×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्ण बहादुरको सारङ्गीले दैनिक करोड बढी कमाउँदै, अर्ब क्लबमा पुग्ने सम्भावना, रुमाल र टिस्यु सटेज ! (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पूर्ण बहादुरको सारङ्गीले दैनिक करोड बढी कमाउँदै, अर्ब क्लबमा पुग्ने सम्भावना, रुमाल र टिस्यु सटेज ! (भिडियो ब्रिफिङ)

Artha Sarokar

३० कार्तिक २०८१, शुक्रबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । अहिले बजारमा सबैभन्दा बढी चर्चा केहि चीजको छ भने त्यो कि त रवि लामिछाने प्रहरी हिरासतमा रहेको कुराको छ, कि त हलहलमा पूर्णबहादुरको सारंगी हेर्ने भीडको छ । फिल्मले दिनानुदिन कमाईमा करोड-करोड थप्दैछ, नेपालमा मात्र होइन नेपाली रहेका धेरै ठाउँमा फिल्म अझै हाउसफुल छ । फिल्मले अहिलेसम्म विश्वभर ५० करोड हाराहारी कमाईसकेको आंकडा छ, जसमध्ये नेपालमा मात्र ३० करोड हाराहारीको कमाई फिल्मले गरिसकेको छ । यसरी नै व्यापार गरिरहने हो भने फिल्मले अर्व हाराहारी कमाउने पक्कापक्कीप्राय छ । फिल्म हेरेर कतिपय नेतालाई त लाग्दो हो, के ७० करोडको काण्डमा परिएछ यार, बरु फिल्म बनाएको भए यति त त्यतै कमाई हुने रहेछ । नेपालमा फिल्मले गरेको कमाईको हिसाब गर्ने हो भने नेपालमा रहेको कुल जनसंख्याको झन्डै २.५० प्रतिशतले फिल्म हेरेको देखिन्छ, जुन नेपाली फिल्मका लागि अभूतपूर्व सफलता हो ।

तिहारको लक्ष्मी पूजा देखि टिकटक पूरै पूर्वबहादुरको सारंगीले कब्जा गरेको छ । जो पनि रोई कराई गरेको, फिल्म हेरेर रोएको, फिल्म हेर्न पुगेको टिकटक यत्र, तत्र, सर्वत्र छ । फिल्म हेर्न उर्लेको भीड हेर्न लायकको त छँदै छ, फिल्म भित्र आफ्नै कथा देखेकाहरु फिल्म हेरेर भक्कानिएका छन्, रोएका छन्, डाँको छोडेर रोई कराएका छन् । फिल्मभित्र आफ्नै कथा देखेपछि दर्शक हलमा ओहिरिएका छन् । अरु बेला नेपाली फिल्म भनेपछि हेर्न नरुचाउनेहरु पनि पूर्ण बहादुरको सारंगी हेरेर सामाजिक संजालमा प्रतिक्रिया दिईरहेका छन् ।

नेपाली फिल्म भनेपछि दर्शक नआएर काउन्टरमा झिंगा धपाएर बस्नुपर्ने काउन्टरवालालाई अहिले पैसा सोहोर्न फुर्सद छैन । निर्माता दिनहुँ नयाँ करोडपति बनिरहेका छन् । फिल्म चलेपछि फिल्म मात्र चलेको छैन, हलभित्र हुने व्यापार पनि ह्वात्तै बढेको छ । पप कर्न काउन्टरमा मकै भुटेर फुर्सद छैन, टिस्यु पेपरको व्यापारसमेत बढेको छ, हल वरपरका कपडा पसलमा रुमाल सर्टेज जस्तै बनेको छ । फिल्म हलमा फिल्म सक्किएपछि पठाओ र इन्ड्राइभको व्यापार त्यस्तै फस्टाएको छ, हल वरपर लाइन लाग्ने ट्याक्सीलाई पनि दशैं लागेको छ । फिल्मको अन्तराष्ट्रिय राइट लिन लुछाचुडी छ । फिल्मले उत्रने संकेत नै नदेखाएपछि र निकै दिनसम्म पनि चलिरहे पछि अरु फिल्मको रिलिज डेट सरेको छ, फिल्म लगाउन खोज्नेहरु आत्तिएका छन् । समग्रमा, पूर्णबहादुरको सारंगीले नेपाली सिने उद्योगमा रेकर्डमाथि रेकर्डमात्र थपेको छैन, बरु सिनेमा, सिनेमा हल, सिनेमा हलसँग सम्बन्धित अन्य व्यापार र सिनेमा वरपरको अर्थतन्त्र नै चलायमान गरिदिएको छ ।

