Skip to content
LAXMI SUNRISE BANK

अमरेश सिंहले नाम लिएका सबै सेयरका भाउ घट्यो

अर्थ सरोकार

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभाको बैठकमा सेयर बजारबारे बोलेको भोलिपल्टै बजारमा ‘बिग करेक्सन’ आएको छ । उनले सोमबारको संसद् बैठकमा सेयर बजारबारे अभिव्यक्ति दिएका थिए, मंगलबार बजार १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा पुगेको छ । 

अझ सिंहले नामै तोकेर अस्वभाविक उचालिएको भनेका तीन कम्पनीको सेयर मूल्यमा मंगलबार नेगेटिभ सर्किट लागेको छ भने नेपाल हाइड्रो डेभलपर्सको सेयर नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

सांसद सिंहले संसद्मा नेपाल फाइनान्स, हाथवे इन्भेष्टमेन्ट, एनआरएन इन्फास्ट्रक्चर र नेपाल हाइड्रोपावर डेभलपर्सको सेयर मूल्यमा चलखेल गरेर अस्वभाविक उचालिएको भन्दै ती कम्पनीको सेयर मूल्यबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन र कारबाही गर्न सरकारसँग माग गरेका थिए । उनले यस्तो भनेकै भोलिपल्ट अर्थात मंगलबार चारवटै कम्पनीको सेयरमा भारी गिरावट आएको छ ।

मंगलबार सिंहले नाम तोकेको नेपाल फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । मंगलबारको बजारमा १९३.८० रुपैयाँले घटेर नेपाल फाइनान्सको सेयर मूल्य १७४४.८० रुपैयाँमा झरेको छ । 

त्यस्तै, हाथवे इन्भेष्टमेन्टको सेयर मूल्यमा पनि १७८.१० रुपैयाँले घटेर नेगेटिभ सर्किट लागेको छ । हाल हाथवेको सेयर मूल्य १६०२.९० रुपैयाँमा झरेको छ । त्यस्तै, सांसद सिंहले नाम तोकेमध्येको एनआरएन इन्फास्ट्रक्चरको सेयर मूल्यमा पनि नेगेटिभ सर्किट लागेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य १०९.९० रुपैयाँले घटेर ९८९.१० रुपैयाँमा पुगेको छ । त्यस्तै, चौथो कम्पनी नेपाल हाइड्रोपावर डेभलपर्सको सेयर मूल्य पनि ७.७४ प्रतिशत अर्थात ५२ रुपैयाँले घटेको छ । 

संसद्मा बोलेकै भोलिपल्ट कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेपनि यी कम्पनीका लगानीकर्ताहरु स्वतन्त्र सांसद अमरेशकुमार सिंहप्रति फायर भएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK