×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोष्ट मर्जर लफडाः नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलन उग्र, केन्द्रीय कार्यालयमै तालाबन्दी ! 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पोष्ट मर्जर लफडाः नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलन उग्र, केन्द्रीय कार्यालयमै तालाबन्दी ! 

सुदर्शन श्रेष्ठ

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारी आन्दोलन उत्कर्षमा पुगेको छ । मर्जरपछि साबिकको मिर्मिरेका कर्मचारीको पद घटुवा गरिएको भन्दै कर्मचारी पुनः आन्दोलित बनेका हुन् । 

७ साउन (मंगलबार)मा शाखा कार्यालयहरुमा तालाबन्दी गरेका नेरुडे मिर्मिरेका कर्मचारीहरुले आज (बुधबार) लघुवित्तको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । कर्मचारीको पद व्यवस्थापनका विषयमा गरिएका माग सम्बोधनमा संस्थाको व्यवस्थापन पक्षले चासो नदेखाएको भन्दै आन्दोलनरत कर्मचारीहरुले काभ्रेपलाञ्चोकस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा ताला लगाएका हुन् । 

अहिले साबिकको मिर्मिरेमा २०७६ सालदेखि कनिष्ठ सहायक ‘ख’ पदमा भित्रिएका २ सय ४८ जना (स्थायीकरार) कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मर्जरअघि उक्त पद खारेज गरेर कर्मचारीको व्यवस्थापन गरिने भनिए पनि मर्जरपछि कनिष्ठ सहायक ‘ख’ भन्दा तल्लो दर्जाको केन्द्र व्यवस्थापक पद सृजना गरी कर्मचारीको मनोबल घटाउने काम भएपछि आन्दोलन गर्न बाध्य भएको संस्थाको केन्द्र व्यवस्थापक पदमा कार्यरत एक कर्मचारीले बताएका छन् । 

‘साबिकको मिर्मिरेका कर्मचारीलाई हेप्ने शैलीमा पद नै घटुवा गरेपछि असार २० गते सीईओलाई ज्ञापन पत्र बुझाएका थियौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती कर्मचारीले भने, ‘साउनको पहिलो साता समस्या समाधान गर्ने भनिएको थियो । तर, आज ८ गते पुग्दा पनि केही नभएपछि केन्द्रीय कार्यालयमा ताला लगाएका छौँ ।’  

त्यस्तै, ती कर्मचारीले आफूहरुको आन्दोलनको उद्देश्य सेवाग्राहीलाई सास्ती दिने नभएर कर्मचारीको अधिकार प्राप्ति रहेको पनि उल्लेख गरेका छन् । 

‘हाम्रो उद्देश्य सेवा ठप्प पारेर सेवाग्राहीलाई दुःख दिने होइन । हामीले माग पूरा गर्न पटकपटक केन्द्रीय कार्यालयमा पत्राचार गरेका थियौँ । तर, माग सुनुवाइमा कसैले चासो नै नदिएपछि आन्दोलन गर्न बाध्य भएका हौँ ।’, ती कर्मचारीले भने, ‘हाम्रो मागप्रति संस्थाले चसो नदिएको भान भयो र मनोबल बढाउनुपर्ने ठाउँमा उल्टै आवाज दबाउन खोज्ने गतिविधि भएपछि बाध्य भएर सेवा ठप्प पारेका हौँ ।’ 

आन्दोलनरत कर्मचारीहरुले मर्जरपछि सृजना गरिएको केन्द्र व्यवस्थापक पद खारेज गर्नुपर्ने, कनिष्ठ सहायक पद सरह नै कायम गरिनुपर्ने, एउटै फिल्डमा सँगै काम गर्ने कर्मचारीबीच विभेदपूर्ण व्यवहार गर्न नहुने लगायतका माग राखेका छन् । ती मागहरु पूरा नभएसम्म सेवा ठप्प रहने र आन्दोलन चलिरहने कर्मचारीहरुले चेतावनीसमेत दिएका छन् ।

हाल नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलनका कारण देशभर सेवा ठप्प भएको छ । सबै शाखाका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेर हड्ताल सुरु गरेपछि लघुवित्तको सेवा प्रभावित भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी