×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकमा खाता हुनेहरु होसियार ! सिष्टममा समस्या आउँदा ग्राहकको करोडौँ रकम चोरी ! (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबी बैंकमा खाता हुनेहरु होसियार ! सिष्टममा समस्या आउँदा ग्राहकको करोडौँ रकम चोरी ! (भिडियो ब्रिफिङ)

Artha Sarokar

१६ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । के तपाईंको एनएमबी बैंकमा खाता छ ? खाता चेक नगरेको कति भयो ? हालसालै नगरेको भए अहिले नै गरिहाल्नुहोस् । के थाहा तपाईंको खातामा रहेको रकम अर्कैले चोरिसकेको हुन सक्छ । तपाईंलाई लाग्दो हो, देशको प्रतिष्ठित बैंकमा रहेको खातामा पनि यस्तो होला र ? होला र होइन, भइसक्यो । ​​​​​​​एनएमबी बैंकमा रहेको खाताबाट ग्राहकको हजार, लाख होइन करोडौँ हराइसक्यो । के थाहा त्यसमा तपाईंको रकम पनि पर्यो कि !    

दुर्गा प्रसाईंले बैंक डुब्छन् भन्नु र कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले टेकओभर गर्नु काग कराउनु र बाख्रा हराउनु एकैपटक भएजस्तै भएको छ । सहकारीले जनताका पैसा क्वाप्पै खाइदिएका बेला बैंकहरु पनि ढल्ने हल्लाले जनतामा त्रास फैलिएको छ । यही कारण, नियामक नेपाल राष्ट्र बैंक बैंक नडुब्ने र जनताको डिपोजिट पनि नडुब्ने आश्वासन बाँडिरहेको छ । तर कर्णाली बैंक डुब्नु, एनएमबी बैंकबाट पैसा हराउनु, बैंक स्वयम्‌ले मनपरी गरिरहेको छ भनेर राष्ट्र बैंकले कारवाही गर्नु र कर्जा दुरुपयोग गर्नेहरुको लिष्ट स्वयम् नियामकले सार्वजनिक गर्नुलाई सही अवस्था भन्न पक्कै सकिन्न । त्यसमाथि मै हुँ भन्ने एनएमबी बैंकबाट जनताको पैसा रातारात चोरी भएको घटनाले त कतै स्थिति दुर्गा प्रसाईंकै भविष्यवाणी अनुसार हुने त होइन ? भन्ने पीर थपिदिएको छ ।      

बैंक जनताको सम्पत्ति हो, त्यसैले डुब्नु हुँदैन । तर मै हुँ भन्ने बैंकबाट जनताको पैसा हराउँछ भने, त्यस्ता बैंकहरुलाई नियामकले भाटा हान्नुपर्छ, कि त्यस्तो बैंकलाई जनताले टाटा भन्नुपर्छ ।  र त, एनएमबी बैंकको सिस्टममा देखिएको समस्याका कारण ग्राहकका खाताबाट करोडौँ रुपैयाँ चोरी भएको घटनाले बैंकिङ क्षेत्र मात्र होइन, बैंकप्रति चासो राख्ने हरेक क्षेत्र तरंगित बनेको छ । 

सारा देशलाई मन्दीले अत्याइरहेका बेला रकम चोर्न, लुट्न पल्किएकाहरुलाई थाहा छ, यदि अहिले कहिँ पैसा छ भने त्यो बैंकमा छ । र त मौकामा चौका हानौँला भनेर ढुकेर बसेकाहरु कहिले सिटिजन्स बैंकबाट पैसा चोर्छन्, कहिले ग्राहकको खातामा आँखा लगाउँछन् । तर ह्याकर र पैसा चोर्न पल्केकाहरुलाई नै सजिलो हुनेगरी एनएमबी बैंकलेबैंकको डिजिटल चाबी नै चोरहरुको हातमा दिएजसरी आफ्नो सिष्टममा त्रुटी देखाएर चोरलाई पैसा चोर्न सजिलो बनाइदिएको छ ।  

भएको के हो ? 
घटना माघ १० गतेको हो । एनएमबी बैंकको  मोबाइल बैंकिङमा हुँदै नभएको पैसा देखियो । आफ्नो रित्तो खातामा लाखौँ लाग पैसा देखिएपछि धेरै खातावालहरुले सो रकम आफ्नो अरु बैंक खातामा ट्रान्सफर गरे । आफ्नो खातामा हुँदै नभएको रकम ट्रान्सफर गर्न मिलेपछि त्यसो गर्नेले अरु साथीभाइलाई पनि खबर गरे । त्यसपछि एक होइन, दुई होइन, थुप्रैले यसरी आफ्नो खातामा देखिएको कोही अरुको रकम ट्रान्सफर गर्न मिल्यो ।   कतिपय ग्राहकले त राती १२ बजेसम्म ३ लाख र त्यसपछि पुनः ३ लाख गरेर ६ लाख रुपैयाँसम्म बैंकको खातामा देखिएको रकम अन्यत्र सारे । यसरी अरुको पैसा चोरियो । बैंक हेरेको हेर्यै

यसरी सारिएको रकममध्ये, केहिले खर्च गरेको पाइएको छ भने केहिले भने धेरैले यस्तो रकम आफ्नो अर्को बैंकमा रहेको खातामा राखेको पाइएको छ । केहिलाई प्रहरीको डर देखाएर र कतिलाई प्रहरीमा केस नै गरेर बैंकले रकम फिर्ता गरेको छ । यद्यपी केहि खातावालाहरु रकम खर्च गरेर फरार छन् भने केहि विदेशमा रहेकाले बैंकले सो रकम फिर्ता गर्न सकेको छैन । घटना गुपचुप राख्न बैंकले पैसा हराएका खातामा पैसा राखिदिएको छ भने बैंकको हराएको पैसाको हिसाब मिलेको छैन ।

बैंकले पनि आफ्नो सिष्टममा समस्या आउँदा ग्राहकको रकम चोरिएको स्वीकारेको छ । बैंकका डेपुटी सिइओ सुदेश उपाध्यायले बैंकको सिष्टम अपग्रेडेसनका क्रममा समस्या देखिँदा पैसा नै नभएका खाताहरुमा पैसा देखिएको र सो रकम सम्बन्धित खातावालाहरुले अन्य खातामा ट्रान्सफर गरेको स्वीकार गरे । उपाध्यायले बैंकको सिष्टममा भएको समस्याकै कारण ग्राहकको पैसा अन्य ग्राहकले चोरेको तथ्य पनि स्वीकारेका छन् । उनका अनुसार ग्राहकले पैसा सारिरहेको कुरा पत्ता लागेपछि एक रातमै सो समस्या समाधानसमेत गरिएको थियो । तर बैंकले बैंकको सिष्टम असुरक्षित छ भन्ने तथ्य बाहिर आउँदा हुने रेपुटेसन रिस्कका कारण यो घटनाको जानकारी नेपाल राष्ट्र बैंकलाईसमेत नदिएको पाइएको छ ।

यता एनएमबि बैंकका कर्मचारीहरुले यस्तो घटना पटकपटक बैंकमा भएको र ग्राहकले थाहा नपाएकोले मात्र बैंक बचिरहेको दाबी गरेका छन् । माघ १० गते भएको घटनाबारे अर्थ सरोकारलाई गोप्य रुपमा जानकारी दिएका बैंकका एक उपल्लो तहका कर्मचारीले यस्तो घटना बैंकमा पटक पटक भएको र प्राविधिक रुपमा बैंकको सिष्टम निकै असुरक्षित रहेको बताएका छन् ।

समस्या बुढी मरी भन्ने होइन, काल पल्क्यो भन्ने हो । बैंकमा खुलेआम ह्याकर छिरेर वा बैंककै लापरवाहीका कारण ग्राहकको करोडौँ चोरिनु गम्भीर मात्र होइन, अत्यन्तै गम्भीर विषय हो । अझ एनएमबी बैंकमा भएको खाताबाट करोडौँ चोरियो भन्ने घटना सार्वजनिक भएपछि अहिले बैंकबाट पैसा झिक्नेहरु बढेको छन् । स्वयम् बैंककै कर्मचारीहरुलाई पनि बैंकको सिस्टमप्रति विश्वास छैन । र त तलब आएको भोलिपल्टै उनीहरु पैसा अर्कै बैंकको खातामा ट्रान्सफर गर्छन् । तपाईंले भन्नुहोला, यो बैंकलेबैंक अफ दी एयर पाएको होइन र ? हो, पाएको हो । अव सिटिजन्स बैंकजस्तो संस्थागत सुशासन कमजोर भएको र दिन दहाडै जनताको पैसा चोरिने बैंकले त सो अवार्ड पायो भने एनएमबिले नपाउने कुरै भएन । सिटिजन्स र एनएमबिको घटना हेरिसकेपछि त बजार चर्चा यस्तो पनि छ, यो बैंक अफ दी एयर अवार्ड पाउन जनताको पैसा खाताबाट हराउनै पर्ने रहेछ कि क्या हो ?   

एनएमबी बैंकबाट पैसा हराएको घटना यो पहिलो होइन । अव सिष्टम नै कमजोर भएपछि यो अन्तिम होला भन्न त झनै सकिएन।  बैंकका डेपुटी सीइओ सुदेश उपाध्यायले पनि बैंकबाट पैसा चोरिएको स्वीकारेका छन् । उनले भनेका छन्- बैंकमा रहेका बैंकखाताबाट पैसा चोरिएको सत्य हो । तर चोरिएकामध्ये धेरै पैसा फिर्ता गरिसक्यौं भने केहि पैसा फिर्ता गर्न कानुनी उपचार अगाडी बढाएका छौँ । वाह ! क्या सजिलो छ है, सकेसम्म घटना लुकायो, नसकेपछि हो, चोरी भएकै छ भन्यो, हात उठायो । यस्तो नहुन दिन बैंकले के गरिरहेको छ त ? यसको जवाफ बैंक दिंदैन । भनेपछि तपाईं आफैँ सोच्नुस्, एनएमबी बैंकमा पैसा राखिनु कति असुरक्षित छ ।

अझ, यो त प्रतिनिधि घटना मात्रै भयो । बैंकभित्र भएका यस्ता घटनाको नालीबेली धेरै लामो छ । यसअघि भएका यस्तै प्रकृतिका घटना बैंकले ग्राहकलाई थाहै नदिइई भित्रभित्रै सेटलमेन्ट गरिएको छ । कृषि लोन भनेर आफ्नैलाई गैर कृषि लोन दिएर विवादमा आएदेखि जनताले कर्के नजरले हेर्ने गरेको यो बैंकको सिस्टम भगवान् भरोसा चलिरहेको छ भन्दा फरक पर्दैन । स्थिति यही रहे र अलि जानेको ह्याकर वा चोर फेला परे बैंकमा भएका ग्राहकको खाता एक चुट्कीका भरमा रित्तिन सक्छ । यसतर्फ स्वयम् बैंक र नियामक नेपाल राष्ट्र बैंक चनाखो बन्न जरुरी छ । बाँकी त तपाईंको पैसा, तपाईंको मर्जी । नहराए राम्रै भो, हराए तपाईंलाई नै दुख हो । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी