×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिष्णु पौडेल आएपछि सेयर बजारमा उछाल, टिक्ला कि के होला ? थाहा पाइराख्नुस् यी पाँच कुरा… (भिडियो ब्रिफिङ) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिष्णु पौडेल आएपछि सेयर बजारमा उछाल, टिक्ला कि के होला ? थाहा पाइराख्नुस् यी पाँच कुरा… (भिडियो ब्रिफिङ) 

Artha Sarokar

२ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

काठमाडौँ । जव अप्ठ्यारो पर्छ मान्छेहरु भगवानलाई पुकार्छन् । कोही हे शिव भन्लान्, कोही हरे कृष्ण भन्लान्, कोही बिष्णु बिष्णु भन्लान् । तर सेयर बजारमा जव सेयर लगानीकर्तालाई अप्ठ्यारो पर्छ, तव लगानीकर्ताहरु बिष्णु बिष्णुमात्र भन्न थालेका छन् । कारण जव विष्णु पौडेल अर्थमन्त्री भएका छन्, तवतव बजारले लय समातेको छ । दिक्दार रुपमा राताम्य भएको बजार बिष्णु पौडेल आएपछि हरियो मात्र बनेको छैन, बजारको माहोल नै सकारात्मक बनेको छ । अव बिष्णु पौडेल आएपछि लगानीकर्ताहरुको मनोविज्ञान सकारात्मक हुने गरेको हो वा, ठ्याक्कै बुल आउने बेलामा अर्थमन्त्रीमा बिष्णु पौडेल आउने भएर हो, जे भए पनि बिष्णु पौडेल र सेयर बजारको नाता यति मिठो हुन थालेको छ कि, मात्र बिष्णु पौडेलको अर्थ मन्त्रालयको कमाण्ड लगानीकर्ताका लागि ज्वरो आउँदाको सिटामोल बन्ने गरेको छ ।

र त न अर्थतन्त्रमा केही ठुलै चलायमानताको हलचल, न देशको आर्थिक स्थितिमा कुनै परिवर्तन । मात्र सकारात्मक भएको लगानीकर्ताको मनोविज्ञानले बजारमा उछाल देखिएको छ । हुन पनि, आखिर सबै मन र मनको विज्ञान न रहेछ । जव मनले अव विष्णु आए, यिनले नराम्रो त केही गर्दै गर्दैनन् सेयर बजारमा, सकेसम्म राम्रो गर्छन् भन्ने मनोविज्ञान हाबी भयो, त्यसपछि त बजारले उछाल गति लिएको छ । लामो समयदेखि घटेर, अझ उदेकलाग्दो साइडवेजमा गएको बजार लयमा फर्किएको छ । बिष्णु पौडेल अर्थमन्त्रीका रुपमा आउने चर्चाले केही दिन गज्जबसँग बढेको बजारमा एक दिन करेक्सन आउनु स्वाभाविक हो । संयोग नै मान्नुपर्छ, यसपाली अर्थमन्त्रीको पदभार ग्रहण भएकै दिन बजारमा करेक्सन आयो । कति त यहीँनेर आत्तिएका पनि थिए । तर आत्मविश्वास भन्ने यस्तो चीज हो, जो आयो कि आयो आयो । आखिर लगानीकर्ताको हकमा पनि त यस्तै भयो । र त, मंगलबार पनि बजारमा यति गज्जबको बढोत्तरी देखिएको कि, सेयर लगानीकर्ताहरु भनिरहेका छन्, विष्णु, विष्णु, जय बिष्णु

यसो त अर्थमन्त्रीको रुपमा पदभार ग्रहण गर्ने क्रममा पनि बिष्णु पौडेलले सेयर लगानीकर्ताको आत्मविश्वास बढाउने काम गरेका छन् । सेयर बजार अर्थतन्त्रको ऐना भएको बताउँदै उनले लगानीकर्ताको मनोविज्ञानलाई बल दिए । कुनै बेला डाक्टरी गरेका तर सेयर बजारमा लगानीकर्ताले कमाएको देखि नसहने एक पूर्व अर्थमन्त्रीले सेयर बजारलाई जुवाघर भनिदिएका थिए । तर पौडेलले सेयर बजार जुवाघर नभएर अर्थतन्त्रको मुख्य ऐना रहेको बताएर लगानीकर्ताको घाउमा मल्हम मात्र लगाएका छैनन्, बरु पोर्टफोलियो घटेर ज्वरो आएका लगानीकर्तालाई औषधिमुलो गरिदिएका छन् ।

पौडेलले शेयर बजारलाई सन्तुलित तरिकाले सकारात्मक बनाउँदै लैजानेमात्र बताएनन्, बरु सेयर बजारको बिकास र र विस्तारका लागि सरकार आवश्यक रणनीतिहरु बनाइ कार्यान्वयन गर्न प्रतिवद्ध रहेकोसमेत बताएका छन् । बजारमा द्केहिएका चुनौति समाधान गर्दै अघि बढ्ने उनको प्रणले लगानीकर्ताको आत्मविश्वासमा थप प्राण भरिदिदा मंगलबार सेयर बजारको साँढे यसरी उफ्रियो कि मानौँ उ अर्थमन्त्री आएको विजय उत्सव मनाउँदै थियो ।

अर्थमन्त्री पौडेल यतिमा मात्र रोकिएनन् । धेरैको शंका यतिबेला मौद्रिक नीति कस्तो आउने हो वा मौद्रिक नीतिले बजारमा कस्तो असर गर्ने हो भन्ने पनि छ । लगानीकर्ताको यो शंकाबारे बुझेका अर्थमन्त्री पौडेलले आफ्नो र गभर्नरको सम्बन्ध निकै राम्रो भएको, ट्युनिङ्ग मिलेको जवाफ दिएर, अव जे आउँछ गज्जब आउनेवाला छ भन्ने सन्देश पनि दिए । यसले सेयर बजारका लगानीकर्ताहरुलाई थप उत्साह थपिदिएको छ । जसको परिणाम मंगलबार सेयर बजारमा देखिएको छ ।

यसो त यसअघि पनि अर्थमन्त्रीका रुपमा पौडेल बहाल रहँदा सेयर बजारले निकै राम्रो फड्को मारेको थियो । पहिलोपटक अर्थमन्त्री हुँदा विष्णु पौडेलको कार्यकालमा बजार ६८१ अंकले बढेको थियो । पौडेल बिदा भएपछि माओवादीका तर्फबाट कृष्ण बहादुर महरा अर्थमन्त्री भए । उनको कार्यकालभर कुल १६५ अंकले बजार घट्यो । डाक्टर युवराज खतिवडाले अनुत्पादक क्षेत्र भनिदिएका कारण सेयर बजार सुस्ताएका बेला पनि बिष्णु पौडेलको इन्ट्रीले बजारलाई बढोत्तरीतर्फ लग्यो । परिणाम खतिवडापछि बिष्णु पौडेल अर्थमन्त्री बन्दा सेयर बजारले अल टाइम हाई अर्थात ३२०० नजिक पुग्यो । पौडेलपछि अर्थमन्त्रालयको कमाण्ड सम्हालेका जनार्दन शर्माको पालामा बजार ९५४ अंकले घट्यो । यो बेला बजार बुलबाट बियारिसको यात्रामा लागेकाले पनि लगानीकर्ताले उनको पालामा राम्रै घाटा ब्यहोर्नुपर्यो । त्यसपछि बिष्णु पौडेल पुनः अर्थमन्त्री बने । बजारदृष्टिले हेर्दा कुल ३९ कारोबार दिनसम्म मात्र टिकेको उनको कार्यकालभर बजार कुल १५६ अंकले बढेको थियो । हरेकपटकजसो पौडेल आउँदा सेयर बजार बढेकै हुनाले पनि, उनी सेयर लगानीकर्तामाझ प्रिय छन् ।

यसपटक माओवादीका तर्फबाट अर्थमन्त्री बनेका बर्षमान पुनले पनि सेयर बजारलाई राम्रो गर्छु भने पनि उनी बोले केहि गरेनन् । न गभर्नरसँगको ट्युनिङ गतिलो देखियो, न उनले आफ्नो ठाउँबाट केहि पहल नै गर्न सके । बरु लगानीकर्तालाई फकाएजस्तो गरेर आफ्ना मान्छे धितोपत्र बोर्डमा हुल्न खोजेका उनको सो प्रयास त विफल भयो नै, उनकै बजारविरोधी हर्कतका कारण धितोपत्र बोर्डले अहिलेसम्म पनि नयाँ अध्यक्ष पाउन सकेन । समग्रमा भन्दा बर्षमानका पालामा धितोपत्र बोर्ड अनिर्णयको बन्दी बन्यो ।

यति हुँदै गर्दा धेरैको प्रश्न छ, बिष्णु पौडेल आउँदैमा सेयर बजार किन बढ्छ ? वा कति बढ्छ ? प्रश्न जति गम्भीर छ, यसको जवाफ उति नै सजिलो छ ।

१. एक त बिष्णु पौडेलले उधुम राम्रो केही नगरे पनि बजारलाई बिगार हुने काम केही गरेका छैनन् । र त सेयर बजारमा उनको छवि निकै राम्रो छ । सके बिष्णुले राम्रै गर्छन्, नसके पनि नराम्रो गर्दैनन् भन्ने लगानीकर्ताको मनोविज्ञानका कारण उनी सेयर बजारमा प्रिय छन् ।

२. उनी सेयर बजारको संवेदनशीलता बुझेका अर्थमत्न्री हुन् । सेयर बजारका बारेमा उनी मनपरी बोल्दै हिड्दैनन् । समस्या सुनेर त्यसको समाधन खोज्ने उनको बानीले पनि उनलाई सेयर लगानीकर्ताहरुले रुचाएका छन् ।

३. उनी मन्त्री बन्दा मिठा संयोगहरु हुने गरेका छन् । जस्तै उनी अर्थमन्त्रीको रुपमा आउने हल्लाले बजार बढ्न थाल्नु, आएको भोलिपल्टबाट बजारले राम्रो लय लिनु यसका उदाहरणहरु हुन् । र त धेरैले उनलाई लक्की अर्थमन्त्रीका रुपमा पनि लिएका छन् ।

४. उनी अरु अर्थमन्त्रीभन्दा बढी अनुभवी छन् । सेयर बजारलाई बिकास र विस्तार गर्ने कुरा उनले राम्रोसँग बुझेका छन् । अर्थतन्त्र चलायमान बनाउनुको विकल्प छैन भन्ने बुझेका उनी व्यवसायीहरुप्रति पनि सकारात्मक छन् । यी कारणले पनि उनी अर्थमन्त्री हुँदा देशका सेयर लगानीकर्ताले दुखी हुनु नपर्ला भन्ने सन्देश जवर्जस्त स्थापित भएको छ ।

५. अव उनले धितोपत्र बोर्डमा छिट्टै अध्यक्ष नियुक्त गर्न पहल गर्नेछन् । अर्थमन्त्री उनी भएका कारण बजारमा बोर्ड अध्यक्षको खुलमखुला आर्थिक बोलकबोल नहोला भन्ने आशामा लगानीकर्ता छन् । यसअघि राष्ट्रिय भाउजुहरुले अन्तराष्ट्रिय घुस खानेगरी धितोपत्र बोर्डलाई लिलामीमा राखेको तथ्य घामजस्तै छर्लंग छ । बिष्णु पौडेलले यो हदसम्म खुलेआम मनपरी हुन दिंदैनन् ।

हो, अर्थमन्त्रीसमक्ष जरुर थुप्रै चुनौती छन् । राजस्व संकलन आशातित छैन । पुँजीगत खर्चको हरिबिजोग छ । तर, चुनौतीका चाङ अगाडी उनी काम गर्छु भन्ने विश्वासमा अडिग छन् । गर्न मात्र खोज्ने मान्छे लिडर भएपछि काम आधाउधी त भईनै हाल्छ भन्ने आत्मविश्वासले लगानीकर्तामा थप आशाको संचार थपिदिएको छ ।  तर, फेरी यसो भन्दैमा अव त अर्थमन्त्री बिष्णु पौडेल हुँदा बजार घट्दै घट्दैन, पोर्टफोलियो त बढेको बढ्यै, पैसा कमाउने नै यहि बेला हो भन्ने भाष्यचाहिं सहि नहुन सक्छ । बिष्णु पौडेल अर्थमन्त्री भएकै कारण जुन पनि सेयर ब्यापक बढ्ने भन्ने हुँदै होइन । अर्थमा पौडेल भएकै कारण मात्र बजार बढ्ने पनि होइन । उनी त मात्र आत्मविश्वास हुन् । त्यसैले अव त पूरै बुमबुम हो, जस्तो पत्रु कम्पनी किने पनि कमाउने हो भन्ने भाष्यको पछाडी लागियो भनेचाहिं त्यस्ता लगानीकर्ता आखिर डुब्ने नै हो ।

अहिले सेयर बजारमा ३ थरी बियर ग्याङ्ग हाबी छ । जसलाई बिष्णु पौडेल अर्थमन्त्री आएको मन परेको छैन । त्यस्तालाई सेयर बजार बढेको त झनै मन पर्दैन । त्यस्ता दुखी आत्माहरु यहीं तल कमेन्टमा पनि मडारिन सक्छन् । सामाजिक संजालमा उनीहरुको रोइलो बिजोग रमाइलो पारामा चलिरहेको छ । उनीहरु भनिरहेका छन्, बजारको चुरीफुरी दुईचार दिनको हो । अर्कोथरी फेरी यस्ता छन्, जसले बिष्णु पौडेलको नाम भजाएर आफुले किनेको पत्रु स्टक भिडाउने काम गरिरहेका छन् । अव त बजार सिधै ३००० हो, अझ ६००० हो भनेर आफुले किनेर कतै नबिकेको स्टकलाई भिडाउने काम ती लगानीकर्ताहरुका नाममा कलंकहरुले गरिरहेका छन् । त्यसैले सेयर लगानीकर्ताहरु यी दुई खाले दुखीआत्माहरुबाट जोगिन आवश्यक छ ।

सेयर बजार बुझ्नेलाई सधैं सुन्दर छ । नबुझ्नेलाई बुलमा पनि तिनका गति बिजोग थियो, छ र हुनेछ । ३२०० मा छिर्नुपर्छ भन्ने र १८०० मा किन्नु नै हुँदैन भन्ने त्यस्ता घाटा खान ठिक परेका मान्छेहरुको संगतमा लगानीकर्ताहरु सचेत हुन आवश्यक छ । बेला मौका चिने सेयर बजार पैसा कमाउने राम्रो थलो हो भन्ने कुरामा कुनै शंका नै छैन । 

अर्थमन्त्री बिष्णु पौडेललाई सफल कार्यकालको शुभकामना । बुलमन्त्रीको ताज रहिरहोस्, शुभकामना । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी