काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप गरिएको छ । आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिनको म्याद थप गरेको हो ।
योसँगै लामिछाने अझै १३ दिन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहने भएका छन् ।
सहकारीको रकम अपचलनको मुद्दामा लामिछानेमाथिको अनुसन्धान नसकिएको भन्दै थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको कास्की प्रहरीले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कार्तिक २ गते पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारीको रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।