×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ ‘बुक बिल्डिङ’का नाममा कतै ‘स्क्याम’ त होइन ? (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ ‘बुक बिल्डिङ’का नाममा कतै ‘स्क्याम’ त होइन ? (भिडियो ब्रिफिङ)

२५ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

काठमाडौँ । गोल्यान ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई  प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले यही असार २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनेकाले सर्वसाधारणले त्यसको १० प्रतिशत कम अर्थात ८२० रुपैयाँ ८० पैसामा आइपिओ भर्न पाउनेछन् । प्राथमिक सेयर निष्कासन (आइपीओ)को इतिहासमै सबैभन्दा महँगो मूल्य तिरेर लगानीकर्ताले लगानी गर्नुपर्ने यो कम्पनीको सेयरमा न्यूनतम ५० कित्ता भर्नुपर्नेछ । अर्थात यो कम्पनीको आइपिओमा न्यूनतम लगानी गर्न पनि ४१ हजार ४० रुपैयाँ आवश्यक पर्छ ।

अव यति महँगो रकम हालेर रिलायन्स स्पिनिङ मिल्सको आइपिओ भर्ने कि नभर्ने ? यो प्रश्नमाथि निर्णय गर्नुअघि कम्पनीका केही तथ्यबारे बुझ्न आवश्यक छ।

१. कम्पनीअनुसार मूल्य सस्तो, औसत, महँगो, वा धेरै महँगो ?
रिलायन्सको वित्तीय विवरण हेर्दा यो कम्पनीको आइपीओ महँगो मात्र होइन, धेरै महँगो हो । आइपिओ नेप्सेमा सूचीकृत हुँदा कम्पनीको ओपनिङ रेञ्ज अर्थात सुरुवाती कारोबारका लागि अधिक मूल्य ६७० मात्र तोकिनेछ । प्रचलित कानुनी व्यवस्था अनुसार नेप्सेमा पहिलो सेयर कारोबारका लागि ‘ओपनिङ रेन्ज’ प्रतिसेयर नेटवर्थको तीन गुणासम्म दिने गर्छ । मानौँ, कुनै कम्पनीको नेटवर्थ १ सय रुपैयाँ छ भने त्यसको पहिलो कारोबार मूल्य बढीमा ३ सय रुपैयाँमा हुन सक्छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा २२३ रुपैयाँ ५९ पैसा भएकाले यो कम्पनीको पहिलो कारोबारका लागि अधिक मूल्य पनि ६७० रुपैयाँ मात्रै तोकिने छ । अर्थात सावाँ आउन नै सुरुवाती कारोबारबाट १५१ रुपैयाँ सेयर भाउ बढ्नुपर्छ ।
२. किन महँगो भयो कम्पनीको आइपीओको भाउ ?
प्रतिसेयर नेटवर्थको तीन गुणाभन्दा बढी मूल्यमा लगानीकर्ताले आईपीओ भरेको यो नेपाली इतिहासमै पहिलो घटना हो । आइपीओको मूल्य बढी हुनुमा विशेषत: दुई सेटिङले काम गरेको छ । पहिलो नियामक नेपाल धितोपत्र बोर्डमा कम्पनीले गरेको सेटिङ । दोश्रो धितोपत्र बोर्डले नै आँखा चिम्लिने भएपछि संस्थागत लगानीकर्ताको टिमसँग गरिएको सेटिङ । संस्थागत लगानीकर्ताहरुको ‘सेटिङ’मा यो कम्पनीको मूल्य बढी तय गरिएको छ । आइपीओको मूल्य बढी तय गर्न नेपाली व्यापारिक घरानाहरुमध्ये चर्चित घराना गोल्यान ग्रुपका वरपर रहेका संस्थागत लगानीकर्ताहरुलाई सेयर महँगोमा ‘बिड’ गर्न लगाइएको छ । अहिले महँगो मूल्यमा सेयर किन्ने संस्थागत लगानीकर्ताहरुको गुनलाई पुन: अर्को कुनै कम्पनीको आइपीओ आउँदा गोल्यान ग्रुपले यसरी नै महँगो रुपमा सेयर किनेर तिर्नेगरी संस्थागत लगानीकर्ताहरुले ‘सेटिङ’ गरेका छन् । सेटिङको ‘मुख्य मतियार’ नेपाल धितोपत्र बोर्डले यो सब सेटिङबारे आँखा चिम्लिँदा अन्तत: यो कम्पनीको आइपीओको मूल्य ह्वात्तै उचालिएको हो ।
संस्थागत लगानीकर्ताले एकआपसमा मिलेमतोमा मूल्य तोकेको, निष्कासन कम्पनीसँग मिलेमतो गरेको, आवेदनको गोप्य मूल्य पहिले चुहाएर उक्साउने काम बुक बिल्डिङ विधिका सम्भावित बिकृति हुन् । रिलायन्स स्पिनिङ मिल्सको केसमा पनि संस्थागत लगानीकर्ताले हालेको शिलबन्दी आवेदन अनुसार अधिकतम मूल्य ९ सय १२ रुपैयाँ नै ‘कटअफ प्राइस’ हुनुलाई यिनै विकृतिमिस्रित सेटिङको उपज भनेका छन् सेयर बजारका विश्लेषकहरुले ।
एउटा संस्थाले संस्थागतलाई निष्कासित कुल सेयरमा २० प्रतिशतसम्म आवेदन दिन पाउँछ । अर्थात्, कम्तीमा ५ संस्थाको मिलेमतो भए खेल खत्तम । प्रभु क्यापिटल र नेसनल फन्ड म्यानेजमेन्ट कम्पनीले सबैभन्दा धेरै १ लाख १ हजार कित्ताका दरले यस कम्पनीको सेयर ९ सय १२ रुपैयाँमा खरिद गरेका छन् । अव यी दुई कम्पनीमा गोल्यान ग्रुपको मित्रता र कनेक्सन बुझ्न गाह्रो छैन । जसको भार सर्वसाधारण लगानीकर्तामा परेको छ । सार्है बढी मूल्य आउँदा पनि ४०० हाराहारीमा आउनुपर्ने कम्पनीको सेयर अन्तत ८२० रुपैयाँ ८० पैसामा आएको छ ।
३. कम्पनीको वित्तीय अवस्था कस्तो छ ?
छोटोमा भन्दा कम्पनीको वित्तीय अवस्था ‘झुर’ छ । आइतबारमात्र प्रकाशित कम्पनीको पछिल्लो वित्तीय विवरण हेर्ने हो भने पनि कम्पनीको बिजोग स्थिति छताछुल्ल हुन्छ । कम्पनीले सार्वजनिक गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार रिलायन्सले चैतसम्म २ करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९२ करोड ७८ लाख २१ हजार रुपैयाँ रहेको थियो । झन्डै ९३ करोड नाफा उत्तानोटाङ परेर २ करोडमा सिमित भएको छ । अझ, जानकारहरुको दाबी छ, महँगोमा पैसा उठाइसकेपछि यो कम्पनी कन्फर्म घाटामा जान्छ । कारण, अहिले यति नाफा देखिएको पनि कम्पनीले तिर्नुपर्ने दायित्व नदेखाएर आएको नाफा हो ।
कम्पनीको नाफाभन्दा कयौँ गुणा बढी रकम त कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता छ । रिलायन्सले प्राधिकरणलाई उद्योगलाई ३३ केभी खनारबाट डेडिकेटेड फिडर मार्फत विद्युत् आपूर्ति दिएवापतको रकम र त्यसमा लाग्ने ब्याज गरेर झन्डै अर्व बढी रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यो रकम कुनै पनि बेला तिर्नुपर्ने हुनसक्छ । त्यसो भएको खण्डमा कम्पनी झन् कमजोर हुने निश्चित छ । कम्पनीले अहिले तिर्दैनौँ भनेपनि अन्तत: यो रकम तिर्नुपर्ने स्थिति आउने सम्भावना बढी छ । स्वयम् कम्पनीको बुझाई पनि जनताबाट पैसा उठाएपछि यो रकम तिर्न समस्या नहुने भन्ने छ ।
अझ खास कुरो त रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँबाट घटेर २.०८ रुपैयाँ कायम भएको छ । यस्तो आम्दानी अव जनताबाट रकम उठाईसकेपछि नेगेटिभ जाने अनुमान सेयर बजारका जानकारहरुको छ । कारण कम्पनीले बल्ल बल्ल नाफामा देखाएको वित्तीय विवरणमा पनि थुप्रै ठाउँमा छेडखानी गरिएको छ ।