पूर्ण बहादुरको सारंगी यतिसम्म हिट भएको छ कि, अव त पूर्ण बहादुरको सारंगी हेरेको छैन भन्दा पनि समाले बाउलाई माया नगर्ने छोरो भनिदेलान् भन्ने पीर भएको छ । पूर्ण बहादुर अझै हेरेको छैन भनेपछि, कतिसम्म व्यस्त भएको हौ भन्ने स्थिति छ । घरघरमा आमाहरु, छोराछोरीलाई, घरमा श्रीमानलाई सारंगी फिल्म देखाउन लैजानुपर्यो भनिरहेका छन् । पूर्ण बहादुरको सारंगी फिल्म हेर्न गएका कतिपयलाई फिल्मको नामसमेत गतिलोसँग भन्न आएन । अस्ति काठमाडौँको एक हलमा छोरीले आमालाई कुन फिल्म हेर्न आएको आमा भन्दा एक बुढी आमा भन्दै हुनुहुन्थ्यो शेर बहादुरको देउराली । कोहि भन्दै थिए, कांधेकुरी, कोहि भन्दै थिए, सारंगीको छोरो, कोहि भन्दै थिए, बाको सारंगी । फिल्मको समेत नाम थाहा नभएर पनि फिल्मलाई दर्शकले यति माया दिएका छन् कि मानौं अवको युग नेपाली सिनेमाकै हो ।

पूर्ण बहादुरको सारंगीले नेपाली फिल्मप्रतिको आम बुझाईलाई नै सकारात्मक बनाएको छ । नेपाली फिल्म भन्ने बित्तिकै एक जना धनी हिरोइनसँग गरिब केटाको लभ पर्छ, गरिब केटालाई छोरी नदिने बाउ भिलेन हुन्छ, भिलेनले गुण्डा लगाउँछ, हिरोले गुण्डा कुट्छ, र अन्तिममा हिरोले जितेर केटाकेटीको विवाह भई फिल्म सकिन्छ, योबीचमा ४ वटा गीत हुन्छ, तीन वटा फाइट हुन्छ भन्ने भाष्यलाई फिल्मले दरिलो झापड हानेको छ । नेपाली फिल्म भन्ने बित्तिकै ५ वटा हिन्दी फिल्मका टुक्राटाक्री चोरेर बन्छ भन्ने तथ्य गलत सावित गरिदिएको छ फिल्मले । नेपाली फिल्म भन्ने बित्तिकै शो नै नदिने हलवालाहरुलाई पनि तिरिमिरी हुनेगरी व्यापार गरेको छ पूर्ण बहादुरको सारंगीले । नेपाली फिल्म चल्न कि ठुला स्टार नै चाहिन्छ, कि छाडापन चाहिन्छ भन्ने कुतर्कलाई पनि माथ खुवाएको छ फिल्मले । बिजय बराल सुपरस्टार बन्न सक्छन्, नेपाली मौलिक कथामा पनि दरिलो फिल्म बन्न सक्छ, नेपाली कथामा पनि दम छ भन्ने तथ्य फिल्मले स्थापित गरिदिएको छ । फिल्म निर्माणमा कमजोरी हुँदै नभएका होइनन् । तर फिल्ममा मेहेनत गरे, नेपाली माटो सुहाउँदो फिल्म बनाए दर्शकले हेर्ने रहेछन् भन्ने तथ्य पनि चरितार्थ गरेको छ फिल्मले ।

फिल्म क्षेत्रमा फिल्म बनाएरै घरबारी सिध्याएका धेरै छन् । बजारमा कि छक्का पन्जा चल्छ, कि सुपर स्टार चल्छन् भन्ने भाष्यलाई गलत सावित गर्दै पूर्ण बहादुरको सारंगीले रेकर्ड माथि रेकर्ड बनाउँदै गएको छ । फिल्मले यसरी पैसा छापेको छ मानौं, अव नेपालका ठुला व्यापारीहरु पनि आफ्नो व्यापार छोडेर फिल्म बनाउन लाग्लान् भन्ने पीर छ धेरैलाई । नेपालमा १ को ५० रिटर्न आउने व्यवसाय के नै छ र ? करोड लगानी गरेर ५० करोड भन्दा बढी कमाउने भनेपछि अव फेरी पूर्ण बहादुरको सारंगीजस्तै रामबहादुरको पियानो, श्यामबाहादुरको हार्मोनियम, हरि बहादुरको मुरलीजस्ता फिल्मको बाढी नआउला भन्न सकिन्न । जे होस्, पूर्ण बहादुरको सारंगीले नेपाली फिल्म पनि राम्रो बने चल्दो रहेछ, समस्या दर्शकमा होइन फिल्ममा रहेछ भन्ने प्रष्ट पारेको छ । अनि नेपालमा करोडपति बन्न कि घुस नै खानुपर्छ, कि बैंक नै लुट्नुपर्छ भन्नेहरुलाई कलामार्फत पनि राम्रो व्यापार गर्न सकिन्छ भन्ने उदाहरण यो फिल्मले दिएको छ । टीम पूर्ण बहादुरको सारंगीलाई विशेष बधाई । नेपाली फिल्मलाई माया गर्ने सबै दर्शकप्रति आभार, अझ बढी आभार निर्माण र कला टीमलाई जसले पूर्ण बहादुरको सारंगीजस्तो सुन्दर उपहार नेपाली फिल्म नगरीलाई दिएको छ । अनि कामना गरौँ सबै राम्रा फिल्मले यस्तै व्यापार गरुन्, सबै नेपाली फिल्म यस्तै राम्रा बनुन् अनि यसरी नै चलुन् । फिल्म चलेपछि त फिल्ममा छोटो प्लट मिल्यो भनेर नचलेका किताबहरु पनि फस्टाउने रहेछन्, तिनका पनि दिन आउने रहेछन् । नचलेका केहि फिल्मवालाहरुले पनि हाम्रो कथासँग कता कता मिल्यो भनेर भ्युज बढाउन पाउने रहेछन् । हलवालालाई तिहार सकिए पनि दशैं आउने रहेछ, निर्मातालाई आत्मविश्वास आउने रहेछ, कलाकारलाई सन्तुष्टी र बोनस थपिने रहेछ, निर्देशकलाई अफरका ओहिरो आउँदा रहेछन् । एउटा फिल्म गज्जब बन्दा त्यो क्षेत्रको अर्थतन्त्र नै चलायमान हुने रहेछ । निर्माताहरु केहि करोड फ्याक्न तयार हुनेरहेछन् । दर्शक समय निकालेर केहि सयको टिकट काटेर थप केहि सयको पप कर्न खाएर, सयको रुमाल किनेर, थप केहि सयको ट्याक्सी चढेर थप केहि सय खर्च गर्न तयार हुने रहेछन् ।

तपाईंले पनि अझै पूर्ण बहादुरको सारंगी फिल्म हेर्नुभएको छैन भने मिलाएर हलमा जानुहोला । जाँदा एक थान रुमाल वा केहि टिस्यु अवश्य लानुहोला । जाने त केहि सय हो, फिल्मले दिने सन्तुष्टी करोडको छ । सकेसम्म अझ स परिवार जानु होला । अरुको अगाडी रुन सक्दिन जस्तो लाग्छ भने वा लाज लाग्छ भने एक्लै जानुहोला । तर नेपाली फिल्म नगरीमा फूलेको यो सुन्दर फूल हेर्न नछुटाउनु होला । यो कुनै विज्ञापन होइन, फिल्मप्रतिको एक स्वतन्त्र प्रतिक्रिया हो । के थाहा, पूर्ण बहादुरको सारंगीजस्तो फिल्म अर्को नबन्न पनि सक्छ, बनेपनि यसरी नचल्न पनि सक्छ, हामीलाई थाहा नहुन सक्छ ।

पूर्ण बहादुरको सारंगीका निर्मातालाई फिल्मले करोडौँ कमाएकोमा बधाई छ । वितरकलाई उतिकै बधाई छ । केहि लाख लिएर फिल्म खेलेका कलाकारलाई फिल्म हिट भएकोमा, बोनस पाएकोमा र अव आफ्नो पनि रेट बढेकोमा तीन थरी बधाई छ । हलवालालाई सिट भरिएकोमा बधाई छ । पप कर्न नाम दिएर गाउँले मकै भुटेर लाखौँ सोहोर्नेहरुलाई पनि बधाई छ । रुमाल र टिस्यु बेच्नेहरुलाई पनि बधाई छ । हल वरपर ट्याक्सी र पठाओ, इण्ड्राइभ कुदाउनेहरुलाई पनि बधाई छ । केहि बिकेन, केहि चलेन, व्यापार भएन भन्ने मात्र सुनिएको बेला ओहो फिल्मले करोडौं कमायो, अर्व नै कमाउलाझैँ भयो, ओहो रुमाल बेचेरै माग धान्न सकिएन, ओहो हलभित्र मान्छेको बाढीले मकै भुटेरै भ्याइएन, हल बाहिर र हलसम्म मान्छे ओसारेरै भ्याईएन भन्ने सबैलाई बधाई छ । सरकारले उद्योगको व्यवहार नगरे पनि अर्थतन्त्रको एउटा हिस्सालाई चलायमान गरिदिएकोमा सम्पूर्ण फिल्मकर्मीलाई बधाई छ । समग्रमा नेपाली फिल्म नगरीलाई बधाई छ, हामी नेपालीलाई बधाई छ । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी