काठमाडौँ । चीनमा बेरोजगारी दर बढेपछि पढेलेखेकाहरुलेसमेत जागिर पाउन छोडेका छन् । बेरोजगारी दर २० प्रतिशतसम्म पुगेपछि चिनियाँ नागरिकहरुले जागिर पाउन छोडेका हुन् । जागिर पाउन छोडेपछि पढेलेखेका, योग्यता पुगेका, विश्वविद्यालयबाट डिग्री पूरा गरेकाहरुलेसमेत सवारीचालक, डेलिभरी भ्वाई, वेटर लगायतको काम गर्नुपर्ने स्थिति आईपरेको छ ।
एजेन्सीका अनुसार विश्वविद्यालयबाट स्नातक पूरा गर्नेहरुलेसमेत आफ्ना अध्ययन क्षेत्रसँग मेल खाने काम नपाएपछि अन्य काम गरिरहेका छन् । यीमध्ये एक हुन् सन् झान् । जसले बैंकिङ गर्छु भनेर पढेको भए पनि हाल हटपोट रेष्टुरेन्टमा काम गरिरहेका छन् । ‘मेरो सपना लगानी बैंकिङ क्षेत्रमा काम गर्ने थियो । मैले विश्वविद्यालयको डिग्री पनि लिएको छु । तर म अहिले वेटरको काम गैर्रहेको छु ।’ २५ वर्षीय झान् भन्छन्- ‘मैले माष्टर्स गरेको छु, तर मसँग होटलमा काम गर्ने बाध्यता छ ।’ चीनमा लाखौँ मानिसहरु हरेक बर्ष विश्वविद्यालयबाट माष्टर्स पास गर्ने भए पनि सरकारले सोहि अनुसार रोजगारी दिन नसकेको उनको भनाई छ ।
फाइनान्स विषयमा हङकङ विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट स्नातक गरेकी वु दानको अवस्था पनि यस्तै छ । उनी हाल शाङ्घाईको खेलकुद चोटपटक मसान उपचार क्लिनिकमा प्रशिक्षार्थीको रूपमा काम गरिरहेकी छिन् । हङकङमा अध्ययन सकेर मुख्य भूमिमा फर्किएपछि उनी निजी इक्विटी फर्ममा काम गर्न चाहन्थिन् । तर देशमा बढेको बेरोजगारी दरले उनी र उनीजस्ता धेरैलाई समस्यामा पारेको छ ।
हङकङको सिटी विश्वविद्यालयकी प्राध्यापक झाङ जुनका अनुसार चीनमा रोजगारीको अवस्था निकै चुनौतिपूर्ण छ । ‘धेरै युवाहरूले आफ्नो अपेक्षा पुनः समायोजन गर्नुपर्छ । उनी भन्छिन्, ‘धेरै विद्यार्थीहरूले राम्रो सम्भावना पाउन उच्च डिग्री खोजिरहेका छन्, तर परिस्थिति निकै गाह्रो छ ।’