काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडेलले सेयर बजार गतिशिल बनेको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा भएको छलफलका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै समग्र अर्थतन्त्रका सूचकमध्ये सेयर बजार गतिशिल भएको बताएका छन् ।
तर, यत्तिले मात्रै लगानीकर्ताहरु सन्तुष्ट नभएको भन्दै उनले स्वयम् आफू पनि पूर्ण रुपमा सन्तुष्ट नभएको बताएका छन् । ‘समग्र आर्थिक स्थितिमध्ये सेयर बजार लगायत सूचक गतिशिल बनेको छ ।’, अर्थमन्त्री पौडेलले भने, ‘तपाईंहरु सन्तुष्ट हुनुहुन्न । म स्वयम् पनि सन्तुष्ट छैन ।’
त्यस्तै, अर्थमन्त्री पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको पनि बताएका छन् । पछिल्लो समय विगतको भन्दा तुलनात्मक रुपमा अर्थतन्त्रमा केही सुधार देखिए पनि समग्र अर्थतन्त्र दबाबमै भएकाले अर्थतन्त्रको समस्या समाधानमा सरकारले पहल गरिरहेको पनि उल्लेख गरेका छन् ।