काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि सो कम्पनीको सेयर किनेर बसेका, महँगो मूल्य आउँदा पनि बेच्न नसकेका र सर्किट लेभलमा किनेका सेयर कारोबारीहरुले उम्किन नसक्दा यसपाली डुबिएको प्रतिक्रिया दिएका छन् । सो बैंकको सेयर होल्ड गरेर राखेको बताउने केहि ठुलै सेयर खेलाडीहरुले यसपाली उम्किन नसकिएको र पनि हिम्मत नहारेको प्रतिक्रिया दिएका छन् ।
‘बजारमा कहिलेकाहीं यस्तो हुन्छ । गेममा जीत हार हुन्छ नै । राम्रो कम्पनी हो भनेर किनेको पनि होइन, ट्रेड गर्न नै भनेर किनेको हो, यसपाली उम्किन सकिएन । यसमा दु:ख मनाउ गर्नुपर्ने केहि छैन । बजार छँदैछ, अरु सेयरबाट कमाइहालिन्छ नि ।’ कर्णालीको सेयर राम्रै पैसाको होल्ड गरेर बसेका एक लगानीकर्ताले अर्थ सरोकारसँग भने, ‘क्रिसमस मनाउँदैछु, समाचार पनि हेर्दैछु । सँगै किनेका साथीभाइले फोन गरिरहेका छन् नआत्तिन भनेको छु ।’
कारोबार नरोकिए यो सेयरमा अझै चार्म देखिएला त ? भन्ने प्रश्न ती लगानीकर्ताले अव भने बजारमा हल्ला चलेजस्तो वा अरुले खिसिट्युरी गरेजस्तो सो सेयरमा सर्किट लगाउन नसकिने बताए । ‘अव सर्किट लगाउन सकिन्न । कसले रिस्क लिने ? किन रिस्क लिने ? भन्ने हो ।’
नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सो कम्पनीको सेयर कारोबार रोक्का गर्न बिहीबार निर्देशन दिने तयारी गरेको छ । राष्ट्र बैंकले सो बैंकको व्यवस्थापन सम्हाल्न टोली बैंकको केन्द्रीय कार्यालय बाँके पठाईसकेको छ ।