×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकमा चोरीको प्रयास, ‘चोरले गेट फुटाए, सिसिटिभीको मोनिटर चोरेर भागे’

LAXMI SUNRISE BANK
GLOBAL

कुमारी बैंकमा चोरीको प्रयास, ‘चोरले गेट फुटाए, सिसिटिभीको मोनिटर चोरेर भागे’

१७ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड गर्ने ३ जना पक्राउ परेका छन् । बाजुराको गौमुल गाउँपालिकास्थित बैंकको शाखा कार्यालय तोडफोड गर्ने ३ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका-१ पिनालेखका २३ वर्षीय जनकराज उपाध्याय, वडा नम्बर ७ बस्ने २० वर्षीय किरण बि.क. र वडा नम्बर ४ ओलेना बस्ने २० वर्षीय सन्देश नाथ रहेका छन् । 

उनीहरुले चोरी गर्ने नियतले बैंकको शाखा कार्यालयमा तोडफोड गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, शाखा कार्यालयमा तोडफोड भए पनि कुनै क्षति नभएको बैंकका शाखा प्रबन्धक शितल रावतले बताएका छन् । रावतका अनुसार बैंकको शाखा कार्यालयमा राती करिब २ बजेको आसपासमा तोडफोड भएको थियो । 

‘चोरीमा संलग्नहरु रातीको करिब २ बजे बैंकभित्र प्रवेश गरेको देखिएको छ । उनीहरु बैंकको मूल गेटकै ताला फोडेर बैंक छिरेका हुन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका ब्रान्च मेनेजर रावतले भने, ‘तर बैंकमा अन्य केही पनि क्षति भएको छैन । चोरले सीसीटिभी क्यामेराको फुटेज देखिने मोनिटर भने लगेका छन्, अन्य केही पनि क्षति भएको छैन ।’  

बैंकमा सुरक्षा गार्ड चाहिँ थिएनन् ? भन्ने हाम्रो प्रश्नमा ब्रान्च मेनेजर रावतले रातिको समयमा बैंकमा सुरक्षा गार्ड नराख्ने गरेको बताए । ‘बैंकमा एकजना गार्ड बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बस्नुहुन्छ । त्यसपछि भने बैंकमा सुरक्षा गार्ड हुँदैनन् ।’, उनले भने, ‘रातीको समयमा सीसीटिभीबाटै हेडअफिसले मोनिटर गर्छ । सिसिटिभीले काम गरेन वा बैंकमा त्यस्तो केही गतिविधि देखियो भने हेडअफिसबाटै अलर्ट गराइन्छ । तर त्यस दिन भने केही खबर आएन ।’ 

हाल बैंकको शाखा कार्यालय तोडफोडमा संलग्नलाई पक्राउ गरी चोरी कसुर अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरुले बैंकको शाखा कार्यालयसँगै सोही गाउँपालिकास्थित अन्य ४ वटा पसलमासमेत चोरीको प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी