Skip to content
LAXMI SUNRISE BANK

नबिल स्टक डिलरमार्फत सेयर कारोबार गर्दै हुनुहुन्छ ? पर्खनुस् ! सुरक्षित छैन तपाईँको कारोबार ! 

अर्थ सरोकार

काठमाडौँ । के तपाईं नबिल स्टक डिलरमार्फत सेयर कारोबार गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने, अव तपाईं सचेत हुनुपर्ने भएको छ । कारण, नबिल स्टक डिलर अर्थात ब्रोकर नम्बर ७७ मा लगानीकर्ताको कारोबार विवरण गैरकानुनी रुपमा असम्बन्धित व्यक्तिकहाँ पुग्ने गरेको पाइएको छ । 

सो ब्रोकरमा खाता खोली ठूलो परिमाणको कारोबार गर्नेहरुको विवरण नै बाहिरिने गरेको तथ्य बाहिरिएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त केही कारोबार विवरणले पनि यो तथ्यलाई पुष्टि गरेको छ । सो विवरण अर्थ सरोकारसँग सुरक्षित छ । (ग्राहकको गोपनियतालाई ख्याल गर्दै हामीले सो विवरण ब्लर गरेका छौँ ।)

लगानीकर्ताको कारोबार विवरण गोप्य हुनुपर्नेमा नबिलबाट कारोबार विवरणको स्टेटमेन्ट नै असम्बन्धित व्यक्तिकहाँ पुग्ने गरेको देखिएको छ । जसकारण, एकातर्फ लगानीकर्ताको गोपनियताको धज्जी उडाउने काम भएको छ भने अर्कोतर्फ धितोपत्र बजार सम्बन्धी प्रचलित व्यवस्थाको बर्खिलाप कम्पनीले गरेको छ । 

के भन्छन् सरोकारवाला र नियामक ?
नबिल स्टक डिलरका ग्रिभाइन्स अफिसर मदन तिमिल्सिना त्यस्तो नहुनुपर्ने बताउँछन् । नबिलमार्फत हुने कारोबार सुरक्षित हुने उनको तर्क छ । यद्यपि यस विषयमा थप बुझेर जानकारी दिने उनले बताए । यस विषयमा कुराकानी गर्न खोज्दा कम्पनीका सिइओ ज्योतिमान श्रेष्ठ सम्पर्क बाहिर छन् । नबिलका कर्मचारी श्रेष्ठ हाल लिभमा रहेको बताउँछन् । 

नेपाल धितोपत्र बोर्ड यस्तो कार्य गरेको भेटिए सो ब्रोकरलाई कार्वाही हुने बताउँछ । ‘ग्राहकको उजुरी आए, तत्काल कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।’ बोर्डका एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘ब्रोकरहरुको बदमासी बढी देखिएको छ । तर, यो हदसम्मको काम क्षम्य हुँदैन ।’

धितोपत्र कानूनका जानकार पनि यसलाई गैरकानुनी काम भन्छन् । ‘ग्राहकको कारोबार विवरण गोप्य हुनुपर्छ । अझ असम्बन्धित व्यक्तिलाई दिनु त झनै गलत काम भयो । अदालत वा नियामकले कारण खुलाएर मागेको अवस्थामा बाहेक त्यस्ता विवरणहरु चुहावट हुनु पूरापूर गैरकानुनी कार्य हो ।’, धितोपत्र कानूनका जानकार शिवशंकर धितालले अर्थ सरोकारसँग भने, ‘यस्तो कार्य गर्नु पूर्ण रुपमा गलत हो । यो हदैसम्मको दण्डणीय कसुर पनि हो । पछिल्लो समय ग्राहकका कारोबार विवरण खरिदबिक्री हुने गाइँगुइँ चलिरहेकै थियो । तपाईँले भन्नुभएको विषय निकै गम्भीर हो ।’

नबिलका कर्मचारीले विवरण नै खरिद बिक्री गरेको हुनसक्ने आशंकासमेत गरिएको छ । अर्थ सरोकारको सम्पर्कमा आएका एक लगानीकर्ताले आफ्नो विवरण नबिलले बिक्री गरेको हुनसक्ने आरोप लगाएका छन् । यद्यपि नबिलका ग्रिभाइन्स अफिसर तिमिल्सिना भने त्यस्तो हुन नपर्ने दाबी गर्छन् । ‘लगानीकर्ताको विवरण गोप्य हुनुपर्छ । म पनि थप बुझ्छु ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।

अर्थ सरोकारले प्राप्त गरेका विवरणहरुमा केही अनइथिकल कारोबारसमेत देखिन्छ । सो विषयमा हामी आगामी अंकमा प्रस्तुत गर्नेछौँ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK