×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारको अबको लय कता ? बैंकिङमा बुल आउन लागेको हो ? (भिडियो ब्रिफिङ) 

LAXMI SUNRISE BANK
GLOBAL

सेयर बजारको अबको लय कता ? बैंकिङमा बुल आउन लागेको हो ? (भिडियो ब्रिफिङ) 

४ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । बजार १६०० मा आउला र सस्तोमा सेयर उठाएर बिन्दास कमाउँला भन्ने भालु ग्याङका ‘दुखी आत्मा’हरुलाई लोप्पा खुवाउँदै बिहीबार पनि बजारले नयाँ बिन्दु समाएको छ । कारोबार रकम १५ अर्ब बढी भएको बजारमा लगानीकर्ताहरुले पैसा छापेनन् मात्र, पुरानो बाजेको पेडा पसलको पेडा भन्दा मिठो बुलिस बजारको स्वाद लिएका छन् । हरेक रातपछि दिन पक्का आउँछ भनेर सुनौलो बिहानीको स्वागतमा पर्खिरहेकाहरुले शुभ-विहानीको प्रभातकालीन आनन्द लिएजस्तै, बियरिस बजारमा सेयर बटुलेर राख्नेहरुले पोर्टफोलियोमा हात्तीहरुलाई स्वागत गरिरहेका छन् । साउनमा सारीचुरा मात्र होइन, पूरै पोर्टफोलियो हरियो भएर लगानीकर्ता हर्षित छन् । घटेका बेला बजार घट्ने मात्र आस गरिरहनेहरुलाई यसपटक पनि राम राम मात्र भन्न सकियो ।

बिहीबार बजार बढ्यो, यसै पनि लगानीकर्ता खुसी । कारोबार रकमले महिनौँपछि इतिहास रच्यो, लगानीकर्ता त्यसै पनि खुसी । अझ यी दुई खुसीमाथि थप खुसी त्यो बेला थपियो, जुन बेला धेरैपछि बैंकको सेयरले सर्किट हान्यो । बैंकको पनि पालो आउला र ? वा बैंकको कहिले पालो आउला ? भनेर लाहुर गएको पतिदेवलाई कुरेजसरी कुरिरहेका लगानीकर्ताले आज धेरैपछि बैंकको सेयरले सर्किट हानेको देखे । बैंक त बढ्दै बढ्दैन भन्नेहरुको मुखमा बुझो लाग्नेगरी बैंकको सेयर मूल्यमा भएको बढोत्तरीले एकातर्फ अव लगानीकर्ता बैंकतर्फ पनि आकर्षित भए भन्ने देखाएको छ भने अर्कोतर्फ बैंक पनि बढ्छन्, फण्डामेन्टल कम्पनीका पनि दिन आउँछन् भन्ने पुष्टि गरेको छ । सँगै केही सेयरहरुमा, वा केही सेक्टरहरुमा बुल अलि अगाडि नै सकीईसकेको हो कि भन्ने विश्लेषण भईरहेका बेला खेलाडी नै पनि बैंकमा प्रवेश त गरेनन् भन्ने भानसमेत भएको छ ।

हो, बिहीबार नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरुको शेयरमूल्य बढेको छ । बैंकिङ उपसमूहको परिसूचक उच्च दरमा बढेको मात्र छैन, केही बैंकको सेयर भाउले त सर्किट नै समेत हानेको छ । थप केही बैंकहरुको सेयर सर्किट लेबलमा कारोबार भएको छ । भुइँमैजसरी भाउ आएको कम्पनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरले सर्किट हानेको छ । कुमारी बैंक र प्रभु बैंकको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । 

यसो त अनुभवी लगानीकर्ताहरु पनि बैंकको सेयर किन्ने बेला आएको तर्क गर्छन् । यो बर्ष लाभांश धेरै बैंकले दिन नसके पनि दीर्घकालीन रुपमा बैंकको सेयरले राम्रो प्रतिफल दिने लगानीकर्ताहरुको तर्क छ । सेयर गुरुका रुपमा परिचित अग्रज लगानीकर्ता सुबास चन्द्र भट्टराईको तर्क पनि यस्तै छ । उनी बैंककै सेयर किन्नु दीर्घकालीन रुपमा बुद्धिमतापूर्ण काम हुने तर्क गर्छन् ।

यसो त बैंक भन्दैमा कमजोर बिकास बैंकतिर ओहो यो पो बढेको छ भनेर किन्नु घातक हुन सक्छ । कमजोर कम्पनी सिन्धु बिकास बैंकलाई सर्किट लेभलमा कारोबार गराएर केही सेयर खेलाडीहरुले सोझा लगानीकर्ताहरुलाई भिडाउन गरेको प्रयास बुधबार नेपाल राष्ट्र बैंकले सो बैंकलाई कारवाही गरेपछि तुहिएको छ । हरेक बर्षजस्तो केहीकेही काण्डमा मुछिईरहने, ठुला ब्रान्चहरुमा करोडौंको घोटाला भईरहने सिन्धु बिकास बैंक संकटमा परेको तथ्य बाहिरिएको छ । राष्ट्र बैंकले कारवाही गरेपछि अव यो बैंकले न नयाँ निक्षेप लिन पाउँछ, न शाखा विस्तार नै गर्न पाउँछ । राष्ट्र बैंकले कुनै पनि बैंकलाई टेकओभर गर्नुअघि गर्ने यस्तो कारवाही भोगेको सिन्धु बिकास बैंकलाई खेलाएर करोडौं कमाउने दाउ गरेका केही खेलाडीहरुको पछि लाग्दा केहि साना र सोझा लगानीकर्ताहरु टोपी लागेको पत्तो पाएपछि तनावमा छन् । अघिल्लो बुलमा पनि धेरै लगानीकर्ताहरुलाई टोपी लगाएको यो कम्पनीले यसपटक पनि धेरैलाई डुबाएको छ । राष्ट्र बैंकले कारवाही गरेपछि सिन्धु विकास बैंकको शेयर मूल्य सर्वाधिक ४.५७ प्रतिशत घटेको छ । यो त अझ खेलाडीले थामेर मात्र यति घटेको, नभए थप हरिबिजोग हुनेवाला थियो भन्ने तर्क पनि छ जानकारहरुको । त्यसैले सेयर किन्दा कुन खेलाइएको, कुन साच्चै बलियो कम्पनी हो भन्ने पनि ख्याल गरेर किन्नुहोला । नत्र हालत फेरी पनि सबका लागि बुल, आफ्ना लागि खै के खै के जस्तो होला नि  ।

बजार यति बेला बुलको पूर्वार्द्धमा छ । यो बेला राम्रो राम्रो कम्पनीमा लगानी गर्नेले नै जित्ने हो । पत्रु कम्पनी जति बढेपनि दिन सकिए भन्दै बैंकको सेयरमा खेलाडीहरु पनि लागिसके भन्ने बुझ्न गाह्रो छैन । भलै, तपाईंको पैसा, तपाईंको पोर्टफोलियो, तपाईंकै लगानी, घाटा भए घाटा पनि तपाईंको, नाफा भए नाफा पनि तपाईंको भएकाले सोचेर बुझेर आफैं निर्णय लिनुहोला । हाम्रो उद्देश्य पनि बैंकमा कमाइन्छ वा बैंकमा कमाइन्न भन्ने होइन, बरु राम्रा कम्पनीमा कारोबार गरे, दिन अवश्य आउँछ भन्ने हो । (भिडियो) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी