काठमाडौँ । कुनै बेला प्रचण्डको टाउकोको मूल्य तोक्ने शेरबहादुरले उनै प्रचण्डसंग मिलेर सत्ता चलाएको देशमा खानै जन्मेका दलालहरुको संगठन मिल्यो भन्नु कुनै नौलो कुरा त भएन । र पनि कुनैबेला एकले अर्कोको अस्तित्व नस्वीकारेका दलालका संगठनहरु अव एक दलाल संगठन हुने भएका छन् । ब्रोकर कमिसन घट्नै हुन्न, समयमा पैसा दिनै सक्दैनौँ, नयाँ ब्रोकर आउनै हुन्न भनेर नेपाली सेयर बजारमा रमिता देखाउने सेयर दलालहरुको संगठन स्टक ब्रोकर एसोसिएसन र पूराना दलालहरुका कारण हामीले लाइसेन्स पाएनौं, हामीले खान पाएनौं भनेर रुवाबासी गर्ने नयाँ ब्रोकरहरुको संगठन धितोपत्र ब्रोकर एसोसिएसन मर्ज हुने भएका छन् । दुई फरक संगठन हुँदा एकलौटी नहुने, धितोपत्र बोर्डले पनि मतलब नगर्ने भएपछि, अझ बोर्डका अध्यक्षले भेट्न नै नमान्ने गर्न थालेपछि पूरानो ब्रोकर एसोसिएसनले केहि समय अगाडी नै नयाँ ब्रोकरसँग मिलेर जानुपर्छ भन्दै मर्जरको कार्ड फालेका थिए । तर, त्यतिबेला नयाँ ब्रोकरहरुले पूरानासँग मिल्नु भनेको शत्रुलाई पाहुना लगाउनुजस्तै हो भनेपछि यो कुरा अगाडी बढेको थिएन । तर अध्यक्षले नमानेर के भो ? एमालेको झोला बोकेर हिँडेका नयाँ ब्रोकरका संगठनलाई माथि नै भन्न लगाएपछि नयाँ ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल पनि कन्भिन्सड भईहाले अन्तत: दुई संगठन एक भएर मिलेर खानुपर्ने सर्तमा मर्ज हुने भएका छन् ।
केहि समय अघि नै स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटा र नयाँ ब्रोकरहरुको संगठन धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालबीच संगठन एक बनाउनुपर्ने विषयमा कुराकानी भएको थियो । तर पूरानासँग मिले राम्रो नहुने भन्दै स्वयम् बोर्डका हाकिमहरुले घुमाउरो धम्की दिएपछि यी दुई संगठन एक हुन सकेका थिएनन् । तर बेला बेला ब्रोकर कमिसन घटिरहने देखेपछि र नयाँ अध्यक्ष बोर्डमा आएपछि पुन: कमिसन घट्ने पक्कापक्कीजस्तै भएपछि सो काम रोक्न दुई संगठन एक भएका छन् । सिधा भन्दा काले काले मिलेर खाउँ भाले भन्ने शैलीमा दुई ध्रुबका दुई संगठन अव एक भएका छन् ।
कार्तिकमा कुकुरलाई बैंश चढ्छ, नेताको मति बिग्रन्छ भन्ने उखान पूरानै हो । यसपाली पनि नयाँ ब्रोकर एसोसिएसनका अध्यक्षले मति बिगारेका छन् । नेतृत्व दिने पूराना ब्रोकरहरुको उधारो आश्वासनको आलमा डुबेर उनले बडो मेहेनतका साथ बनेको नयाँ संगठन पूरानालाई जिम्मा लगाएका छन् । अहिलेकै स्थितिमा नयाँ ब्रोकरहरु टिक्न नसकिरहेको बिकराल स्थितिलाई समाधान गर्नु त कहाँ हो कहाँ, उनले त अध्यक्षको धर्म नै छोडेर धर्मलाई आफ्नो पूरा संगठन जिम्मा लगाई दिएका छन् ।
भन्ने उद्देश्य जे सुकै लेखिएको होस्, अव यी दुई ब्रोकर मिलेपछि लगानीकर्तालाई थप घाटा हुने छ । ब्रोकर कमिसन त घट्न दिनै हुन्न भन्नेहरु एक भएपछि आम सेयर लगानीकर्ताहरुलाई अफ्ट्यारो पर्नेछ । सबैलाई थाहा नै छ, अहिले सेयर लगानीकर्ताहरुलाई धेरै ब्रोकरहरुले समयमा पैसा दिन सकिरहेका छैनन् । केहि नयाँले समयमा पैसा दिए भन्ने कुराले तनावमा रहेका पूराना ब्रोकरहरुको संगठनले अर्को संगठन नै आफ्नो बनाएपछि अव सेयर लगानीकर्ताहरुमाझ यो समस्या झन् बिकराल हुनेछ । छिट्टै समयमा पैसा भुक्तानी नहुने समस्याले बिकराल स्थिति निम्त्याउनेछ ।
नेपालमा अहिलेसम्म न इन्स्योरेन्सको मर्जरले राम्रो नतिजा दिएको छ, न बैंकहरुको मर्जरले । अव यस्तो देशमा दलालहरुको मर्जरले जनतालाई राम्रो हुन्छ भन्ने सोच्नु त झन् गलत नै भईहाल्यो । जसले जे तर्क दिए पनि यी दुई दलालहरुको संगठन एक हुँदा मुठीभरका मान्छे बाहेक कसैलाई फाइदा हुने स्थिति छैन र हुँदैन । अलिअलि आश भएको नयाँ संगठनले पनि आत्मसमर्पण गरेपछि अव केहि पुराना ब्रोकरहरुलाई हाइसन्चो भएको छ भने नयाँहरुको थप बिजोग हुने प्रष्ट छ । सँगै यो निर्णयबाट असन्तुष्ट केहि नयाँ ब्रोकरहरुले छुट्टै ब्रोकर एसोसिएसन बनाउने भन्ने तयारीले पनि ढकाल ब्रोकरहरुका नेता कम, एमालेका झोले बढी रहेछन् भन्ने त प्रष्ट पारेकै छ, पूराना ब्रोकरहरुले कुन हदसम्मको राजनीति गर्दारहेछन् भन्ने तथ्य पनि प्रमाणित भएको छ ।
खासमा एक हुनुपर्ने ब्रोकरको संगठनहोइन , सेयर लगानीकर्ताको संगठन हो । एकतामा बल हुन्छ । तर यहाँ त दलालहरुको बल बढ्यो, लगानीकर्ताको मनोबल घटेको स्थिति छ । लगानीकर्ताका संगठन महिनामा एउटा थपिने र दलालहरु मिलेर राज गर्ने स्थितिका बीच नेपालको सेयर बजार फेरी पनि मुठीभरका मान्छेको हातमा रहेको शंकालाई थप बल दिएको छ । समग्रमा जे भयो, बजारका लागि राम्रो भएन । जे हुनुपर्थ्यो त्यो त झनै भएन । लगानीकर्ता एक हुनुपर्थ्यो, टुक्रेको टूक्रेइ छन्, टुक्रेर हजार हुँदै बजार भएर सबैको भलो हुनुपर्ने ठाउँमा दलालहरु एक भएर सोझा लगानकर्तालाई गुमराहमा राख्ने, आफ्नो शासन चलाउने र बजार बिगार्ने स्थिति देखिएको छ ।
हुन त केटाले बेच्नकै लागि बिहेको नाटक गरेर केटी फकाउँदा पनि रमितेहरुले दिने बधाई नै हो । यतिबेला सेयर लगानीकर्तासँग रमिते हुनुबाहेक केहि विकल्प छैन । र त सार्है अप्राकृतिक मर्जरको साक्षी भएर कठै भन्नुको विकल्प छैन आम सेयर लगानीकर्तासँग । बरु दलालहरु मिलेको देखेर सेयर लगानीकर्ताहरुले सबै संगठन मर्जरमा लगेर महासंघ बनाए गज्जब नै हुने थियो कि ! (भिडियो)