाको सहभागिता रहेको थियो भने छलफलमा क्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्र ढकाल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाँईले सहकारी क्षेत्रको समस्या समाधानका लागि गर्नुपर्ने विषयमा कुरा राखेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK