×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आशिका भर्सेस सरकार’, को सही ? को गलत ? (भिडियो) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘आशिका भर्सेस सरकार’, को सही ? को गलत ? (भिडियो) 

Artha Sarokar

१७ माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । टाउकोमा हेलमेट लगाएर सार्वजनिक ठाउँमा पिसाब फेर्न लागिरहेका एक युवालाई आशिकाले भिडियो बनाउँदै थर्काइन् । धेरैका लागि आशिकाले गरेको यो काम गलत लाग्यो होला, तर खुला स्थानमा पिसाब फेर्ने ती मनुवाको तमिज पनि ठिक थिएन । गुट्खा खाएर खोल सडकमै फाल्ने युवालाई उनले भिडियो बनाउँदै गुट्खाको खोल टिप्न लगाइन् । फेरी पनि धेरैलाई आशिकाको यो काम गलत लाग्यो होला, तर गुट्खा खाएर खोल सडकमा फाल्ने काम सही पक्कै थिएन । जनताको करले बनाएको पुलमा हिड्‌न पनि किन २० रुपैयाँ तिर्नुपर्ने ? आगो लगाउने, ठुलो स्वरले कराउने, हप्काउने, दप्काउने आशिकाको कामलाई सोर्है आना सहि भन्न नसकिएला तर उनले उठाएको आवाज पनि सोह्रै आना गलत पक्कै थिएन । हो, प्रहरीलाई उनले टुटेफुटेको, जानेको जति अङ्ग्रेजी बोलेर झपारिन् । बर्दीमा रहेका सुरक्षाकर्मीमाथिको सो हमला सही छँदै थिएन, तर त्यसबापत उनलाई राज्यले जे व्यवहार  गरिरहेको छ, त्यसरी राज्य नै लाग्नुपर्ने अपराध पनि थिएन त्यो ।       

यो देशमा बरु कतिपय युवालाई मन्त्रीको नाम थाहा छैन होला, तर आशिकाको नाम थाहा नपाउने कमै थिए । 

आशिका तामाङ, तपाईंले पनि पक्कै नाम त सुन्नुभएकै होला ! २० रुपैयाँको पानी २५ रुपैयाँमा बेचेको भनेर रिस पोख्ने, हाइवेमा खाना महँगो भयो भनेर कराउने, देशमा थिति भएन भनेर चिच्याउने, अनि यो सब काममा दुईचार युट्युबरलाई साथमा लिएर हिड्ने यो नामसँग अपरिचित सायदै कोही होलान् । आँखामा चस्मा, लामो कोट, पछाडि  झोला र हातमा मोबाइल बोकेर गलत काम भयो भन्दै हिँड्ने आशिका तामाङले कति सही गरिन्, कति गलत त्यसको लेखाजोखा गर्दै गरौँला, तर उनले जे गरेकी थिइन् त्यसले यो देशमा जे गरे पनि हुन्छ भन्नेको सातोपुत्लो उडेको थियो । कालोबजारी, महँगी नियन्त्रण गर्ने सरकारको काम थियो । तर सरकार निकम्मा भएपछि आशिकाले गरेको प्रयासले गलत गर्नेहरु थुरथुर थिए ।

धेरै त नभनौँ, खुला ठाउँमा पिसाब फेर्दा आशिका वरपर छिन् कि भन्ने पीर धेरैलाई हुन थालेको थियो । हाइवेका पसलेहरु सतर्क बनिरहेका थिए । राज्यले गर्न नसकेको काम आशिकाले गर्दा थोरै भए पनि ठाउँठाउँमा थिति बसेको थियो, केहि युट्युबरले कमाई गर्ने मेलो पाएका थिए, टिकटकमा रमाइलो नै भएको थियो, संजालदेखि जन्जालसम्म चर्चा चुलिएकै थियो । तर, उनै आशिका अहिले प्रहरी हिरासतमा छिन् । गौशाला प्रहरीमा १३ दिनको लामो बसाईपछि धरौटीमा छुटेकी तामाङलाई भक्तपुर प्रहरीले फेरि पक्राउ गरेको छ । उनले गरेको कर्मले धेरैलाई हानी गरेको थिएन, तर राज्य नै लागेपछि कसैको केही लाग्दैन भनेजस्तै अहिले राज्यको पूरै संयन्त्र मात्र आशिकालाई थिलोथिलो पार्न लागिरहेको छ ।  