अझ नेप्सेले त बुक बिल्डिङ विधिबाट आउने कम्पनीहरुको हकमा सर्वसाधारणले हाल्ने मूल्यलाई नै ओपनिङ रेञ्ज तय गर्नेगरी कानुन संसोधनको तयारी गरेको थियो । तर, रिलायन्स स्पिनिङ मिल्ससँगको सेटिङमा उसलाई नै फाइदा हुने ‘बदनियत’ राखेर यस्तो निर्णय हुन लागेको खबर बाहिरिएपछि अख्तियार लाग्ने डरले नेप्से यो निर्णयबाट पछि हटेको थियो ।
४. वित्तीय विवरणमा चरम छेडखानी, नाफा घट्दो, अपत्यारिलो प्रक्षेपण
कम्पनीले आईपीओ ल्याउनकै लागि आफ्नो वित्तीय विवरण वास्तविकता भन्दा धेरै बढाइचढाइ गरेर फुलबुट्टा भर्न खोजेको प्रष्ट देखिन्छ । बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्नकै लागि कम्पनीले प्रक्षेपण वास्तविकता भन्दा धेरै राखेर विवरणपत्र सजाउन खोजेको प्रष्ट देखिन्छ ।  कम्पनी दिनानुदिन उँधोगतिमा छ । गत आर्थिक बर्ष अर्थात २०७९/८० मा कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको विवरणपत्रमा देखिन्छ । एकै वर्ष करिब ८८ करोडबढी नाफा गिरावट देखिन्छ । यो उँधोगति अझै रोकिने छाँटकाँट छैन । स्वयम् कम्पनी पनि मन्दीका कारण कम्पनीको स्थिति कमजोर भईरहेको स्वीकार्छ । लोडसेडिङ र मन्दीलाई दोष दिएर कम्पनी यसका कारण नाफा कम भईरहेको बताईरहेको छ । लोडसेडिङमात्र होइन, बक्यौता नतिरे कम्पनीको बिजुलीको लाइन नै काटिने अवस्था छ, जुन विगतमा पनि काटिएकै थियो ।
मन्दी त नेपालमा मात्र होइन विश्वबजारमै केहि बर्ष हट्ने स्थिति देखिन्न । यहि आंकडालाई तथ्यको चस्माले हेर्दा पनि कम्पनीको भविष्य अन्धकार रहेको कुरामा कुनै शंका छैन । चालु आर्थिक बर्षको ९ महिनामा जम्मा २ करोड ६३ लाख नाफा कमाएको यो कम्पनीले आगामी आर्थिक बर्ष अर्थात २०८१/८२ का लागि ६२ करोड ७३ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । एक वर्ष अवधिमै नाफामा यति भारी बढोत्तरी असम्भव छ । अर्थात, सोझा लगानीकर्ताहरुको आँखामा छारो हाल्न नै कम्पनीले मनपरी ढंगले वित्तीय विवरणमा छेडखानी गरेर अस्वाभाविक प्रक्षेपण गरेको प्रष्ट छ । त्यसमा सिए सापले सहिछाप गरिदिएका छन् । स्मरण रहोस्, यो कम्पनीको प्रक्षेपण रिपोर्टमा सहि गर्ने सिए अमन उप्रेती सिएहरुलाई नियमन गर्ने संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को उपाध्यक्ष हुने लाइनमा छन् ।
आइक्यानको उपाध्यक्ष नेपाल धितोपत्र बोर्डको संचालक समितिको सदस्य हुने व्यवस्था छ । अनि यिनीहरुलाई कसले छुने ? कसले रोक्ने ? हुन त आइक्यानमा यस्तो प्रक्षेपण गर्ने सिएलाई कारवाही गरीपाउँ भनेर उजुरीसमेत परेको छ । तर, कस्ता कस्ता ‘ब्लन्डर’मा त कारवाहीको डण्डा नचलाउने आइक्यानले यो केसमा सफाईको गङ्गाजल छर्किने कुरामा कुनै शंका रहेन । अनि अन्तिममा मुर्ख को बन्छ ? उही सेयर भर्ने लगानीकर्ता ।
गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा २ रुपैयाँ ८ पैसा छ । तर, कम्पनीले आगामी आव अन्त्यसम्म प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा रहने प्रक्षेपण गरेको छ, जुन असम्भव छ । तर यस्तो हावादारी प्रक्षेपणमा सिएले सर्टिफाई गरिदिएका छन् भने धितोपत्र बोर्डले आँखा चिम्लिएको छ । बोर्डमा यो कम्पनीको आइपीओ रोक्न पटक पटक उजुरी परेपनि ‘घुसले डकारेर बसेको’ आरोप लागेको धितोपत्र बोर्डले कसैका कुरा सुनेको छैन । बरु सबैको आईपीओ रोक्ने निर्णय भएका बेला सुटुक्क रिलायन्सलाई मात्र आइपीओको स्वीकृति दिएको छ । रिलायन्सले आइपीओको स्वीकृति पाएपछि पुन: सबैको आईपीओ प्रक्रिया रोकेको छ । यसले पनि यो कम्पनीको आईपीओ जनतालाई महँगोमा भिडाउन कुन हदसम्मको सेटिङ छ भन्ने बुझ्न गाह्रो छैन ।
५. कम्पनीको व्यापारको स्थिति आखिर कस्तो छ त ?
यो समाचार तयार गर्नुअघि हामीले कम्पनीको सुनसरी जिल्लामा रहेको कम्पनीको धागो कारखाना अवलोकन गरेका छौँ ।  यो कम्पनीले उत्पादन गर्ने धागो नेपालमा मात्र होइन विदेशमा पनि निरियात हुन्छ । मलेसिया, टर्की, युनाइटेड अरब इमिरेट्स (यूएई), बेलायत, इटालीमा ७ वटा बिक्री एजेन्टसँग सम्झौता गरेर कम्पनीले व्यापार गरिरहेको भए पनि कुल उत्पादनको करिब ६० प्रतिशत उत्पादन भारतमा खपत हुने गरेको स्वयम् कम्पनीको दाबी छ । तर पछिल्लो समय मन्दीका कारण व्यापार सुस्ताएको छ । कम्पनीको वित्तीय विवरणमा पनि कम्पनीको उँधोगति देख्न सकिन्छ ।
सरसर्ती हेर्दा उद्योग चलिरहेको छ, तर पूरापूर कम्पनी भने घाटामा जाने प्रष्ट देखिन्छ । सियो पनि बन्दैन भन्ने देशका लागि धागो निर्माण गरिरहेको कम्पनीलाई ठुलै राहत दिनेगरी सरकारले अग्रगामी निर्णय वा सुविधा दियो भने फरक कुरा, नत्र यो कम्पनी घाटामै गईरहने देखिन्छ ।
यसो त कम्पनीले केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको छ । यसले एएए देखि डीसम्मको रेटिङ प्रदान गर्दछ । जसमा एएएले सबैभन्दा सबल स्थितिलाई जनाउँछ भने डीले सबैभन्दा कमजोर स्तरलाई जनाउँछ । ए माइनस रेटिङले कम्पनीलाई औसत राम्रो जनाउँछ । तर रेटिङ कम्पनीसँग पनि कम्पनीले सेटिङ गरेको आरोप जानकारहरुको छ । मनलाग्दी ढंगले जनतालाई फसाउने काम भएको भन्दै लगानीकर्ताका विभिन्न संगठनहरुले नेपाल धितोपत्र बोर्ड, नेपाल प्रहरी लगायतका निकायमा पनि उजुरी दिएका छन् ।
रिलायन्सले कुल जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर मात्रै सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । सर्वसाधारण समूहबाट ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर संस्थागत लगानीकर्ताले पाएका छन् । बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९ सय ६० कित्ता सर्वसाधारणलाई भिडाउन लागिएको छ । यो सब थाहा पाएका स्थानीयहरु यो कम्पनीको आइपीओविरुद्ध मौन विद्रोह गर्ने तयारीमा छन् । (भिडियो)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी