काठमाडौँ । विश्वमा नेपाली पासपोर्टको बरियता झनझन् खस्किँदै गएको छ । गतवर्ष (सन् २०२४ मा) विश्वका शक्तिशाली पासपोर्टहरुको सूचीमा ९८ नम्बरमा रहेको नेपाली पासपोर्ट यसवर्ष (सन् २०२५) मा १०१ नम्बरमा झरेको हो ।
शक्तिशाली पासपोर्टहरुको सूचीमा बरियता झन् तल झरेपछि नेपाली पासपोर्टमा बिनाभिसा यात्रा गर्न सकिने गन्तव्यको संख्या ३९ रहेको छ । हेन्ले पासपोर्ट सूचकांकका अनुसार यो संख्या गतवर्ष ४० थियो ।
हेन्ले पासपोर्ट सूचकांकका अनुसार सन् २०२३ मा नेपाली पासपोर्ट विश्वका शक्तिशाली पासपोर्टहरुको सूचीमा १०३ नम्बरमा, सन् २०२२ मा १०५ नम्बरमा र सन् २०२१ मा ११० नम्बरमा रहेको थियो ।
त्यसअघि सन् २०१८, २०१९ र २०२० मा नेपालको पासपोर्ट १०१ नम्बरमा नै रहेको थियो । अझ शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट २०१७ मा ९७ नम्बरमा र २०१६ मा ९८ नम्बरमा रहेको हेल्ने पासपोर्ट सूचकांकमा उल्लेख छ ।
यो वर्ष विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुरको रहेको छ । सिंगापुरको पासपोर्टबाट १९५ गन्तव्यमा बिना भिसा यात्रा गर्न सकिनेछ । त्यस्तै, शक्तिशाली पासपोर्टको दोस्रो नम्बरमा जापान, तेस्रोमा फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटली, दक्षिण कोरिया र स्पेन, चौथोमा अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड, लक्जेम्बर्ग, नेदरल्याण्ड, नर्वे र स्वीडेन र पाँचौंमा बेल्जियम, न्युजिल्याण्ड, पोर्चुगल, स्वीट्जरल्याण्ड र यूके रहेका छन् ।