काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार रातीदेखि लागू हुनेगरि पेट्रोलयम पदार्थको मूल्य घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । त्यस्तै, हवाई इन्धन र एल.पि. ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
योसँगै अब पेट्रोलको मूल्य पहिलो वर्ग (चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज)मा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १६९ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा, दिपायल) मा १७० रुपैयाँ पर्नेछ ।
त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्ग (चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १५७ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा, दिपायल) मा १५८ रुपैयाँ पर्नेछ । पेट्रोलियम पदार्थमा घटेको मूल्य बिहीबार मध्यरातीदेखि नै लागू भइसकेको छ ।