काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रतिफल आउनेगरी काम गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय संस्था र गैर वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउनेगरी काम गर्न निर्देशन दिएका छन् ।
पछिल्ला दिन बैंक तथा वित्तीय संस्थाप्रति आम नागरिकको विश्वसनियता घट्दै गइरहेको भन्दै संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न पनि अर्थमन्त्री पौडेलले निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै, अर्थमन्त्रीले सरकारी बैंक तथा वित्तीय संस्था र गैर वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।