काठमाडौँ । आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरेर भाटभटेनी सुपरमार्केटको कर बढाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वतको बिदाहा गाउँपालिका-३ घर भई हाल चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका-४ का २२ वर्षीय परिन पाण्डे रहेका छन् ।
उनीहरुलाई विभागको सफ्टवेयर ह्याक गरेर भाटभटेनी सुपरमार्केटको करको दायित्व बढाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले चितवनबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार उनीहरुले भाटभटेनीको युजर र पासवर्डमा पहुँच पुर्याएर भाटभटेनीले तिर्नुपर्ने कर भन्दा १३ करोड ९ लाख ५९ हजार ६ सय ९ रुपैयाँ बढी दायित्व देखाएका थिए । साथै अडिट फर्मको तर्फबाट सिस्टममा पहुँच पुर्याएर करदाताको कारोबार विवरण आफू अनुकुल घटाउने/बढाउने गरेको भेटिएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका दुवैजनाविरुद्ध सीआईबीले विद्युतीय कारोबारको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।