आशिका तामाङलाई प्रहरीको स्वयम्भु वृत्त टोलीले माघ २ गते पक्राउ गर्यो । पशुपति क्षेत्र विकास कोष परिसरमा महिला प्रहरीलाई दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको थियो । पुष २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुष २५ गतेको प्रहरी प्रतिवेदनका आधारमा पक्राउ परेकी उनी सोही मुद्दामा १३ दिनको हिरासत बसिन् । यो सजाय उनले गरेको कर्म र उनलाई कतै न कतै गलत गरिएछ भन्ने भान दिलाउनका लागि काफी थियो । तर ठुलै सहकारी ठगेजसरी, मान्छे नै मारेजसरी, ठुलै काण्ड मच्चाएजसरी, हातमा हतकडी लगाएर उनलाई प्रहरीले ठाउँ ठाउँ पुर्याईरहेको छ । एउटा अदालतले छोडेपछि फेरी अर्को मुद्धामा समाउने काम भईरहेको छ ।   

आशिका तामाङको शैली जरुर ठिक थिएन, होइन । तर अनेक काण्डमा मुछिएका नेताहरुलाई छोड्ने, छोडिने देशमा शहर सुन्दर बनाउनुपर्छ, जथाभावी पिसाव फेर्नु हुँदैन, २० रुपैयाँको पानीलाई ३० रुपैयाँ लिनु हुँदैन भनेर लागेकी एउटी युवतीमाथि राज्य लाग्नु सहि हो र ? शहर सौन्दर्यकरण गर्नुपर्ने सरकारको अनिवार्य काम हो । आशिका तामाङले जथाभावी फोहोर फाल्नुहुँदैन, फोहोर टिपेर डष्टविनमा हाल्नुपर्छ भन्ने जागरण ल्याउंदा के गल्ती गरिन् र ?  खुल्ला स्थानमा शौच गर्नेलाई दण्ड दिनुपर्ने कर्तव्य सरकारको हो । आशिका तामाङले खुल्ला स्थानमा शौच नगर भनेर सचेतना फैलाउँदा के गल्ती गरिन् र ? अधिक मुल्यमा सामान बेच्नेलाइ कारवाही गर्ने अधिकार सरकारको हो। आशिका तामाङले ठग व्यापारीलाई सजग बनाइन । यसमा के अपराध भयो र ? जब सरकार नै नभएको देखेपछि आशिका तामाङ यो समाजमा प्रकट भएर नागरिकको धर्म निर्वाह गरिन त के बिराइन ? हो, यसक्रममा उनको शैली गलत थियो, जुन कुरा स्वयम् आशिकाले स्वीकारेकी पनि छिन् । तर, आशिकाले त्यस्तो जघन्य अपराध के गरिन् ? जो उनको हातमा ठूलै अपराधीलाई जसरी हतकडी लगाउनुपर्ने अवस्था सृजना भयो ? हो, बर्दीका प्रहरीलाई उनले जे गरिन्, त्यो सही पक्कै थिएन । तर के छातीमा हात राखेर यो देशको कुर्सीमा बसेकाहरुले प्रहरी सबै ठिक छन्, भन्न सक्छ ?    

हाम्रो समाजमा यस्ता कयौँ सामाजिक विकृति छन्, जुन राज्यको अनिवार्य दायित्वमा पर्छन् । सडकदेखि शौचालयसम्म कतै राज्य देखिंदैन । आशिकालाई पक्रन न्वारानदेखिको बल लगाउने प्रहरी, खुला ठाउँमा कसैले पिसाब फेर्दा केही भन्दैन । आशिका तामाङलाई जसरी पनि चेताउछु भनेर लागेको राज्य २० रुपैयाँको पानीलाई ३० रुपैयाँ व्यापारीले लिएर ठग्दा कतै देखिंदैन । सडक सफा राखौं भनेर चेतनाका नाममा करोडौं खर्च गर्ने राज्यले गुथ्खा खाएर खोल फाल्नेलाई कहिल्यै समातेको सुनिएन । राज्यले गर्नुपर्ने काम गर्न यी सडक र ठगहरुको अड्डामा आशिका तामाङ पुग्दा राज्यका ठेकेदारलाई लाज लाग्नुपर्ने होइन ? भलै आशिका तामाङको शैली गलत थियो, अपाच्य थियो, सामान्य व्यक्तिका लागि असामान्य थियो। तर, आज यो समाजको विकृति हटाउने अभियान सुरुवात गर्ने नागरिकलाई हप्तौँसम्म थुनेर राख्दा राज्यको जित भएको छैन, बरु राज्यको नालायकपन साबित भएको छ ।

हे सरकार ! अझै पनि आशिका तामाङलाई हतकडी लगाउनु सही लाग्छ भने लगाउ अझै अरु आशिका तामाङहरुलाई हतकडी अनि कोचिदेउ हिरासत नामको खोरमा । अनि छोडिदेउ गिरिबन्धु चियाबारीलाई, शरणार्थी व्यापारीलाई, अर्ब अर्ब हान्नेहरुलाई, बलात्कार गर्नेहरुलाई, ललिता निवास, मीनभवन र वाइडबडीहरुलाई । यो देशमा समातिनुपरने आशिकाहरु होइनन् अरु थुप्रै नेता छन् । देश लुट्ने जनता चुस्ने फटाहाहरु छन्, देशमाराहरु छन्, भ्रष्ट चोरहरु छन् । तर तिनलाई सलाम ठोकेर आशिकामात्र समाएर राज्यले पुरुषार्थ देखाउँछ भने यो राज्य किञ्चित सही हुनै सक्दैन । किनकि जनतालाई भाषण होइन, २० रुपैयाँको पानीलाई ३० रुपैयाँ लिनेलाई ठाउँको ठाउँ कारवाही गर्ने राज्य चाहिएको छ । आशिका आउन वा प्रधानमन्त्री जनतालाई के मतलव ? होइन र ?    

राज्यले बेलैमा सोचोस्- के आशिका तामाङले जे बोलिरहेकी थिइन्, त्यो गलत थियो ? के त्यो अपराध हो ? देश र देशका जनता बेच्नेहरुलाई राजसी सम्मान दिने अनि एउटा सामाजिक अभियान्तालाई जघन्य अपराधीजसरी हतकडी लगाउने कार्य ठिक भयो ? अहँ, कदापि ठिक भएन । यो सरकारको बलजफ्ती हो । सरकारले शक्तिको दुरुपयोग गरेको हो । यदि ८४ मा सकिन्छौँ भन्ने डरले सरकारले यो सब गरेको हो भने, मुक्त होउ त्यो भ्रमबाट । किनकी यस्तै चल्ने हो भनेचाहिँ ८४ मा तिम्रो पतन पक्का छ। 

राज्य सुध्रिनुपर्छ, आशिका झनै सुध्रिनुपर्छ । प्रहरीलाई गलत देख्ने आशिका र आशिकालाई अपराधी देख्ने प्रहरी दुवै सुध्रनुपर्छ । पिसाब लाग्यो भन्दैमा जहाँ पायो त्यहिं तुर्काईहाल्ने, रजनीगन्धा खाएर खोल जहाँ पनि फाल्ने, २० रुपैयाँको पानीलाई ३० रुपैयाँ लिएर गरिब जनता ठग्नेहरु त झन् सुध्रिनुपर्छ । अहँ ! आशिकाको मात्र गल्ति होइन, छैन । किनकि आशिका जन्माएको राज्यविहिनताको फ्रस्टेसनले हो नि, होइन र ? (भिडियो) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी