काठमाडौँ । दैलेखमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएको छ । पुष २० गते ड्रिलिङको काम सकिएसँगै दैलेखको पैरवी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम पदार्थको भण्डार रहेको पुष्टि भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
विभागका अनुसार पेट्रोलियम पदार्थ रहेको आशंकामा ४ हजार १२ मिटर ड्रिलिङ गर्दा विभिन्न तहमा प्राकृतिक ग्यासहरु भेटिएको छ ।
पहिलो र दोस्रो गरी दुई चरणमा अनुसन्धान गरेको चिनियाँ प्राविधिक टोलीले दैलेखमा पेट्रोलियम पदार्थको भण्डार रहेको पुष्टि गरेसँगै अब तेस्रो चरणको काम सुरु हुने विभागले जनाएको छ ।
विभागका अनुसार तेस्रो चरणमा ड्रिलिङ गर्दा भेटिएका चट्टानका नमूनाहरुको प्रयोगशालामा परीक्षण हुनेछ । प्रयोगशालामा परीक्षण गरिसकेपछि मात्रै पेट्रोलियम पदार्थ कुन परिमाणमा छ भन्ने जानकारी प्राप्त हुने विभागले जनाएको छ । त्यसपश्चात् मात्रै सरकारले थप कदम अघि बढाउनेछ ।
यद्यपि दैलेखमा पेट्रोलयम भण्डार रहेको पुष्टि भए पनि कति मात्रामा ग्यास फ्लो भइरहेको छ भन्ने यकिन भएको छैन । ग्यासको मात्रा थाहा पाएपछि मात्रै दैलेखमा भेटिएको ग्यास व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न मिल्ने/नमिल्ने भन्ने थाहा हुने विभागले जनाएको छ ।