×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खातावालाको रकम चोरीको घटनापछि सिटिजन्स बैंकबाट पैसा झिक्नेहरु ह्वात्तै बढे, बैंककै कर्मचारीहरुले पार्न थाले खाता रित्तो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

खातावालाको रकम चोरीको घटनापछि सिटिजन्स बैंकबाट पैसा झिक्नेहरु ह्वात्तै बढे, बैंककै कर्मचारीहरुले पार्न थाले खाता रित्तो !

Artha Sarokar

२३ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंकमा रहेको खाताबाट खुरुखुरु पैसा चोरिँदा पनि बैंकले अत्तोपत्तो नपाएको र खाताबाट पैसा चोरी हुँदा पनि सो रकम चोर्ने मुख्य व्यक्ती को हो भन्ने नै पत्ता नलागेको खबर सार्वजनिक भएपछि सिटिजन्स बैंकबाट पैसा झिक्नेहरु ह्वात्तै बढेका छन् । सिटिजन्स बैंकमा रहेको आफ्नो रकमसमेत ह्याक हुने डरले खातावालाहरुले आफ्नो खातामा रहेको रकम विभिन्न अन्य बैंकमा रकमान्तर गरिरहेको पाइएको छ ।

केही समयमै करोडौँ बाहिरियो, सिइओको भिडियोले उल्टै ब्याकफायर !
सिटिजन्स बैंकबाट पछिल्लो केही समयमा नै करोडौँ रुपैयाँ रकमान्तर भएको देखिएको छ । यसरी सिटिजन्स बैंकमा रहेको खाताबाट अन्य बैंकको खातामा पैसा झिक्नेहरुमा रिटेल ग्राहकदेखि केही ठुलै निक्षेपकर्ता पनि छन् । यतिसम्म कि आफ्नो बैंक ह्याकरको निशानामा परेको भन्दै सिटिजन्स बैंककै कतिपय कर्मचारीहरुले आफ्नो खाताबाट पैसा झिकेर अर्को बैंकमा सारेकोसमेत फेला परेको छ । सिटिजन्सका कतिपय कर्मचारीले त तलव आएकै दिन सो रकम अन्य खातामा ट्रान्सफर गरेकोसमेत पाइएको छ ।

सिटिजन्स बैंकका कर्मचारीका अनुसार यो प्रकरणबारे बैंकका सिइओ गणेशराज पोखरेलले दिएको अभिव्यक्तिले बैंकलाई उल्टै ‘ब्याकफायर’ भएको छ । सिटिजन्स बैंकबाट पैसा चोरी भएको खबर अर्थ सरोकारले ब्रेक गरेपछि सिइओ पोखरेलले सो समाचार झुटो भएको भन्दै खण्डन गरेका थिए ।

तर, प्रहरीले पैसा चोरी प्रकरणमा दर्जन बढिलाई पक्राउ गरेर मुद्धासमेत दर्ता गरेपछि यो घटना बैंकले लुकाउन सकेन । बैंकले उल्टै झुट बोलेको र पैसा चोरी भएको घटना पुष्टि भएपछि ग्राहक झनै आत्तिएका हुन् ।

घटना सार्वजनिक भएपछि ग्राहकले ह्वारह्वारती पैसा निकाल्न थालेसँगै आत्तिएको बैंकले अहिले राष्ट्र बैंक र केही पेड मिडियाको साथसमेत खोजिरहेको छ । बैंकले यस विषयमा विज्ञप्ति नै निकालेर ‘बैंक सुरक्षित छ’ भनिदिन राष्ट्र बैंकलाई अनौपचारिक अनुरोधसमेत गरेको राष्ट्र बैंककै अधिकारीहरुको दाबी छ । यद्यपि बैंकबाट पैसा चोरी भएको घटना साँचो भएको देखेपछि राष्ट्र बैंकले तत्काल बैंकको पक्षमा कुनै पनि विज्ञप्ति निकाल्न नसकिने जानकारी सिटिजन्सलाई अनौपचारिक रुपमा दिइसकेको ती अधिकारीको भनाई छ । यसअघि एनआईसी एशिया बैंकबाट जनताले निक्षेप निकाल्न थालेपछि राष्ट्र बैंकले विज्ञप्ति निकालेर बैंक सुरक्षित रहेको दाबी गरेको थियो । अहिले त्यसो भन्न पनि स्वयम् राष्ट्र बैंक नै हच्केको छ ।

बैंकले बैंक असुरक्षित भएको घटना बाहिरीएपछि केही पेड मिडियाको साथसमेत खोजेको छ । प्रति समाचार ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म दिएर सिटिजन्स बैंकले यतिबेला आफ्नो गुनगान गाउन भन्दै खर्च गरिरहेको छ । यतिसम्मकि बैंकको कर्पोरेट कम्युनिकेसनका कर्मचारी नै फलानो मिडियालाई यति पैसा दिएर यस्तो न्युज लेखाइयो भन्दै व्यवस्थापनमा ब्रिफिङ गरिरहेका छन् । तर, कर्पोरेट कम्युनिकेसनकै कर्मचारीमार्फत नै बैंकका गोप्य सूचना बाहिर गइरहेको तथ्य छताछुल्ल हुँदा पनि बैंकका सिइओले आफ्नो मान्छे भएकै कारण ती कर्मचारीहरुलाई उल्टै काखी च्यापिरहेका छन् ।

अर्वौं बाहिरिने प्रक्षेपण
यसअघि एनआईसी एशिया बैंक असुरक्षित रहेको चर्चा चल्दा बैंकबाट ५३ अर्व रुपैयाँ केही महिनामै बाहिरिएको थियो । सिटिजन्स बैंकका कर्मचारीले पनि यसपटक अर्वौँ रुपैयाँ सो बैंकबाट बाहिरिने प्रक्षेपण गरेको बैंकका अधिकारीहरु बताउँछन् । यतिसम्म कि सिइओ पोखरेलले डिपोजिट नचाहिएका बेला भएकाले जति पैसा बाहिरिए पनि बैंकलाई उल्टै फाइदा हुने भन्दै कर्मचारीहरुलाई ढाडस दिइरहेको बैंककै अधिकारीहरुले दाबी गरेका छन् । यस विषयमा बुझ्न पोखरेललाई सम्पर्क गर्न खोज्दा भने उनी सम्पर्कमा आउनै चाहिरहेका छैनन् ।

यस विषयमा संचालक समितिका सदस्यहरुले पनि चर्चा सुरु गरेका छन् । उनीहरुले सिइओले गलत समयमा भिडियो स्टेटमेन्ट दिँदा र कर्पोरेट कम्युनिकेसनका कर्मचारीले केही मिडियाहरुसँग व्यक्तिगत तहको जोहोरी खोज्दा बैंकलाई हानी भएको र यति हुँदा पनि सो विभागका कर्मचारीहरुलाई सिइओले काखी च्यापेको भन्दै यस विषयमा सिरियस हुनुपर्ने आवाज उठाएको एक संचालकले पुष्टि गरे ।

बैंकको संचालक समितिले केही समय अघिमात्र सिइओको अधिकारमा भारी कटौती गरेको थियो । यतिसम्मकी बैंकमा सिइओ नै परिवर्तनको चर्चा पनि चलेको थियो । तर, पोखरेलको बैंकिङमै सिइओको रुपमा अन्तिम कार्यकाल भएकाले उनलाई जाँदाजाँदै सहयोग गर्दा ठिकै हुने र अहिले भनेजस्तो सिइओ पनि बजारबाट सिटिजन्स बैंकमा आउन कोहि नचाहेको भन्दै संचालक समितिले पोखरेलकै कार्यकाललाई निरन्तरता दिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी