काठमाडौं । इसेवा मनी ट्रान्सफरले श्री पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग गरेको छ । कम्पनीले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई सहयोग गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारीहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका हुन् ।
शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, पुस्तकलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्याइने प्रतिबद्धता व्यक्त गरे ।
साथै, विद्यालयका प्रमुख व्यक्तिहरूले ईसेवा मनि ट्रान्सफरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त समेत गरे ।
वि.सं. २०३९ सालमा स्थापना भएको, मुलुकको अति विकट र पिछडिएको जिल्ला बाजुराको त्रिवेणी नगरपालिका-९ मा अवस्थित श्री पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। साथै, सीटीईभीटी बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन् ।