काठमाडौँ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको शासन छल्न चाहनेलाई विश्व यात्राको प्याकेज घोषणा गरिएको छ । फ्लोरिडाको एक ट्राभल कम्पनीले ट्रम्पको कार्यकालभर (४ वर्ष) पानीजहाजमा विश्व यात्रा गर्न सकिने प्याकेज ल्याएको हो ।
उक्त प्याकेज ट्रम्पको विजयी घोषणा भएपछि नोभेम्बर ७ देखि नै कार्यान्वयनमा आएको उक्त ट्राभल कम्पनीका सीईओ मिकेल पिटरसनले बताएका छन् ।
पिटरसनका अनुसार उक्त प्याकेज अमेरिकामा राष्ट्रपतिको चुनाव हुनुअघि नै घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयी घोषणासँगै ट्रम्पको कार्यकालभर देशमा बस्न नचाहनेहरुलाई लक्षित गरेर उक्त विश्व भ्रमणको प्याकेज ल्याइएको पिटरसनले बताएका छन् ।
उनका अनुसार यात्रा अवधिभर पानीजहाज विभिन्न १४० देशका ४२५ बन्दरगाहमा रोकिनेछ । पानीजहाजमा विश्व भ्रमण गर्न चाहनेहरुका लागि विश्व यात्राको प्याकेज शुल्क न्यूनतम १ लाख ६० हजार डलर (हालको विनिमय दर अनुसार २ करोड १५ लाख ७७ हजार ६ सय नेपाली रुपैयाँ) रहेको बताइएको छ ।