काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका-१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय भवनको उद्धघाटन गरिएको छ ।
विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन मङ्सिर २७ गते उद्धघाटन गरिएको हो ।
उक्त पुस्तकालय उद्धघाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव र बैंकका मधेश प्रदेश-६ का प्रमुख शंकर ढकाल र सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । सो पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका ११ सय भन्दा धेरै विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
यसअघि बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका-१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका-१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका-२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका-३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको उद्धघाटन भइसकेका छन् ।
त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका-१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका-४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल र बाग्मति प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको छ ।
बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल रू. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।