×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजी बजारको वर्तमान अवस्थाबारे सांसद हरि ढकालको धारणा यस्तो, ४ बुँदामा राखे यस्ता कुरा…

LAXMI SUNRISE BANK
GLOBAL

पूँजी बजारको वर्तमान अवस्थाबारे सांसद हरि ढकालको धारणा यस्तो, ४ बुँदामा राखे यस्ता कुरा…

६ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले पूँजी बजारको वर्तमान अवस्थाबारे आफ्नो धारणा राखेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद ढकालले पूँजी बजारबारे आफ्ना धारणा राखेका हुन् । 

उनले बजारबारे विभिन्न ४ बुँदामा आफ्नो धारणा व्यक्त गरेका छन् । यस्ता छन् सांसद ढकालले बजारबारे राखेका धारणाः 

१. हामी सांसदहरुले सेयर बजारका कम्पनीको सेयर मूल्य तोक्ने, असल वा खराब कम्पनी छुट्याउने, बजारका लगानीकर्ताको नाम तोकेर टिप्पणी गर्ने र बजारलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिने काम गर्नु बिल्कुलै उचित हैन । हामीले ऐन नियम बनाउने र त्यसको कार्यान्वयनबारे सरोकार मात्र राख्ने हो । केही सांसदबाट भएको अनुपयुक्त वक्तव्यबाजी खेद व्यक्त गर्दछु । तर बजारमा भईरहेको सर्बसाधारणको लगानीलाई जोखिममा पार्ने गैरकानूनी गतिविधिहरु नियन्त्रण गर्न सरकार र नियमनकारी निकायहरु पनि उत्तिकै चनाखो हुनुपर्नेमा जोड दिन्छु ।

२. बजारको पूँजीकरण र देशको जीडीपीलाई लिएर भइरहेको टीकाटिप्पणी पनि पुरै अप्रासाङ्गिक हो । हाम्रो बजारमा दैनिक कारोबारयोग्य सेयरको मूल्यको आधारमा हिसाब गर्दा झण्डै १७ खर्ब मात्र बजार पूँजीकरण रहेको देखिन्छ । बजारका राम्रा कम्पनीहरुको सेयरको मूल्य अझै धेरै सस्तो र आम सर्वसाधारण लगानीकर्ताले पाँच वर्ष अगाडि किनेको मूल्य भन्दा धेरै कम्पनीको सेयर मूल्य तल रहेकोले अहिले आत्तिनुपर्ने गरी केही भएकै छैन भन्नेमा म सरोकारवाला सबैको ध्यानाकर्षण गराउँछु ।

३. सरकारले पूँजी बजारको सुधार र बिस्तारका लागि धेरै कामहरु गर्नेतर्फ सक्रियता नदेखाएकाले अपेक्षाकृत रुपमा बजारको स्थायित्व कायम हुन नसकेकाले तत्काल त्यतातिर ध्यान दिन आग्रह गर्छु । खासगरी लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहँदा कयौँ कामहरु अवरुद्ध रहि बजारको नियमनमै बाधा परेकाले तत्काल कुनै स्वार्थ समूहबाट प्रभावित नभएको सक्षम, योग्य र स्वच्छ व्यक्ति नियुक्त गर्न माग गर्दछु ।

४. नेपालको पूँजी बजारमा ६३ लाख भन्दा बढी सर्वसाधारणको प्रत्यक्ष संलग्नता रहेको अवस्थामा म तिनै आम सर्वसाधारण लगानीकर्ताको सदिच्छाले सांसद भएको समेत पृष्ठभूमिमा उभिएर सधैँ आम सर्वसाधारण लगानीकर्ताको हित र पूँजी बजारको विकास र बिस्तारका लागि लडिरहने पुनः प्रण गर्दछु । साथै कसैको बहकाउमा नपरी जोखिमको अवस्था विचार गरेर आफ्नै अध्ययन, विश्लेषण र निर्णयले राम्रा कम्पनीहरुमा सुझबुझपूर्ण र आफ्नो  स्वविवेक प्रयोग गर्न आम लगानीकर्ताहरुमा अपील गर्दछु ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी