Skip to content
LAXMI SUNRISE BANK

‘मनपरी’ गरेको भन्दै कृषि विकास बैंकमा ऋणीहरुले लगाइदिए ताला, दिनभर थुनिए कर्मचारी, ‘सीईओले हालखबरसमेत बुझेनन्’

अर्थ सरोकार

काठमाडौँ । ठूला ऋण नउठाउने अनि साना ऋणीलाई नियम मिचेर दुःख दिने गरेको भन्दै ऋणीहरुले कृषि विकास बैंकमा ताला लगाइदिएका छन् । बिहीबार ऋणीहरुले बैंकको सिराहस्थित लहान शाखामा ताला लगाइदिएका हुन् । बैंककै कर्मचारीको मिलेमतोमा बैंकले प्रक्रिया मिचेर बहुमूल्य जग्गा सस्तोमा लिलाम गरिदिएको ऋणीपक्षको आरोप छ ।

बैंकले आफूहरुलाई जानकारी नै नदिई र प्रक्रियासमेत पूरा नगरी धितो लिलाम गरेको भन्दै उनीहरुले बैंकको शाखा कार्यालयमा तालाबन्दी गरेर नाराबाजी गरेका थिए । उनीहरुले प्रक्रिया मिचेर बैंकले लिलाम गरेको जग्गा फिर्ता नगरेसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

लहान नगरपालिका–२ का रामचन्द्र यादवका अनुसार उनले २०७७ फागुन १५ गते बैंकमा ७ धुर जग्गा धितो राखेर ३० लाख रुपैयाँ ऋण लिएका थिए । हालसम्म उक्त ऋणको साँवा र किस्ता गरी कुल १९ लाख ९२ हजार ७ सय ७३ रुपैयाँ तिरेको यादवको भनाई छ । तर, पनि बैंकले आफ्नो जग्गा लिलाम गरिदिएको यादवको आरोप छ ।

बिना जानकारी करिब डेढ करोड पर्ने जग्गा बैंकले कर्मचारीको मिलेमतोमा ३५ लाखमै लिलाम गरेपछि ऋणीपक्ष आन्दोलित बनेका हुन् । उनीहरुले बैंकमा तालाबन्दी गरेर आन्दोलनको घोषणासमेत गरेका छन् ।

यता बैंकका कर्मचारीले भने प्रक्रिया अनुसार नै जग्गा लिलाम गरेको दाबी गरेका छन् । ऋणीहरुले एक्कासी आएर बैंकमा तालाबन्दी गरेर नाराबाजी गर्न थालेपछि आफूहरु दिनभर बैंकभित्रै थुनिएको बैंकका एक कर्मचारीले बताएका छन् । ‘ऋणीहरु एक्कासी आए, बैंकमा ताला लगाए र नारा लगाउन थाले ।’, ती कर्मचारीले भने, ‘दिनभर बैंकभित्रै थुनियौँ, घटनाको जानकारी केन्द्रीय कार्यालयमा पनि गरेका हौँ तर सीईओ सरले हालखबरसमेत बुझ्नुभएन ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK