×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामको प्रेसरले बैंकरमा बढ्दैछ हृदयघातको जोखिम, फेरी अर्का बैंकर अस्ताए 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कामको प्रेसरले बैंकरमा बढ्दैछ हृदयघातको जोखिम, फेरी अर्का बैंकर अस्ताए 

Artha Sarokar

१८ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंकका कर्मचारीको निधन भएको छ । महालक्ष्मी बैंकका कार्यरत ३२ वर्षीय महेश अधिकारीको असोज १६ गते (बुधबार) निधन भएको हो । 

उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार अधिकारी बुधबार दिउँसो बैंकमै थिए । बैंकमै हुँदा उनको स्वास्थ्यमा सामान्य समस्यासमेत आएको थियो । ‘अफिसमै हुँदा उहाँले पेट दुख्यो, अप्ठ्यारो भयो भन्नुभएको थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै स्रोतले भन्यो, ‘तर, त्यसबेला उहाँ अस्पताल जानु भएन । काम धेरै छ, सकेर जाउँला भन्नुभयो ।’ 

अफिस टाइम सकेर घर पुगेका अधिकारीलाई झनै गाह्रो भएपछि घर नजिकैको अस्पताल लगिएको थियो । तर, अस्पतालमै उनको निधन भएको स्रोतको भनाई छ । 

यसो त पछिल्लो समय हृदयघातका कारण मृत्यु हुने बैंकरको संख्या बढ्दो छ । यसअघि सिटिजन्स बैंकका डेपुटी सीईओ पारश काफ्ले पनि हृदयघातका कारण निधन भएको थियो । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स अफ नेपाल (बिफिन)को कार्यक्रमका लागि म्यानेजमेन्ट टिमसहित श्रीलंका गएका काफ्लेको जेठ २० गते (आइतबार) हृदयघातका कारण श्रीलंकामै निधन भएको थियो । 

अर्कोतर्फ केही महिनाअघि एनएमबि बैंकको तिनकुनेस्थित शाखामा काम गर्ने एक कर्मचारीको पनि हृदयघातकै कारण निधन भएको थियो । अफिसमा काम गर्दागर्दै हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको थियो । 

यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी पनि काम गर्दागर्दै हृदयघातका कारण ढलेका थिए । बैंकमा कामको प्रेसर र हाकिमले बढी टर्चर दिएपछि हृदयघात हुँदा ढलेको बताउने ती कर्मचारी दोलखाका हुन् । हृदयघातपछि उपचारका लागि काठमाडौँ ल्याइएका ती कर्मचारी उपचारपछि पुनः काममा फर्किएका छन् भने उनलाई टर्चर दिने हाकिमले बैंक नै छोडेका छन् । 

हृदयघातका कारण बैंकरको निधन भएको यी प्रतिनिधि घटना हुन् । कामको अत्याधिक प्रेसर, आरामको कमी, दैनिक कसरत गर्ने समयको अभाव र अस्वस्थ खानेकुराका कारण बैंकरमा हृदयघातको जोखिम उच्च रहेको चिकित्सकहरुलेसमेत दाबी गर्दै आएका छन् । बैंकमा मुटुरोगीहरु बढेपछि चिकित्सकहरुले बैंकरलाई नियमित स्वास्थ्य जाँच गर्न र कामसँगै स्वास्थ्य र खानपानमा पनि ध्यान दिन सुझाव दिएका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी