Skip to content
LAXMI SUNRISE BANK

मातृभूमि लघुवित्तमा ‘गैरकानूनी’ अध्यक्ष !

अर्थ सरोकार

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष लोकराज शर्माले राष्ट्र बैंकको नियम उल्लंघन गरेको पाइएको छ । साविकको किसान लघुवित्त र जालपा सामुदायिक लघुवित्तबीच भएको मर्जरपछि बनेको मातृभूमि लघुवित्तका अध्यक्ष शर्माले राष्ट्र बैंकको नियम उल्लंघन गर्दै दोहोरो नियुक्ति लिएको पाइएको हो । 

राष्ट्र बैंकको एकीकृत निर्देशन २०७९ को संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४ अनुसार एउटा लघुवित्त वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति एकैपटक अर्को इजाजतपत्रप्राप्त संस्था लगायत सहकारी ऐन, २०७४ अन्तर्गत सञ्चालित बचत तथा ऋण सहकारी संस्था तथा बीमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने संगठित संस्था समेतको सञ्चालक, सल्लाहकार वा कुनै पनि पदमा रहन नपाइने उल्लेख छ । 

तर, मातृभूमि लघुवित्तको अध्यक्षसमेत रहेका शर्मा लघुवित्तको अध्यक्ष रहँदाको समयमै नेपाल पेमेन्ट सोलुसन लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालिरहेको पाइएको छ । 

नेपाल पेमेन्ट सोलुसन नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सर्भिस अपरेटरका रुपमा इजाजत पाएको संस्था हो । 

यसो त शर्माको दोहोरो नियुक्तिको विषय शर्मा साबिकको किसान लघुवित्त वित्तीय संस्थाको अध्यक्ष हुँदा पनि उठेको थियो । साबिकको किसान लघुवित्तको अध्यक्ष हुँदा नै शर्मा नेपाल पेमेन्ट सोलुसनको सीईओ बनेका थिए । सोही बेला उनको दोहोरो नियुक्तिको विषयले चर्चामा आए पनि किसान लघुवित्त र जालपा सामुदायिक लघुवित्तबीच मर्जरपछि उक्त विवाद साम्य भएको थियो । 

तर, साबिकको किसान र जालपा सामुदायिक लघुवित्त मर्जर भए मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरिसक्दा पनि शर्माको दोहोरो यथावत् नै छ । 

यता राष्ट्र बैंकले भने शर्माको दोहोरो नियुक्तिका बारेमा राष्ट्र बैंकलाई जानकारी भएको तर दुई संस्थाबीचको मर्जरका कतिपय प्रक्रिया पूरा नभएको अवस्थामा शर्माकाले पदबाट हट्न केही समय माग गरेको जनाएको छ । अर्कोतर्फ केहीले भने शर्मा सीईओ हुनुपूर्व नेपाल पेमेन्ट सोलुसनको सीईओ राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका शंकरप्रसाद आचार्य रहेकोले पहुँचका आधारमा भित्रभित्रै विवाद सल्टाउन खोजिएको आरोपसमेत लगाएका छन् । हाल आचार्य राष्ट्र बैंकको सञ्चालक समिति सदस्य छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK