काठमाडौँ । शान्ति बराललाई देखाएर तत्कालीन पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले बन्द गरेको टिकटक खुल्ने भएको छ । टिकटकमा अश्लिलता धेरै भएको, सामाजिक सद्भाव बिगार्ने गतिविधि भएको भन्दै प्रचण्डले बन्द गरेको टिकटक प्रधानमन्त्री केपी शर्मा ओलीले खोल्ने तयारी गरेका हुन् ।
तत्कालीन सरकारले २०८० कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
टिकटक बन्द गर्नुको कारण तत्कालीन सरकारले सामाजिक सद्भाव कायम राख्नु, विकृति कम गर्नु, अश्लिलता नियन्त्रण गर्नु भनेको थियो । तर, प्रचण्ड नेतृत्वको सरकारले उक्त निर्णय गर्नुभन्दा अगाडि २०८० कात्तिक १८ गते माओवादीकी सैनामैना नगरकमिटी सदस्यसमेत रहेकी शान्ति बराललाई पार्टीले टिकटकमा गोप्य अंग देखाएको भन्दै कारबाही गरेको थियो ।
त्यसपछि सामाजिक सञ्जालमा बरालको अश्लिल भिडियो र पार्टीले गरेको कारबाहीले चर्चा पायो । आफैँ प्रधानमन्त्री भएका बेला पार्टीकै नगर कमिटी सदस्यले गरेको हर्कतका कारण चौतर्फी गाली खानुपरेपछि बराललाई पार्टीले कारबाही गरेको ठिक १० दिनपछि अश्लिलताको बाहनामा टिकटक नै बन्द गर्ने निर्णयमा प्रचण्ड पुगेको जानकारहरु बताउँछन् ।
टिकटक बन्द भएपछि अन्य टिकटक प्रयोगकर्ताहरुले तत्कालीन प्रधानमन्त्री प्रचण्डको यो कदम निरंकुश भएको टिप्पणी गरेका थिए । केहीले त प्रचण्ड सरकारले टिकटक बन्द गरेर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक विपरीत कार्य गरेको भन्दै काठमाडौँ लगायतका शहरमा प्रदर्शनसमेत गरेका थिए ।
तर, तत्कालीन प्रचण्ड सरकारले चालेको टिकटक बन्द गर्ने निरंकुश कदम अब सच्चिने भएको छ । सुरुदेखि नै टिकटक खोल्नुपर्छ भन्ने पक्षमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यही साताभित्र टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार टिकटक खोल्नेबारे मन्त्रीस्तरीय निर्णयसमेत भइसकेको छ । उक्त निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछन् र मन्त्रिपरिषद् बैठकबाट आजै टिकटकमाथिको प्रतिबन्ध औपचारिक रुपमा हट्ने स्रोतको दाबी छ ।
हाल नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएको भए पनि टिकटक प्रयोगकर्ताहरले भिपिएन तथा डिएनएसको प्रयोग गरेर टिकटक चलाइरहेका छन् । अहिले प्रधानमन्त्री ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउने भएसंगै उनको चौतर्फी प्रशंसा भइरहेको ।