×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुल भनेर ‘बाछो’ बनाउनेसँग EXCLUSIVE अन्तरवार्ता, नेप्सेले स्वीकार्यो झुट, लाखौँको भ्रष्टाचार ! (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुल भनेर ‘बाछो’ बनाउनेसँग EXCLUSIVE अन्तरवार्ता, नेप्सेले स्वीकार्यो झुट, लाखौँको भ्रष्टाचार ! (भिडियोसहित)

Artha Sarokar

२३ कार्तिक २०८१, शुक्रबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । बच्चै हुँदा तपाईंहरुमध्ये कति जनाले बनाएको नेपालको नक्सा सम्झेर अहिले भित्रैबाटो हाँसो छुट्छ ? पक्कै पनि धेरैको छुट्छ होला । अहिले केटाकेटीहरुले नेपालको नक्सा बनाएको भनेर पूर्व र पश्चिमको सिमाना सम्झंदै हाँसो उठ्नेगरी अचम्मको नेपालको नक्सा बनाएको देखेर तपाईं हामी धेरै पटक हाँसेका छौँ होला । अझ नक्साको कुरा छोडौं, भर्खर सकिएको तिहारमा बनाएको सेलरोटी कुनै देशको नक्साको जस्तो कतिजनाको भयो होला ? सेलरोटी कहिल्यै नबनाएको मान्छेले टिकटकमा अरुको देखासिखी गर्दा धेरैको सेलरोटी, सेल हो कि रोटी हो कि, फुर्यौला हो कि नै कन्फ्युज हुनेजस्तो पक्कै भयो होला । त्यस्तै रमाइलो नेप्से तिर पनि भएको छ । नेप्सेले बनाउन खोजेको बुल बाछोजस्तो भएपछि अहिले यसको चौतर्फी आलोचना भएको छ । नेप्सेमा राखिएको बुल चार्जिङ बुल हुनुपर्थ्यो । अर्थात त्यो बुलको संकेत अव बजार बढ्दैछ भन्ने खालेको हुनुपर्थ्यो । बुल देख्दै भित्रैबाट जोश आउने खालको हुनुपर्थ्यो । तर त्यो नेप्सेमा राखिएको त्यो कथित बुलको अनुहार त यस्तो बन्यो, मानौं त्यो अनुहार हेर्दा त श्रीमतीले भर्खर कुटेर भाँडा माझ्न लगाएकी श्रीमान् पनि हाँस्छ होला ।

त्यो बुल नामको केटाकेटी बाछोको अनुहार यसरी बिग्रिएको छ कि मानौँ, त्यो बुल नै सेयर बजारमा चुर्लुम्म डुबेर नेप्सेलाई पुच्छर फर्काएर, रिसाएर बसेको छ । हामी सबैलाई डुबाउने नेप्से यहि हो भन्दै नेप्सेको मूलढोका तिर पिठ्यु फर्काएर रिसाएर बसेको छ । नेप्सेमा बुल बनाउने ठेकेदारले टन्न पैसा लिएर बुलको ठाउँमा आधा बाछो, आधा के के जस्तो जोकर मुर्ति बनाईदिएपछि अहिले यो बुलको चौतर्फी आलोचना भईरहेको छ । अझ बुल बनाउँदा बाछो बनेको रमाइलो त छँदै छ, लगानीकर्ताले घाटामा समेत कमिसन तिरेको पैसामा भएको यो हदसम्मको भ्रष्टाचार गम्भीर बहसको विषय बनेको छ ।

करिब १४ महिना लगाएर तयार पारिएको यो कथित बुलको अनुहार नपरेको तस्विर अर्थ सरोकारले सार्वजनिक गरेपछि र यसमा भएको सम्भावित भ्रष्टाचारको कुरा अर्थ सरोकारले पहिलोपटक उठाएपछि अहिले यो विषय चर्चाको विषय बनेको छ । नेप्सेले आँगन सिंगारपटार र यो मुर्ति बनाउन १ करोड ४८ लाख बढी खर्च गरेको छ । सो मध्ये यो मुर्ति बनाउन मात्र ९० लाख हाराहारी खर्च गरेको छ । एक त मुर्ति बनाउनेले लाग्छ भनेको रकमको आधाउधी हाराहारी मात्र पैसा पाउँदा यो बुल बनाउने क्रममा ठुलो रकम भ्रष्टाचार भएको छ भने अर्कोतर्फ लाखौँ रुपैयाँ खर्च गरेर पनि बुल, बुलजस्तो देखिएको छैन । झट्ट बुल हेर्दा ठट्टा, रमाइलो वा मजाक लागे पनि यसभित्र भएको भ्रष्टाचारले नेप्सेको चरित्र उदाङ्गो पारिदिएको छ । यसै पनि भ्रष्टाचारको अखडाको रुपमा सेयर लगानीकर्तामाझ बदनामी कमाएको नेप्सेले आफु नाङ्गो रुप देखाएको छ, बुलका नाममा बाछो बनाएर, र त्यसमा पनि ठुलो रकम हिनामिना गरेर ।

सामान्यतया सेयर बजारमा बुलिस ट्रेन्ड झल्काउन विभिन्न देशमा चार्जिङ बुलको रुपमा साँढेको प्रतिमा राख्ने चलन छ। तलबाट माथि सिङ उज्याएको र आक्रमण गर्ने तयारीमा रहेको , हान्न ठिक्क परेको आँखाको भाव झल्किने र पुच्छरले पनि आक्रमणको शैली देखाउने यो बुलको विश्वभर मानिएको डिजाइन हो । हरेक कुरामा भारत, अमेरिका र चीनको उदाहरण दिने नेप्सेले यो बुल निर्माणमा भने भारत, अमेरिका र चीन हेरेन । अमेरिकासहित धेरै देशहरुमा त्यस्तै चार्जिङ बुल राखिएको देखेन । बरु अरुको जस्तो किन बनाउने, फलानो देशले पनि राँगोको जस्तै बुल बनाएको छ भन्ने बेतुके तर्क दिएर आफ्नो भ्रष्ट अनुहार छेक्ने दुष्प्रयास गरेको छ नेप्सेले ।

नेप्सेको आँगनमा राखिएको साँढेले न सिङ उज्याएको छ, न आँखा र पुच्छरले आक्रमण शैली देखाएको छ । यसले त धोकेबाज प्रेमिकालाई पिठ्यु फर्काएर हिंडेको नौजवानजसरी नेप्सेलाई गिज्याईरहेको छ । कमिसनले बिगारेको दाँत, ङइच्च देखाएर, भ्रष्टाचारीलाई किरा परोस् भनेजस्तो गरेर मुन्टो बटारेर बसेको छ ।

र त चार्जिङ बुलकै बेइज्जत हुनेगरी यस्तो बाछो जस्तो मुर्ति कसले बनायो होला भनेर हामीले खोजी गर्यौँ । यो मुर्ति बनाउने मान्छेचाहिं मुर्ति बनाईरहेकै राम्रै मान्छे रहेछन् । उनले ठाउँठाउँमा राम्रा राम्रा मुर्ति पनि बनाएका रहेछन् । बिगारेकोचाहिं कमिसनको खेलोले रहेछ भन्ने कुरा बुझ्न यो मुर्ति बनाउनेको कुरा सुनेपछि बुझ्न गाह्रो छैन । हामीले यो मुर्तिको काम गरेका, र नेप्सेले ठेकेदारलाई तिरेको भन्दा निकै कम रकम पाएका विष्णुप्रसाद बरालसँग यो मुर्तिबारे उठेका प्रश्नहरु सोधेका छौँ ।

यता बुल भन्दै बनाउँदा भुल भएर बाछो बनेपछि स्पष्टिकरण दिंदै हैरान भएको नेप्सेको कुरा पनि कहिले के, कहिले हुन थालेको छ । हिजोअस्तीसम्म अखबारहरुमा नेप्सेको अगाडी राखिएको मुर्तिले चार्जिङ बुलकै झल्को दिने बताउने नेप्सेका प्रवक्ता मुराहरी पराजुली अहिले सो मुर्ति चार्जिङ बुल नरहेको स्वीकार्न थालेका छन् ।

आफ्नो नाममा कसैले रक्सीको नामाकरण गरेर बजारमा अस्तित्व नै बेच्दा पनि, त्यहि रक्सी दुई पेग लगाएपछि बोल्न छोडेको नेप्से, आफ्नो नाममा कसैले रक्सीको नामको ट्रेडमार्क दर्ता गरिसक्दा पनि आँखा नदेखेको नेप्से अहिले आफ्नो बुल बाछो जस्तो भएपछि हामीले अरुको कपिराइट भएको चीज नबनाएको भन्दै गफ दिनसमेत पछि परेन । तर त्यो बेतुके तर्क कसैले नपत्याएपछि अहिले नेप्से नेप्सेका अगाडी बनेको मुर्ति चार्जिङ बुल नभएको सत्य स्वीकार्न थालेको छ । हुन पनि हो, ढाँटेको कुरा काटेको कतिन्जेल टिक्थ्यो र ?

कुरा बुल बुलजस्तो बनेन भन्ने त छँदै छ, त्यहाँभन्दा बढी गम्भीर विषय बुलका नाममा भएको भ्रष्टाचारमा छ । यो बुल बनाउन ठेकेदारले ९० लाख कोड गरेको कुरा बाहिर आएको छ, तर बुल बनाउनेले त्यसको आधा मात्र रकम पाएको कुरा छ । के यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्दैन ? जनताको पैसामा यो हदसम्मको मनपरी गर्न पाइन्छ ? जे कुरामा पनि कमिसन खाएर हुन्छ ? के यो विषय अनुसन्धानको विषय होइन ? यस विषयमा सम्बन्धित निकाय जाग्न आवश्यक छ । केटाकेटीको खाजाको रकम लुटेर ठेकेदार मोटाएको र केटाकेटी दुब्लो भएको समाचार अलि अघि सुनिएकै थियो, के यसमा पनि ठेकेदार मोटाउने बुल दुब्लाएर बाछो जस्तो हुने भएन र ? यो गम्भीर विषय नोटिसमा लिएर अख्तियारले तत्काल छानविन गर्नुपर्छ । किनकि, जनताले तिरेको करमा कसैको मनपरी क्षम्य हुँदैन, हुनेसक्दैन । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी