×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमान हटाउने व्यवसायीको दाउ, घिसिङलाई देशको अर्थतन्त्रको चिन्ता (भिडियो विश्लेषण)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कुलमान हटाउने व्यवसायीको दाउ, घिसिङलाई देशको अर्थतन्त्रको चिन्ता (भिडियो विश्लेषण)

Artha Sarokar

२९ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । कुनै समय यस्तो थियो, दशैं आउँदा के खुसी हुन्थे र बच्चाहरु, जति खुसी बेलुकी बत्ती आउँदा हुन्थ्यो । सिलिङमा रहेको बत्ति झ्याप्प बलेपछि केटाकेटीहरु, आयो, आयो भनेर यसरी चिच्याउँथे, मानौं उनीहरुलाई लाखौँको चिठ्ठा परेको छ र चिट्ठाको पैसा दिने मान्छे घरमै आएको छ । गरिखानेहरुलाई पनि उस्तै गाह्रो थियो । देशमा लोड सेडिङ चलिरहँदा केटाकेटीले पढ्न पाएनन्, गरिखानेले अवेरसम्म काम गर्न पाएनन्, होटल रेष्टुरेन्ट चलाउनेले ब्याट्री, इन्भर्टर र जेनेरेटरमा मोटो रकम खर्च गर्नुपर्यो, काम गर्छु भन्ने जनताले काम गर्न पाएनन् । पाए त चोरहरुले बिजनेश पाए, प्राधिकरणका तत्कालीन हाकिम र नेताहरुले इन्भर्टर व्यापारीबाट कमिसन पाए, नेताहरुले तिनै लोड सेडिङ माफियाहरुबाट घुस पाए, विपन्न बर्गले दुख पाए । र सबैले बुझ्नुपर्ने तथ्य के छ भने जनतालाई अँध्यारोमा राखेर यहि बेला केहि ठुला उद्योगहरुले २४ सै घण्टा बिजुलीको उपभोग गरिरहेका थिए ।

तर बस्, एउटा सहि मान्छे सहि ठाउँमा पुग्दा लोडसेडिङ केहि महिनामै निमिट्यान्न भयो । हो, कुलमान घिसिङ्ग नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुनेबित्तिकै देशले उज्यालो मुहार पायो । दिनमा १८ घण्टा बत्तीको सेडुल हेरेर पढेको पुस्ताले भनेको लोडसेडिङको भोगाई अहिलेको केटाकेटी पुस्ताले नपत्याउनेजस्तै भएको छ । नेता र हाकिम मिलेर लुटी लुटी बिजोग बनाइएको नेपाल विद्युत प्राधिकरण अहिले अरवौं नाफामा छ । र हिसाब खोज्दै जाँदा देखियो यस्तो पनि कि, जनतालाई अँध्यारोमा राखेर ठुला उद्योगीहरुले चलाएको बिजुली वापतको रकम ठुला उद्योगीहरुले तिरेकै रहेनछन् । र कुलमानले सोहि बक्यौता रकम असुल गर्न खोज्दा अहिले ती व्यापारीहरु कहिले नेताको दैलो पुगिरहेका छन्, कहिले शक्ति केन्द्रहरुमा भैलो खेलिरहेका छन् । सरकार तिनै उद्योगीले चलाएझैँ भान हुनेगरी सरकार पनि जनतालाई अँध्यारोमा राखेर सिमित व्यापारीले चलाएको बिजुलीको पैसा नतिर्दा पनि उनीहरुकै पक्षमा चलिरहेको छ । र त देशमा यस्तो भईरहेको छ, कुलमान बक्यौता तिर भनेर लाइन काट्छन्, उद्योगी तिर्नुपर्दैन भनेर ढाँटछन् । लाइन काटिएको १० दिनसम्म उनीहरुलाई खासै केहि फरक पर्दैन । कारण, १५-२० दिनसम्मका लागि उनीहरुलाई व्यापार गर्ने स्टक हुन्छ । जव स्टक सक्किदै जान्छ, तव उनीहरुको रुवाबासी सुरु हुन्छ । त्यसपछि सरकारले फेरी बिजुली जोडिदिने निर्णय गर्छ र उर्जा मन्त्री स्वयम् अध्यक्ष हुने प्राधिकरण बिचराको पात्र हुन्छ र लाइन जोडीदिन्छ ।

र यसपाली पनि यस्तै भएको छ । कुलमानले बक्यौता तिर्न आउनु भनेको कुरा नटेरेपछि उद्योगीको लाइन काटिएको थियो । तर बक्यौता तिर्नुभन्दा सरकारलाई गुहार माग्न सस्तो र सहज पर्ने भएपछि उद्योगीहरु सरकारसँग हारगुहार गर्न गए र सरकारले फेरी बिजुली लाइन जोडिदिने निर्णय गर्यो । तर यो लाइन जोड्ने र काट्ने लुकामारीले नेपाल विद्युत प्राधिकरणलाई भने थिलोथिलो बनाएको छ । अझ सिधा भन्दा कुलमान आउँदा जस्तो बिजोग थियो प्राधिकरणको, फेरी त्यस्तै बनाउने प्रपन्च भईरहेको छ ।

आजकल त पैसा नतिरेर बिजुली बत्तीको लाइन काट्न कसैकहाँ गयो भने जनताहरु हामीले हजार तिर्न नसक्दा के बिजुली काटेर पुरुषार्थ देखाउँछौ बरु उद्योगीहरुको अरवौं रुपैयाँ उठाएर देखाउ भन्दै बचन लगाउन थालेका छन् । नमाने हातपातमा उत्रन थालेका छन् । प्राधिकरणका कर्मचारीलाई पनि जनताले बोलेको कुरा सहि नै हो जस्तो लाग्छ र लागेको छ । अनि उनीहरु, लाइन नकाटी फर्कन्छन् । कतिपय ठाउँमा जवार्जस्ती लाइन काट्न खोज्दा प्राधिकरणका कर्मचारीहरुले कुटाइसमेत खाएका छन् । यसले प्राधिकरणको बिजुली भुक्तानी जनताकै तहमा घटेको छ । छन पनि जनताको तर्कमा दम छ । उद्योगीहरुले नचाहेर नतिरेको बिजुलीको पैसा नउठाउने अनि जनताले नसकेर नतिरेको पैसाचाहिं असुल्न खोज्ने ? यो तर्कशील तर्कका बीच अहिले प्राधिकरण तहसनहस हुने अवस्थामा छ । बुधबारको पत्रकारसम्मेलनमा त कुलमानले सार्है बुझिनेगरी प्राधिकरणको यो स्थितिका बारे सविस्तार बोलिदिएका छन् ।

पछिल्लो समय कुलमानलाई गलत देखाउन र आफुले तिर्नुपर्ने अरवौं रुपैयाँ नतिर्न ठुला उद्योगीहरुले मिडिया ट्रायलसमेत गरिरहेका छन् । कुलमानले गलत गरे भन्ने लेख्न बोल्न लगाएर आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । केहि मुठीभरका मिडियाहरु बिज्ञापनदाताको नुनको सोझो गर्ने बहानामा कुलमानको उछितो काटिरहेका छन् । तर, सत्य यहि हो, उद्योगीहरुले पैसा तिर्नुपर्छ, र सो रकम प्राधिकरणले उठाएरै छोड्नुपर्छ । कतिपयले कुलमानले पठाएको बिल नै फर्जी भएको अफवाह फैलाईरहेका छन् । जवकि उनले पठाएको बिल सत्य हो र उद्योगीको बक्यौता बाँकी छ भन्ने तथ्य सबैजसो ठाउँबाट प्रमाणित भईसकेको छ ।

अहिले एउटा तप्का जसरी पनि कुलमान घिसिङ्गलाई नेपाल विघ्युत प्राधिकरणबाट हटाउन चाहान्छ । कसैलाई कुलमानलाई हटाएर आफ्नो मान्छे राख्नुछ, कसैलाई कुलमान हटेपछि इन्भर्टर र व्याट्रीको पूरानो व्यापारमा फर्केर करोडौं कमाउनुछ, कतिलाई तिनै व्यापारीबाट घुस असुलेर काठमाडौँमा घर बनाउनुछ, कतिपयलाई कुलमान हटाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नुछ । रिलायन्सजस्ता उद्योगीलाई कुलमानलाई घुँडा टेकाएर विद्युत बक्यौता नतिर्नु छ र जनताबाट महँगो मूल्यमा आइपीओ भन्दै पैसा उठाउनुछ । त्यसैले पनि कुलमानलाई जनताको साथ चाहिएको छ । व्यापारीको पन्जामा सरकार चल्दोरहेछ भनेर देशलाई सरापेर देश छोड्नेहरुलाई फर्काउन पनि, माफियाहरुलाई थर्काउन पनि, देश बिकासका लागि पनि, समाधानको निकासका लागि पनि अहिले कुलमानलाई जनताको साथ चाहिएको छ । र कुलमान स्वयमले यसको आशय प्रकट गरिरहेका छन् ।

सरकारले किन लाइन जोड्यो, यो जनताले बुझिसके । बक्यौता तिर्न भन्दा नेतालाई चन्दा दिन सस्तो पर्छ भन्ने व्यापारीको मनोविज्ञानबारे पनि जनतालाई चेत भईसक्यो । तर कुलमान जसरी पनि बिजुलीको बक्यौता उठाएरै छोड्छु भनेर लागेका छन् । सायद यो युगले नेपालभूमिमा कुलमानजतिको कर्मशील मान्छे पाउन गाह्रो छ । तयसैले पनि उनलाई जनजनले साथ दिन आवश्यक छ । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी