Skip to content
LAXMI SUNRISE BANK

ग्यालेक्सी फोके टिभिले तिरेन २५ लाख बढी भाडा, घर खाली गराईदिन महानगरमा घरभेटीको निवेदन

अर्थ सरोकार

काठमाडौँ । ग्यालेक्सी फोके टेलिभिजन संचालन गर्ने गोर्खा मिडिया प्रा.लि. ले घर भाडा नतिरेको पाइएको छ । गोर्खा मिडियाले १० महिनादेखिको घर भाडा नतिरेको पाइएको हो । 

उक्त मिडियाले घरभाडा नतिरेपछि घरधनीले  घर खाली गर्न महानगरमा निवेदन दिएका छन् । घरधनी मृगेन्द्रप्रसाद मिश्रका अनुसार २०७७ साल भदौ २५ गते मिडियाका तत्कालीन अध्यक्ष छविलाल जोशीले १० वर्षका लागि मासिक दुई लाख ५० हजार रुपैयाँ घर भाडा तिर्ने गरी सम्झौता गरेका थिए । 

पछि सञ्चालक फेरिएर गितेन्द्र बाबु (जीबी) राईले पुनः सम्झौता गरेका थिए । हाल उनी सहकारी ठगी प्रकरणमा फरार छन् । 

गोर्खा मिडियाले २०८० मङ्सिरसम्म नियमित घरभाडा बुझाउँदै आएको थियो । त्यसयता, मिडियाले घर भाडा बुझाएको छैन ।

घर भाडा नबुझाए पछि घरधनी मृगेन्द्रप्रसाद मिश्रले जेठ १६ गते महानगरपालिकाको वडामा घर खाली गराउन उजुरी दिएका थिए । उक्त उजुरी वडाबाट कार्यान्वयन हुन नसकेपछि साउन २ गते महानगरपालिकामा पठाइएको थियो । त्यसपछि महानगरपालिकाको न्यायिक समितिमा ७ साउनमा घरबेटी वादीका रूपमा राखेर मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएपछि महानगरपालिकाले उक्त घरमा ७ दिनको सूचना टाँसेको थियो । सूचना टाँसे पछि पनि ग्यालेक्सी फोरकेका कोहि पनि सम्पर्कमा नआएपछि पुन: महानगरपालिकाको न्यायिक समिति इजलासले पत्रिकामा सूचना निकाल्न आदेश दिएको थियो ।

यति गर्दा समेत अहिलेसम्म पनि महानगरमा घरभाडा सम्बन्धी छलफल गर्न ग्यालेक्सी फोर केको कोही पनि सम्पर्कमा नआउँदा घरधनी चिन्तित भएका छन् । ग्यालेक्सी फोर केले १० महिनाको कुल २५ लाख बढी घर भाडा तिर्न बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK