काठमाडौँ । राजनीतिक भेटघाटका लागि पोखरा पुगेका नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी पीडितलाई भेट्न अस्वीकार गरेका छन् । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा पुगेका थापाले सूर्यदर्शन सहकारीका पीडितलाई भेट्न अस्वीकार गरेका हुन् ।
महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम् हालका सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठ लगायतका सहकारी पीडितलाई भेट्न अस्वीकार गरेको सहकारी पीडितहरुले बताएका छन् ।
थापाले भेट्न अस्वीकार गरेपछि थापासँग सहकारी पीडितहरु रुष्ट बनेका छन् । यता सहकारी सम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण मुद्दासँग सम्बन्धित पक्षलाई थापाले भेट्न अस्वीकार गरेको स्थानीयले बताएका छन् ।
यता, सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापा पोखरा पुगेपछि रास्वपाका समर्थक पनि थापसँग प्रमाण माग्न पार्टी कार्यालय पुगेका थिए । सोहीबीचमा रास्वपाका समर्थक र सहकारी पीडितबीच केहीबेर हात हालाहालको अवस्था सृजना भएको थियो ।