काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको थियो ।
म्याद थपका विषयमा अदालतमा भएको बहसपछि न्यायधीश चन्द्रकान्त पौडेलको इजलाशले लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र सङ्गठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ ।