×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारमा बुल सुरु भयो, छानेर सेयर किन्नेहरुका लागि अवसर नै अवसर छ’- छोटेलाल रौनियार (अन्तर्वार्ता) 

GLOBAL IME BANK

‘सेयर बजारमा बुल सुरु भयो, छानेर सेयर किन्नेहरुका लागि अवसर नै अवसर छ’- छोटेलाल रौनियार (अन्तर्वार्ता) 

२ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार सेयर बजार ५४.०४ अंकले बढ्यो । सेयर लगानीकर्ताको मनोवैज्ञानिक बिन्दुका रुपमा लिइएको २२०० बिन्दुलाई तोडेको बजार बुधबार २३६४.६३ बिन्दुमा पुगेको छ । योसँगै ‘सेयर बजारमा बुल सुरु भएकै हो त ?’ भन्ने बहस छेडिएको छ । खासगरी अर्थमन्त्रीमा लगानीकर्ताले रुचाएका बिष्णु पौडेलको इन्ट्री, बैंकको ब्याजदर घट्नु, मौद्रिक नीतिप्रति गभर्नर लचिलो हुने संकेत देखिनु, र अर्थमन्त्री र गभर्नरबीचको ट्युनिङ मिल्नु लगायतका कारणले बजारको मनोबल बढाएको छ । यसैबीच हामीले सेयर बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियारलाई ‘सेयर बजारमा बुल सुरु भएको हो ?’ लगायतका प्रश्न गरेका छौँ । प्रस्तुत छ, उनै रौनियारसँग गरिएको कुराकानीको सम्पादित अंश: 

१. सेयर बजारमा ‘बुल’ सुरु भएको हो ?   
बुल सुरु भएकै भन्नुपर्छ । ६-७ पटक २२०० बिन्दुमा पुगेर घटेको बजारले अहिले २२००को मनोवैज्ञानिक बिन्दु तोड्नु भनेकै ठूलो कुरा हो । हरेक दिन बजार बढिरहेको छ, कारोबार रकममा वृद्धि भइरहेको छ । यसअघि ६ अर्ब, ८ अर्बमै सीमित हुने बजारमा आज मात्रै १२ अर्बको कारोबार भएको छ । अर्कोतिर अहिले दुइतिहाईको सरकार बनेको छ । अघिल्लो पटक बजार ३२०० को बिन्दुमा हुँदा जे थियो, अहिलेको परिस्थिति पनि ठ्याक्कै त्यस्तै छ । प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री बिष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । यसले लगानीकर्ताको मनोबल उच्च बनाएको छ । सबै कुरा सकारात्मक देखिइरहेका बेला सेयर बजार पनि सकारात्मक हुनु भनेको बुलको सुरुवात नै हो भन्न सकिन्छ । 

२. अव सेयर बजारको यो बढोत्तरी कायमै रहने कतिको  सम्भावना छ ? 
म त राम्रै सम्भावना देख्छु । राष्ट्र बैंकसँग १३ बिलियन डलर रिजर्भ छ, जुन आगामी १६ महिनासम्मका लागि पर्याप्त छ । इन्फ्लेसन रेट पनि बैंकको ५ प्रतिशत भित्रै छ ।  बजारमा कर्जा प्रवाह बढिरहेको छ ।  पोलिसीप्रति सबै सकारात्मक नै छन्, अर्थतन्त्र पनि राम्रो अवस्थामा छ । यी समग्र कुराले सेयर बजारको बढोत्तरी कायम रहने सम्भावना देखिन्छ । अझ, सेयर बजार र अर्थतन्त्र बुझेको अर्थमन्त्री आउँदा बजार राम्रै बढ्छ जस्तो लाग्छ । 

३. अहिलेको बजार बढोत्तरी कुन उचाईसम्म पुग्ला ? 
अब, ठ्याक्कै यति पुग्छ नभनौँ । तर, दिनप्रतिदिन बजारमा राम्रो कारोबार भएको छ । हिजो धेरै कुरा ‘नेगेटिभ’ थियो, आज सबै कुरा ‘पोजेटिभ’ छ । अर्थतन्त्र पनि राम्रै अवस्थामा छ । प्रधानमन्त्री एमालेको, अर्थमन्त्री एमालेको र गभर्नर पनि त्यही लाइनको भएकोले मौद्रिक नीति पनि राम्रै आउने देखिन्छ । अघिल्लो बुलमा बैंकहरुको ब्याजदर एकल अंकमा थियो, अहिले पनि बैंकहरुको ब्याजदर एकल अंकमै छ । त्यसैले पनि यी सबै कुराहरु पोजेटिभ भइरहेको बेला बजारमा राम्रो बढोत्तरी देख्न पाइन्छ । कहिलेकाहीँ करेक्सन आउला, त्यसलाई सामान्य रुपमा लिँदा हुन्छ । 

४. अहिले सेयर बजारमा लगानी गर्न आत्तिनुपर्ने स्थिति छ ? 
त्यस्तो छैन । अहिले पनि धेरै स्क्रिप्टहरु, धेरै लामो समयदेखि धेरै ‘लो प्राइस’मा छन् नि । राम्रोसँग हेरेर, बुझेर लगानी गर्ने हो भने त अहिले पनि धेरै अवसर छ नि । बजार बढ्न थालेको कति दिन नै भयो र ? त्यसैले आत्तिएर लौ बर्बाद भयो, खत्तम भयो, म छुटेँ भन्नुभन्दा पनि अध्ययन गरेर लगानी गर्दा राम्रो हुन्छ । अहिले पनि बैंकिङ, माइक्रो फाइनान्स, इन्स्योरेन्सहरु सस्तो मूल्यमा पाईराखिएका छन् नि । कतिपय बैंकको मूल्य त २०० भन्दा मुनि छन्, त्यो त आइपिओ भन्दा पनि सस्तो भएन र ? त्यसैले फन्डामेन्टल हेरेर, लो प्राइसका राम्रा सेयर छानेर किन्ने हो भने अहिले पनि अवसर चाहिँ थुप्रै छ ।

५. भनेपछि बजार अझ माथि जाने सम्भावना छ ?

पक्कै छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: